साढे ४ सय पालिकामा छिनोफानो
गत शुक्रबार मतदान भएका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ४४४ ठाउँको अन्तिम परिणाम सार्वजनिक भएको छ । तीमध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेर नेपाली काँग्रेसले आफूलाई पहिलो शक्तिका रुपमा उभ्याएको छ ।
काँग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । काँग्रेसका विजयी उम्मेदवारको यो संख्या ४५ दशमलब ९५ प्रतिशत हो ।
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले यसपटक साँघुरिएर दोस्रो स्थानमा पुगेको छ । एमालेले हालसम्म १२८ स्थानमा जीत हात पारेको छ । यो भनेको मतगणना सकिएका पालिकामध्ये २८ दशमलब ८२ प्रतिशत हो ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले हालसम्म ८६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जीत निकाल्न सफल भएको छ । मतगणना सकिएकामध्ये माओवादीको जीत १९ दशमलब ३६ प्रतिशत हो ।
त्यस्तै, एमालेबाट विद्रोह गरेर गठन भएको नेकपा एकीकृत समाजवादीले हालसम्म सात पालिकाको प्रमुख तथा अध्यक्ष पद प्राप्त गरेको छ । मतगणना सकिएका कूल पालिकामध्ये १ दशमलब ५७ प्रतिशतमा उक्त पार्टीका उम्मेदवारले जितेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) ले हालसम्म पाँच वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । यो मतगणना सएिकाका पालिकामा १ दशमलब १२ प्रतिशत हो ।
अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सकिएकामध्ये ३ दशमलब १५ प्रतिशत पालिका प्रमुख तथा अध्यक्षमा अन्य र स्वतन्त्र उम्मेदवार विजयी बनेका हुन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भने अहिलेसम एउटा पालिकाको पनि प्रमुख तथा अध्यक्ष जित्न सकेको छैन ।
टिप्पणीहरू