मौन अवधिमा मतदानस्थल परिवर्तन

मौन अवधिमा मतदानस्थल परिवर्तन

चुनावको दुई दिनअघि सिराहामा मतदानस्थल परिवर्तन गरिएको छ । चार वटा मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित कार्यालय भवन जमुनी मधेपुरामा तोकिएको मतदानस्थल परिवर्तन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले उक्त मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जनाएको छ । यसअघि तोकिएको मतदानस्थलबाट नयाँ मतदानस्थल एक सय मिटरको दूरीमा रहेको छ ।

गाउँपालिकाको कार्यालय भवनमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँस्थल तोकेको हो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई सय ९७ मतदानस्थल निर्धारण गरिएको छ । यसमा दुई सय आठ वटा अतिसंवेदनशील, ८५ वटा संवेदनशील र जम्मा चार वटा मतदानस्थल सामान्य रहेको बताइन्छ ।

टिप्पणीहरू