धुलिखेलमा नयाँ लफडा, विवाद निर्वाचन आयोगमा
धुलिखेल नगरपालिकामा विवाद उत्पन्न भएपछि मतगणना कार्य हिजोदेखि रोकिएको छ । काँग्रेसका बागी उम्मेदवारको चुनाव चिन्ह जेब्रा र काँग्रेसी उम्मेदवारको चुनाव चिन्ह रुखमा लगाइएको स्वस्तिक छाप स्वतन्त्र उमेदवारको हुनुपर्ने भन्दै बागी उम्मेदवारी दिएका विदुरबहादुर बस्नेतका प्रतिनिधिले कुरो उठाएपछि गणना कार्य रोकिएको हो ।
धुलिखेल नगरपालिकाको मेयर पदमा एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठ पाँच हजार सात सय ४८ मत ल्याएर अग्रस्थानमा छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका बस्नेत तीन हजार सात सय ७ मतसहित उनलाई पछ्याइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उत्पन्न समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाएको थियो । तर बैठकमा सहमति नभएपछि उक्त विषयलाई निर्वाचन आयोगमा लेखी पठाएको बुझिएको छ । केही प्रतिनिधिले एउटै पदमा अर्को उम्मेदवारी नभएको अवस्थामा दुई चुनाव चिन्हमासमेत मतदान भएको पाइए उम्मेदवार भएको चुनाव चिन्हको मतलाई मात्र सदर मान्नुपर्ने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव मतगणना निर्देशिकाको नियम २७ (२) विपरित रहेकाले विवाद उत्पन्न भएको हो ।
यसअघि त्यस्तो मत बदर हुने सर्वदलीय बैठकलेसमेत निर्णय गरेको थियो । तर अहिले सबै दल र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले समेत आफ्नै स्वार्थको कुरो गरेपछि मतगणना कार्य सुचारु हुन नसकेको हो ।
मत बदरसम्बन्धी निर्देशिकाको नियम २७ (२) को व्यवस्थामा यस्तो छ :
–सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको खण्डमा ,
–औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्हबाहेक अन्य चिन्ह वा छाप लगाई मत संकेत गरिएको खण्डमा,
–मत संकेत चिन्ह नबुझिने गरी लतपतिएको र च्यातिएको खण्डमा,
–उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको खण्डमा,
–उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मत संकेत गरिएको खण्डमा,
–निर्वाचित गर्नु पर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा छुट्टै मत संकेत गरिएको खण्डमा,
–एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिन्ह पर्ने गरी मत संकेत गरिएको खण्डमा ,
–मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको खण्डमा,
–कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत नगरिएको खण्डमा,
–आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको खण्डमा,
–मतपेटिकाभन्दा बाहिर राखिएको खण्डमा,
–जाली मतपत्र,
–मतपत्रभित्र रुपैयाँ, कागज वा अन्य कुनै वस्तु संग्लग्न गरी पट्याएको वा मतपत्रलाई कुनै रुपमा च्यातेको वा प्वाल पारेको खण्डमा,
–पट्टयाएको एउटा मतपत्रभित्र अरु मतपत्रसँगै एक साथ पट्टयाएको खण्डमा,
–उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा र निर्वाचन चिन्ह रहेको कोठाभन्दा बाहिर वा मतपत्रको अन्य कुनै भागमा समेत मत संकेत गरेको खण्डमा ।
यसैबीच काभ्रेपलाञ्चोक जिल्लाकी सिडियो हुमकला पाण्डेले मतगणनाको लागि मतपेटिकाबाट निकालेर ठिक्क पारिएको मतपत्र लामो समयसम्म रोकेर राख्न नहुने भन्दै आज बिहान मतदानस्थल पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवार र प्रतिनिधिहरुले उठाएको विषय निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत हुँदै निर्वाचन आयोगलाई जानकारी गराइएको छ । आयोगको जवाफ आएलगत्तै मतगणना हुनेछ ।’
उहाँका अनुसार मतगणना सम्बन्धमा गृह प्रशासनको जिम्मेवारी शान्ति सुरक्षाको र मतपत्र, मतपेटिकालगायतका सामाग्रीको सुरक्षा गर्नु हो । त्योबाहेक अरु सबै कार्य मुख्य निर्वाचन अधिकृतको कार्यालयको हुने उहाँको भनाइ छ ।

टिप्पणीहरू