राजधानी छेउ मौन अवधिमै झडप, उम्मेदवार नै घाइते

राजधानी छेउ मौन अवधिमै झडप, उम्मेदवार नै घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

झडपमा परी नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको,दाहिने आँखालगायत शरिरको विभिन्न ठाउँमा चोट लागेको छ ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । झडपमा परी घाइते हुनेहरुमा तेजकुमार श्रेष्ठ, कविराज श्रेष्ठ,प्रकाश श्रेष्ठ,हरिबहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ,सुमन श्रेष्ठ,सुब्बा नेपाली, विष्णुकुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ,रामहरि मगराती,राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाल, गोकर्ण उपरकोटी, लक्ष्मण राना,विवश राना, विकेश राना,गोपी नेपाली,अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।

“स्थानीयका अनुसार २ पटक झडप भएको थियो । पहिलो पटक सामान्य हात हालाहाल भएपनि पछिल्लो पटक झडपको स्थिति सिर्जना भएको हो ।”

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा लागेको एक स्थानीयले बताए । चुनावी प्रचारमा लागेका दुई पार्टी जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ । मौन अवधिमा भोट माग्न पाइँदैन । तर वडा अध्यक्षसहित गाउँमा भोट माग्न आएका दुई राजनीतिक दलबीच झडप भएको उनले बताए ।

नेपाली कांग्रेसले भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जाँदा उनीहरुले पुनः आक्रमण गरेको बतायो । झडपमा परी घाइते बनेका कविराज श्रेष्ठ भन्छन्- ‘हामी साथीहरुलाई चुटे भन्ने सुनेर लिन गएका थियौं । तर बाटोमै हामीमाथि आक्रमण भयो ।

झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिएका छन् । स्थानीयका अनुसार २ पटक झडप भएको थियो । पहिलो पटक सामान्य हात हालाहाल भएपनि पछिल्लो पटक झडपको स्थिति सिर्जना भएको हो ।

धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल छ । नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार छन् । तर दलहरुले नीलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन् ।

टिप्पणीहरू