कम्युनिस्टको कटाक्ष कति परसम्म !

कम्युनिस्टको कटाक्ष कति परसम्म !

“भाइ फुटे गँवार लुटे” भनेझैँ आफ्नै घर झगडाका कारण कमजोर भएका कम्युनिष्ट पार्टीहरु एकले अर्कालाई सिध्याउने घोषित नीतिमा छन् । सोहीअनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले एमालेविरुद्ध कांग्रेससँग गठबन्धन गरेका छन् भने एमालेले पूर्वपन्चहरुको पार्टीसङ्ग गठबन्धन गरेको छ ।

चुनावको प्रारम्भिक मत परिणाम आउँदै गर्दा कम्युनिष्टहरुको घर झगडाको सोझो फाइदा कांग्रेसले लिने देखिएको छ । अहिलेसम्मको रुझान हेर्दा एकले अर्कालाई ‘पत्तासाफ’ बनाउने भन्दै चुनावमा होमिएका एमाले, माओवादी र समाजवादी आफैँ कमजोर बन्ने निश्चित देखिएको छ ।

चुनाव अगाडिको उग्रता कतिसम्म भने एमालेले समाजवादीको अस्तित्वसमेत स्वीकार गरेको थिएन । माओवादी त्यसै ‘सिद्धिने’ भएकाले देशभर ७० प्रतिशत सिट एक्लै जित्ने एमालेको दाबी थियो । तर,परिणाम ठीक उल्टो आउने अवस्था देखिँदैछ ।

“समाजवादीको कलम चिन्ह झिकेर एमालेले काठमाडौँ जिल्लाका लागि मतपत्र छापेको हो ।”

फुटेपछि ‘पानी बाराबार’ गर्ने नेपालका कम्युनिष्टहरुको विशेषता नै हो । चुनावअघि यी तीन पार्टीका नेताहरुका गतिविधि पनि त्यस्तै थियो । एकीकृत समाजवादीलाई दलको हैसियत दिनसमेत नचाहेको एमालेले उसलाई हराउन काठमाडौँमै अनेक तयारी गरेको थियो ।

एमालेले आफ्ना मतदाता र जनतालाई चिन्हबारे जानकार गराउन छापेको नमूना मतपत्रमा एकीकृत समाजवादीको चुनाव चिन्हसमेत राखिएको थिएन । समाजवादीको कलम चिन्ह झिकेर एमालेले काठमाडौँ जिल्लाका लागि मतपत्र छापेको हो।

एमालेले छापेको नमूना मतपत्रको सिरानमा स्वस्तिक छापसहित उसको सूर्य चिन्ह छ । त्यसैको दायाँ लहरमा अर्कोपट्टी सिरानमा काँग्रेसको रुख र सूर्यको ठीकमुनि माओवादी केन्द्रको हँसिया हथौडा छ । अर्कोतर्फको दोस्रो लहरमा रुखभन्दा तल जसपाको छाता र त्यसको ठीक तल राप्रपाको हलो छ ।

त्यसपछि क्रमश: साइकल,तराजु,मादल र गिलास चिन्ह छ । निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त दलको हैसियतअनुसार उसको निर्वाचन चिन्हको क्रम संख्या निर्धारण गरेको छ । सबैभन्दा ठूलो दलको रुपमा मतपत्रको सिरानमा एमालेको सूर्य चिन्ह छ भने दोस्रो लहरमा रुख र तेस्रोमा हँसिया हथौडा छ । चौथोमा छाता,पाँचौमा साइकल र छैठौँमा कलम चिन्ह छ ।

टिप्पणीहरू