माथि चाटाचाट, तल काटाकाट

माथि चाटाचाट, तल काटाकाट

– दयाराम डाँगी, रोल्पा

पाँचदलीय गठबन्धनका नाममा केन्द्रमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । तर, जिल्ला स्तरमा भने तीनै दलबीच मारामारको अवस्था छ ।

यसको सबभन्दा बढी मार रोल्पा–रुकुमले खेप्ने गरेको छ । माओवादी प्रभावित यी जिल्लामा नेकपा माओवादी केन्द्रले कांग्रेससँग तालमेल गर्न चाहेन । त्यसकारण पनि यहाँको मुख्य प्रतिस्पर्धी यी दुई दल देखिएका छन् । चुनावी प्रतिस्पर्धा मात्र हैन भौतिक हमलामा समेत उत्रिने गरेका छन् ।

रोल्पाको माडी गाउँपालिकामा कांग्रेस–एमाले र विप्लवको एउटा गठबन्धन र माओवादी केन्द्र–एकीकृत समाजवादीको अर्को उम्मेदवारी छ । यही गठबन्धन बेला–बेलामा झडप पनि गर्छ । यसैक्रममा माडी गाउँपालिका–३ मा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

चुनावी सभा सकेर फर्कने क्रममा दुई समूहबीच झडप भएको बताइएको छ । उनीहरूले वडाध्यक्षका उम्मेदवारलाई एकाएक आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए । टाउकामा गम्भीर चोट लागेका घाइते डाँगीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।उता माओवादी–एकीकृत समाजवादी गठबन्धनले आफूहरूलाई कांग्रेस–एमाले गठबन्धनबाट आक्रमण भएकाले प्रतिवाद गरिएको बताएको छ ।

शुरुमा उनीहरूले हामीमाथि आक्रमण गरेपछि घटना घटेको नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताए । उनले भने, ‘हाम्रोतर्फका ५ जना साथी घाइते भएका छन् ।’ दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

टिप्पणीहरू