सबका कुरा सुनियो, अब सुनाउने पालो हाम्रो

सबका कुरा सुनियो, अब सुनाउने पालो हाम्रो

वैकुण्ठ ढकाल

कुरा धेरै अगाडिको । सायद थाहा पाउने भएपछिको पहिलो काठमाडौं भ्रमण । पालुङबाट आग्रा गएर केही दिन बसेपछि पैदलै धादिङको महादेवबेशी निस्किएर बस चढी काठमाडौं आएको हुँ । त्यही बेला चेतबाबा भएथें, छालाको जुत्ता लगाएर पैदल यात्रा गर्नुहुन्न भनेर ।

सायद भदौ महिना हुनुपर्छ । खोलामा पुलहरू थिएन । फड्केहरू पानीले डुबेका थिए । जुत्ता खोल्दै, खोला तर्दै फेरि लगाउन सम्भव हुन्थ्यो होला, एउटै खोला एक पटक मात्र तरेर हुने भए । त्यस्तो अवस्था थिएन पटक पटक एउटै खोला तर्नु पथ्र्यो । साउने झरी, भदौरे घाम कस्तो हुन्छ ? अनुभव गर्नेलाई के भनिरहनु पथ्र्यो र ?

काठमाडौं पुगियो । कहाँ बस्ने ठेगान थिएन । के खाने ? कहाँ खाने भन्ने पनि पत्तो थिएन । कलंकीबाट रत्नपार्क आइयो । घामले ओंठतालु सुकिसकेका थिए । त्रिपाल मुनि पानीका जारहरू थिए । सँगै एक जना बूढी महिला ।

‘चिस्सो पानी खाऊँ न ?’

‘… चिसो पानी, मान्छेलाई यहाँ कति गाह्रो छ । चिसो पानी माग्दो रहेछ ।’

केही घण्टा अघिसम्म पानी माग्दा मोही खान पाउने ठाउँबाट आएको । त्यही बेला थाहा भएको हो, पानी माग्दा गाली पाइने ठाउँ रहेछ काठमाडौं भनेर । पानी त किनेर खानु पर्ने रहेछ भनेर धेरै पछि थाहा पाइयो ।

खै कुन कार्यक्रममा हो शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले उम्मेदवारहरूलाई काठमाडौंमा गर्नु पर्ने कामहरूको बारेमा सुझाइरहेका थिए । कोइरालाले सुझावमा यो बुँदा गज्जबसँग उल्लेख गरेका छन् । उनले सुझाएको बुँदामा सार्वजनिक धारा, सार्वजनिक शौचालय, सार्वजनिक पार्क यस्तै यस्तै कुराहरू समेटिएका छन् । काठमाडौंका मात्रै हैन, देशका मुख्य मुख्य शहर र गाउँका उम्मेदवारले पनि यही कुरालाई ध्यान दिए गज्जब हुन्थ्यो । अहिले दलका घोषणापत्र र उम्मेदवारको बतासे गफले मतदाताहरूको कान निकै पाकिसकेको छ । घोषणापत्र र उम्मेदवारको भाषणमा सपना बाँडिएको छ । जुन यथार्थभन्दा निकै पर छ । कसरी ठूला सपना देखाउने भन्ने होडबाजी छ ।

अब दलको कुरा सुनियो । उम्मेदवारको नाडी पनि छामियो । सबै कुरा मतदाताको हातमा आइपुगेको छ । निर्णय गर्ने मतदाताले हुन् । मतदाताको बारेमा पनि धेरै कुरा बेकार छ । रवीन्द्र मिश्रले बारम्बार भन्ने गरेका छन् नि रेष्टुरेण्टमा गयो, भएभरको मेन्यू पल्टायो अनि अन्तिममा ममः चाउमिन अर्डर गर्यो । यथार्थ यही हो । हुन पनि बहुत गाह्रो छ । मतदातालाई रेष्टुरेण्टमा गएर त मम, र चाउमिनको विकल्प दिन नसक्ने हामी नेपालीले मत दिने बेलामा विकल्प दिन के सकौंला र ? अहिले पनि ठूलो पंक्ति छ, मैले त सूर्यबाहेक अन्त भोट नै हालेको छैन, म त खान्दानी रूखको मतदाता । मेरा बाउबाजे हलो जोतेर हुर्किए, म पनि हलोभन्दा बाहिर त जाँदै जान्न । स्थिति यही हो । चिसो भनेकै कोकाकोला, चाउचाउ भनेकै वाइवाइ, धेरैजसो उपभोक्तालाई लाग्ने यही हो । मतदातालाई पनि लाग्ने भनेको दल भनेकै एमाले, कांग्रेस, माओवादी र राप्रपा नै हो । हुन पनि हामी दलीय व्यवस्थामा छौं, दलभन्दा बाहिर जान सकिँदैन । दलहरूले उठाउने उम्मेदवार पनि तिनै हुन् । अब खराबमध्येबाट कम खराब रोज्ने मात्रै विकल्प छ मतदातासँग । कम खराब छाने पनि अवसर नपाउँदा मात्रै कम खराब भएको हो कि ? अवसर पाउँदा त ऊ सबैभन्दा खराब हुने हो कि बुझ्न र चिन्न कठिन छ ।

दलहरूका अभिव्यक्ति सुन्नुहोस् त, उम्मेदवारको आवाज पनि सुन्नुहोस् त । उम्मेदवारी दर्ता गराएको दिन काठमाडौं महानगरपालिकाका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले गेम इज ओभर भने । अनि उनै स्थापितले चुनाव जितिसकें, निर्वाचन आयोगको आचारसंहिताले नदिने भएकाले विजय जुलुस निकाल्न मिलेन भनिरहेका छन् । केशवलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ । चुनाव पनि जित्लान् तर धरौटी नै जफत हुने उम्मेदवारले पनि चुनाव जित्ने नै दाबी गरिरहेका हुन्छन् ।

गत स्थानीय निर्वाचनमा एमाले पहिलो दल बन्यो । त्यसैले हौसिएका होलान एमालेका नेता, कार्यकर्ता । एमाले महासचिव शंकर पोखरेलले विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन बनाउँदा पनि सत्ताधारी दलहरूले देशका १३५ भन्दा बढी स्थानमा उठाउन नसकेको टिप्पणी गरे । पाँच वटा दलमध्ये कसैले पनि उम्मेदवार नपाउनुले पनि उनीहरूको हैसियत प्रष्ट हुने जिकिर गरे । पोखरेलले यस पटकको स्थानीय चुनाव सरकार र सत्तारुढ दलले नचाहेको तर कानुन, संविधान र प्रतिपक्षी दलका कारण मात्र भइरहेको भन्दै जसले चुनाव नै चाहेका थिएनन् उनीहरूले जित्ने सम्भावना नरहेको दाबी गरे ।

महासचिव पोखरेलले यस पटक ६ वटा महानगरपालिकामा एमालेले चमत्कार गर्ने भन्दै चुनावी परिणामबारे आफ्नो आँकलन सफल हुने दाबी गरे । उनले काठमाडौंमा बालेन शाहको उम्मेदवारीलाई एमालेले सहज रूपमा लिएको र उनको उम्मेदवारीले एमालेलाई फाइदा नै पुग्ने बताए । पोखरेलले वीरगञ्ज महानगरपालिकामा सहज जित हासिल गर्ने र विराटनगर महानगरपालिका समेत जित्ने दाबी गरे । ललितपुर महानगरपालिका नजित्ने एमालेको आकलन देखियो ।

एमाले हौसिनुको अर्को कारण भने निर्विरोध निर्वाचित भएको ठाउँमा अगाडि हुनु पनि हो । साना–ठूला राजनीतिक पार्टी र स्वतन्त्र उम्मेद्वार गरी विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेबाट सबैभन्दा धेरै १२३ जना निर्विरोध आए । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका जम्मा १९० जना निर्विरोध निर्वाचित भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ सहित सबै दलका गरी १ लाख ४५ हजारभन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारमध्ये सबै पदमा गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुने व्यवस्था छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार नेकपा एमालेले २६३ नगरपालिका प्रमुख र ४४६ गाउँपालिकाको अध्यक्षमा उठाएको छ । त्यस्तै उसले २४५ नगरपालिकाको उपप्रमुख र ४४५ गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

कांग्रेसले २६५ नगरपालिकाको प्रमुख र ३८५ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको छ । उसले २११ नगरपालिका उपप्रमुख र ३५९ गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिएको छ ।

नेकपा माओवादी केन्द्रले १७४ नगरपालिकाको प्रमुख २ सय १४ उपप्रमुखमा उम्मेदवारी दिएको छ । त्यस्तै २ सय ९० गाउँपालिकाको अध्यक्षमा र ३ सय १५ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएको छ । ७५३ पालिकामध्ये माओवादी केन्द्रले ४६४ प्रमुख-अध्यक्ष र ५ सय २९ उपप्रमुख-उपाध्यक्षमा उम्मेदवारी दिएको छ । नेकपा एकीकृत समाजवादीले १५० नगरपालिका प्रमुख र १७७ उपप्रमुखमा उठाएको छ । १८७ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदा १८० उपाध्यक्षमा उम्मेदवारी कायम छ ।

६ हजार ७४३ वडाध्यक्षमध्ये २ हजार ४२८ वडाध्यक्षमा उम्मेदवारी परेको छ । एकीकृत समाजवादीबाट देशभरका ७५३ पालिकामध्ये ३३७ पालिका प्रमुख-अध्यक्षमा उम्मेदवारी छ । त्यस्तै ३५७ उपप्रमुख÷उपाध्यक्षमा उठाएको छ ।

मतदातासामु धेरै वटा विकल्प छन् । डेढ लाखबाट ३५ हजार उम्मेदवार छान्नु पर्छ । उम्मेदवार चुन्दा यो स्थानीय निर्वाचन हो भन्ने सबैले ख्याल गर्नु जरुरी छ । दलभन्दा पनि व्यक्ति हेर्न सकिन्छ । स्थानीय सरकार नजिकको सरकार हो । यसमा राम्रो मानिस हुनु र हाम्रो मानिस हुनु फरक छ । हाम्रो मानिस हुँदा एउटा परिवार बन्ला, राम्रो मानिस हुँदा सिंगो गाउँ-नगरपालिका बन्छ । एक असल जनप्रतिनिधि हुँदा गाउँ-नगरपालिका बनेको धेरै उदाहरण छन् । यसर्थ दलभन्दा पनि उम्मेदवारको योग्यता र क्षमता हेर्नु आवश्यक छ । एक दिनको सही निर्णयले पाँच वर्षसम्म खुशी हुन पाइन्छ । गलत निर्णयले पाँच वर्षसम्म पछुताउनु पर्ने अवस्था आउन नदिन अहिल्यै सचेत हुने हो । दबाब प्रभावको निर्णयले विवेक बन्धक नराखौं ।

टिप्पणीहरू