‘माओवादीलाई भोट दिन नसकिने’ घोराहीका काँग्रेसीहरुको ठहर

‘माओवादीलाई भोट दिन नसकिने’ घोराहीका काँग्रेसीहरुको ठहर

सशस्त्र द्वन्दकालमा काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई धम्काएर चन्दा माग्ने माओवादी नेताहरु अहिले उनैको निम्ति भोट माग्दै हिँडेका छन् ।

युद्धकालमा माओवादीले छानीछानी काँग्रेस नेता, कार्यकर्ता र समर्थकलाई धम्कीपूर्ण भाषामा चन्दा माग्ने गर्थे । चन्दा नदिएमा अपहरण गर्ने, यातना दिने र विस्थापित गराउनेसम्मका काम गरेका थिए ।

आज तिनै नेता स्थानीय तह निर्वाचनका उम्मेदवार भएर विगतमा सताइएकै नेताहरुसँग भोटका लागि हारगुहार गरिरहेका छन् । माओवादी पीडितहरु भने युद्धकालमा माओवादीले चन्दा माग्न पठाएका पत्र, चन्दा नदिए पक्राउ गर्न जारी गरेका पूर्जी र चन्दा दिएका रसिद तथा भरपाई बोकेर बसेका छन् ।

‘हिजो जसले हामीलाई दुःख दिए, आज उनैलाई भोट हाल्नुपर्ने ? हामी अहिले पुराना दुःख सम्झिइरहेका छौं । माओवादीले लेखेका चिठी खोल्दै, हेर्दै गरिरहेका छौं,’ एक पीडितले भने ।

अधिकांश पत्रमा तत्कालीन नेताहरु इन्द्रजीत चौधरी, हेमराज शर्मा डायमण्ड लगायतले हस्ताक्षर गरेका देखिन्छन् । गाउँ–गाउँमा उनीहरुकै निर्देशनमा पत्र काटेर चन्दा असुली गरिन्थ्यो । अहिले डायमण्ड नै घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेदवार भएका छन् । उनले अहिले काँग्रेसकै भोटको बलमा निर्वाचन जित्ने आकांक्षा राखेका छन् । काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकहरु भने भोट माग्न आउँदा विगतमा चन्दा माग्न आएको दिन झलझली सम्झिन्छन् ।

एक पीडित कार्यकर्ताले भने,‘पहिले चन्दा माग्न र हाम्रो घरबार लुट्न आउने माओवादी नेताहरु अहिले लाइन लागेर भोट माग्न आउँछन्, फकाउन खोज्छन् । हामी ती दिन कसरी बिर्सन सक्छौं र ?’

माओवादीकै कारण आफन्त गुमाउनुपरेको, घरबास छोड्नुपरेको र जीवन नै उजाडिएका परिवार धेरै छन् । काँग्रेसलाई मुख्य वर्ग दुश्मन मानेर आक्रमणको निशाना बनाएका कारण युद्धका अधिकांश पीडित काँग्रेस नेता, कार्यकर्ता र समर्थकहरु नै छन् ।

‘आज सत्तामा जानका लागि हामी पिडितको सहारा चाहिने ? हामीलाई यो सह्य हुन सक्दैन । देउवा र प्रचण्ड मिल्दैमा हामी मिल्न सक्दैनौं । हाम्रा घाउहरु आलै छन् ।’ एक पीडितले भने ।

माओवादी नेताहरुलाई भोट हाल्नु भनेको आफ्नो आत्मा आफैं मार्नु सरह भएको पीडितहरुको भनाइ छ । पाँच वर्षमा एक पटक मत दिने यो महत्वपूर्ण अवसरमा गलत राजनीतिक संस्कारबाट आएका नेताहरुलाई भोट दिन नसकिने उनीहरुको भनाइ छ ।

‘हाम्रो टाउको छिनाउन खोज्नेलाई अहिले कहाँ भोट दिन सकिन्छ ? हाम्रा आफन्तका आत्माले के भन्ला ? अपराधीलाई भोट दिएर सत्तामा पठाउन सकिँदैन,’ एक पीडितले दुःख पोखिन् ।

टिप्पणीहरू