भरतपुरको हिसाब यस्तो छ

भरतपुरको हिसाब यस्तो छ

कांग्रेसमा ५० वर्ष हिउँदबर्खा खेपेका जगन्नाथ पौडेल विद्रोही उम्मेदवार बनेपछि भरतपुरको निर्वाचनमा नयाँ तरंग उत्पन्न भएको छ । अघिल्लोपटक रेनु मेयरमा ४३ हजार एक सय २७ मतसहित विजयी बनेकी थिइन् । त्यतिबेला एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार नौ सय २४ मत पाए । यता राप्रपा उम्मेदवारले ६ हजार आठ सय ४२ मत ल्याए ।

पौडेलले दश हजारसम्म मत ल्याउने पूर्वानुमान गरिएको छ । उनले कांग्रेसका थुप्रै भोट काट्नेछन् तर अघिल्लो निर्वाचनमा जस्तो अवस्था अहिले छैन । कांग्रेसबाट संगठित रूपमा एमालेलाई मत जाने कुनै सम्भावना छैन तर त्यतिबेला कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले झण्डै चार हजार मत देवी ज्ञवालीलाई हालेको अनुमान छ । अहिले भने असन्तुष्ट मत पौडेलको भागमा जानेछ ।

यसै पनि गत पाँच वर्षमा रेनुले भरतपुरमा राम्रो काम गरेर जनताको मन जितेकी छन् । वडा तहसम्म लोकप्रियता हासिल गरेकी छन् । त्यसैमा पनि सिंगै पाँचदलीय गठबन्धनको तागत छ । एकसरो हिसाब लगाउँदा पनि पाँचदलीय गठबन्धनकै मतदाता बढी देखिन्छन् । महिला भएका कारण पनि महिला र समावेशीको मत ठूलै संख्यामा पर्ने अनुमान छ । कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई निलम्बन गरेको स्थितिमा कार्यकर्ताले पौडेललाई खुलेर मत माग्ने र भोट हालिहाल्ने अवस्था देखिँदैन ।

अर्कातर्फ गत निर्वाचनमा राप्रपाका मेयर उम्मेदवार बद्रि तिमल्सिना अहिले माओवादीमा प्रवेश गरेका छन् । उनले त्यतिबेला ६ हजार आठ सय ४२ मत पाएका, थिए यसकारण राप्रपासँग एमालेको गठजोड भए पनि बद्रीका कारण पहिलेजति भोट आउने संभावना छैन । तिमल्सिनाले राप्रपाका कम्तिमा एक तिहाई मत रेनुको पक्षमा तान्ने आकलन गरिएको छ ।

एमाले आफै फुटेको छ भने अर्कातिर कांग्रेसका भोट यसपल्ट ‘ब्लक’ हुँदै छन् । अनि बद्रीले राप्रपाको एउटा ब्लकको मत तान्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । माओवादीले यसबीच आफै १५–२० हजार मत बढाएको बताइन्छ । समग्र परिस्थितिको विश्लेषण गर्दा रेनुले एमालेका विजय सुवेदीलाई दुईदेखि तीन हजारको मतान्तरमा पराजित गर्ने अनुमान छ ।

टिप्पणीहरू