एकै ठाउँका १८ कमरेड
के भन्ने र खोइ ? कतै ओल्टाइ, कतै ल्टाई । यो भनाइ झापाकै एक जना एमाले नेताको हो । भन्छन्, झापाकै क्षेत्र नं. ५ बाट १८ जना केन्द्रीय सदस्य छन् तर अन्तबाट कोही छैनन् । के गर्न खोजेको हो ?
भर्खरै एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा झापाली देवेन्द्र दाहाल, दीपक कार्की, रोमनाथ ओली, अग्नि खरेल, चिन्तन पाठक, होमबहादुर थापा, मेनुका काफ्ले, सुनिता बराल, मीना उप्रेती पोखरेल, गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक, नर्वदा र एलिजा गौतम निर्वाचित भएका थिए ।
यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की निर्वाचित हुँदा चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् । यीमध्ये चिन्तन पाठक र होमबहादुर थापा प्रदेश साँसद हुन् भने जनवर्षा जन प्रतिनिधि । उता, मनोनीत कोटाबाट सिधै केन्द्रीय सदस्य बन्नेमा मनोज ताम्ली, नीता धतानी र एलिजा गौतम छन् ।
जेनजी उमेरकी एलिजा मनकुमार गौतमकी भतिजी हुन् । झापा–४ का सासद एलपी साँवा यसपटक पनि केन्द्रमा परेनन् । बरु उनै गोविन्द थापा, देवेन्द्र दाहाल, इन्द्र भण्डारी दोेहोेरिए, मुख्यमन्त्री हिक्मत कार्की सचिव नै भए । केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित लीला कट्टेल कार्की दीपक कार्कीकी श्रीमती र हिक्मत कार्कीकी भाउजू हुन् । यसरी हेर्दा तीनवटा पद एकैघरमा पुगेको छ भने आफ्नै भाइ दमकका पूर्वमेयर रोमनाथ ओली र पूर्व उपमेयर गीता अधिकारी पनि केन्द्रमै अटाएका छन् ।
मेचीनगरकी उपमेयर मीना उप्रेतीले पनि दोहोरिने मौका पाइन् । तर, त्यही नगरका मेयर गोपालचन्द्र बुढाथोकी हेरेको हे¥यै भए । झापा– १ मा एमाले अरु कसैसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बेला एक जना पनि नपरेपछि त्यहाँ समस्या देखापरेको एक जना नेताले गुनासो गरे । उनले भने– यो एकदमै असन्तुलित भयो । अस्ति प्रतिनिधि छनोटमा पनि धाँधली भएको थियो । कोही मरेका त कोही अष्ट्रेलियामा रहेका आफ्ना छोराछोरीको नाममा पनि भोट हालियो ।
टिप्पणीहरू