राजधानीमा ३ दिन ३ रात मदिरा बिक्री र सेवन होला कि नहोला ?
आगामी ३० गतेको निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले काठमाडौं र ललितपुरमा आज मध्यरात १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने आदेश जारी गरेको छ । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेका छुट्टाछुट्टै सूचनामा उक्त विवरण उल्लेख छ ।
तर, मुलुकको सबैभन्दा बढी मदिराको खपत हुने राजधानीमा तीन दिन र तीन रातसम्म यसको सेवन र बिक्री वितरण हुँदैन भन्ने ज्ञारेण्टी नभएको भुक्तभोगीहरु बताउँछन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उपत्यकाका जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँड रक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयहरुले मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् ।
उपत्यका बाहेकका केही जिल्ला प्रशासन कार्यालयले भने शुक्रबारबाट नै मदिरा बिक्रीमा रोक लगाइसकेका छन् । मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत पुनः सूचित गरेका छन् ।
सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू