उदयपुरमा गठबन्धन अघिअघि, एमाले पछिपछि

उदयपुरमा गठबन्धन अघिअघि, एमाले पछिपछि

उदयपुरका आठ वटा पालिकाहरुमध्ये त्रियुगा तथा कटारी नगरपालिकामा मतदानको बेला भएको झडप र गडबडीले गर्दा निर्वाचनका थप प्रक्रियाहरु अवरुद्ध भएका छन् । बाँकी ६ पालिकाको मतगणना कार्य शुरु भएको छ ।

उदयपुरको पूर्वी भेगमा रहेको बेलका नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तर्फबाट गठबन्धनका उम्मेदवार बनेका रुख छापका अशोक कार्कीले अग्रता लिएका छन् । उनलाई नेकपा (एमाले) का दुर्गाकुमार थापा (स्वस्ती) ले पछ्याइरहेका छन ।

बेलकाको वडा नम्बर १ मा नगर प्रमुखमा काँगे्रसका उम्मेदवारले २१८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले.२१६ मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनका हसियाँहथौडा छाप लिएका मनोज तामाङ अगाडि छन् भने नेकपा एमालेका उम्मेदवार जीरा राई तामाङको पछाडि छिन ।

त्यसैगरी चौदन्डीगढी नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार कालु तामाङले ३२९ मत र नेपाली काँग्रेसका खगेन्द्र राईले २८० मत ल्याएका छन् । उपमेयरमा एमालेका मणिका दुलालले ३३१ र नेपाली काँग्रेसका रिताकुमारी चौधरीले २८५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार कलम चिन्हमा कमल राउतले प्रमुखमा ९८ मत र उपमेयरमा हँसिया हथौडा चिन्हमा हिरा तिम्सिना थापाले ५३ मत पाएका छन् ।

चौदण्डीगढीमा भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेस बाहिरिएर एक्लै चुनाव लडेको हो । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच छुट्टै गठबन्धन भई साझा उम्मेदवार उठाएको हो । अहिलेको नतिजा वडा नम्वर १ को ८०५ मत गन्दासम्मको हो ।

उदयपुरगढीमा गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार मानबहादुर केप्छाकी मगरले ४०० मत गणना हुँदा १७० मत पाएका छन् भने एमालेका गोपाल खत्रीले १५२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर खड्काले १२९ मत र एमालेकी शोभा मगरले १६५ मत प्राप्त गरेकी छिन । उक्त गाउँपालिकामा गठबन्धनका जिल्लामा रहेका सबै दलको साझा उम्मेदवार उठेका हुन् ।
वडा नम्वर १ को मतगणना चलिरहेको छ भने सो वडामा गठबन्धनतर्फबाट उठेका नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार दिलबहादुर रानाले १७० मत र एमालेका रुपक बाँस्तोलाले १५६ मत प्राप्त गरेका छन् । उदयपुरगढीमा रहेका २०,२५२ कुल मतदातामध्ये १२,०८५ (५९.६७) मत खसेको छ । मानबहादुर केप्छाकी उदयपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् भने खत्री ओली सरकारमा हुँदा सुकुम्बासी समस्या समाधान आयोग उदयपुरका अध्यक्ष थिए ।

लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रका गठबन्धन उम्मेदवार मेजर राईले १४३, एमालेका उम्मेदवार राजकुमार राईले ९६ र उपाध्यक्षमा नेपाली काँग्रेसले ९० र जेब्रा चिन्ह भएका स्वतन्त्रले ९६ र एमाले उम्मेदवारले ३१ मत प्राप्त गरेका छन । सो पालिकाको वडा नम्वर १ मा खसेको ८५५ मतमध्ये २५० मत गन्दाको नतिजा हो यो ।

त्यसैगरी वडा नम्वर ५ को १०० मत गणना गर्दा गठबन्धनले ५६ र सूई छापले ४३ र उपाध्यक्षमा रुखले ३७ र सूर्यले ३२ मत पाएका छन । यो पालिकामा नेपाली काँग्रेस र माओवादीकेन्द्रले गठबन्धन गरेका छन् ।

त्यसैगरी ताप्ली गाउँपालिका वडा नम्बर १ को ८०० मत गणनामा गाउँपालिकाको प्रमुखमा एमालेका बाबुराम राईले ३७५ र गठबन्धनलाई छोडेर बागी उठेका नेपाली काँग्रेसका मुडा छापवाला महादेव रास्कोटीले २१६ र गठबन्धनका ढुंगराज बिकले ९४ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका धना मगरले रुख छापमा ४०८ र एमालेका मानकुमारी थापाले १३१ मत प्राप्त गरेका छन । ताप्ली गाउँपालिकामा गठबन्धनमा उपलब्ध सबै दलहरुको साझा उम्मेदवार उठेका छन् ।

रौतामाई गाउँपालिकामा गठबन्धनतर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका वीरेन्द्र मगरले ८२ मत प्राप्त गरेका छन् । एमालेका भरत थापाले ९७ मत पाएका छन् । वडा नम्बर १ को २०० मत गन्दासम्मको परिणाम हो यो । त्यसैगरी उपाध्यक्षमा गठबन्धन उम्मेदवार नेपाली काँग्रेसका भुपेन्द्र थापाले ६४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कुमारी ज्यू ठकुरीले ९८ मत ल्याएका हुन । उक्त गाउँपालिकामा पनि गठबन्धनमा रहेका सबै दलको साझा उम्मेदवारी परेको छ ।

टिप्पणीहरू