मौन अवधि शुरु हुनुअघि गठबन्धनका शीर्ष नेताहरुको एउटै स्वर
सत्ता गठबन्धनमा आवद्ध दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् । स्थानीय तह निर्वाचनको मौन अवधि शुरु हुनुअघि आज साँझ विज्ञप्ति जारी गर्दै गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएकाले गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका हुन् ।
’स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ । अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं’, पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्वबोध गरी पाँचदलीय एकता कायम गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा भएको ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ को सहमतिलाई जित्ने पार्टीका उम्मेदवारको पक्षमा उपयोग गर्न विज्ञप्तिमा स्थानीय पार्टी संयन्त्रलाई आग्रह पनि गरिएको छ ।
मतदान सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ भनिएका विभिन्न पालिकामा आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न नेताहरुले आह्वान गरेका हुन् ।
टिप्पणीहरू