सेनाद्वारा वीरगञ्ज नजिकै हतियार बरामद
नेपाली सेनाले आज पर्सामा बन्दुक र गोली बरामद गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री सिद्धिबक्स गण र निकुञ्ज प्रशासन कार्यालय, पर्साका कर्मचारी सहित खटिएको संयुक्त टोलीले उक्त हतियार बरामद गरेको हो ।
आज निकुञ्जस्थित बाँग्री खोला इलाकामा खोज तथा तलासीको क्रममा हतियारसहित चार जना व्यक्ति देखापरेका हुन् । निजहरुलाई पक्राउ गर्न खोज्दा भरुवा बन्दुक एक थान, भरुवा बन्दुकको गोली तीन थान, ठूलो छर्रा पाँच थान, सानो छर्रा एक सय थान छाडेर उनीहरु भागेको सेनाले जनाएको छ ।
त्यसैगरी खुकुरी दुई थान, बारुद दुई सय ५० ग्रामको दुई डब्बा, केप दुई थान, झोला तीन थान र जुत्ता एक जोर पनि बरामद भएको छ । बरामद हतियार तथा अन्य सामग्री निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।
टिप्पणीहरू