चुनाव सकिएको सातौं दिनसम्म पनि जसले शून्य मत कटाउन सकेनन्
-प्रमिला घिसिङ
३० गते शुक्रवार सम्पन्न स्थानीय निर्वाचनको आज सात दिन पूरा भएको छ । ५५१ पालिकाको मत परिणाम आइसक्दा महानगरमा भने वडा तहका मात्रै अन्तिम मत परिणाम निस्किएका छन् ।
काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार र दलका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहँदा केही उम्मेदवारको खाता भने अझैे शून्य छ ।
काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन साहले २१ हजार ६२२ मत ल्याएर अग्रता लिइरहँदा अन्य १६ जना स्वतन्त्र उम्मेदवारले अझै खाता खोल्न सकेका छैनन् ।
बाख्राको टाउको चुनाव चिन्ह भएका राष्ट्रिय यथार्थवादी पार्टीका उम्मेदवार आनन्दराज जोशी,चिया कप चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार स्वईट थापा, सिलिण्डर चिन्ह भएका स्वतन्त्र उम्मेदवार बच्चनराज श्रेष्ठ,घाँघर चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार शैलेन्द्रमान श्रेष्ठ, ब्याडमिन्टन र कर्क चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार उमेश सिंहले अहिलेसम्म एक मत पनि पाउन सकेका छैनन् ।
यस्तै ठेकी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार महेश प्रजापति,कंगारु चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार विपीनराज वैद्य,बुट चिन्हका रञ्जितमान शाक्य,प्रेसर कुकर चिन्हकाप्रणेशबहादुर मल्ल,खिपवाला किरण रञ्जित,भालुवाला रोशन शाही शून्य मतमै सीमित छन् ।
मोहन बैध्यको समर्थनमा घण्टाघर चिन्ह लिएर उठेका वरिष्ठ पत्रकार निमकान्त पाण्डे,बिरालोवाला जेठा महर्जन,भ्यागुतोवाला मनिष श्रेष्ठ,बँदेलवाला सुनिल श्रेष्ठले पनि हालसम्म एक मतसमेत पाएका छैनन् ।
काठमाडौं महानगरमा ५५ जना प्रमुख पदका प्रतिस्पर्धी छन् । उता पोखरा महानगरको प्रमुख पदमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले दुई हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन् ।
पोखरामा २३ जना महानगर प्रमुखको प्रतिस्पर्धामा छन् । तीमध्ये दुई जनाको खाता शून्य छ ।
चंगा चुनाव चिन्ह भएका राष्ट्रिय नागरिक पार्टीका सृजनादेवी रिजाल, बाह्रसिंगे चुनाव चिन्ह भएका देशभक्त समाज पार्टीका उम्मेदवार रनबहादुर दमैले खाता खोल्न सकेका छैनन् ।
भरतपुर महानगरको प्रमुख पदमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा चलिरहेको छ ।
रेनुले साढे १५ हजारभन्दा बढी मत ल्याउँदा विजयले साढे १२ हजार मत प्राप्त गरेका छन् । भरतपुरमा २७ जना चुनावी मैदानमा छन् । तीमध्ये १० जनाले एक मतको पनि खाता खोल्न सकेका छैनन् ।
घर चुनाव चिन्ह भएका राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, कुखुराको भाले चुनाव चिन्ह भएका मंगोल अर्गनाइजेशनका टेकबहादुर पुन,माइक चुनाव चिन्ह भएका सञ्जय ठाकुर,जेब्रा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार रहिशचन्द्र घिमिरे,कैँची चिन्ह भएका स्वतन्त्र उम्मेदवार रमेश भण्डारी, गुलाबको फूल चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार रामकृष्ण ओझा,आँप चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार हरिशरण श्रेष्ठ,पुतली चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार मोहित पाण्डे,खरायो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार कुलराज कडेल र हाँस चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार मिलन अधिकारीले खाता खोल्न सकेका छैनन् ।
विराटनगर महानगरपालिकामा गठबन्धन तथा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । एमालेका सागरकुमार थापाले १४ हजार ३३८ मत ल्याएका छन् । उनी दोस्रो स्थानमा छन् ।
१३ जना उम्मेदवार महानगर प्रमखको लागि चुनावी मैदानमा रहेको विराटनगरमा सबैले खाता खोलेका छन् ।
वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंहले साढे १६ हजारभन्दा बढी मत ल्याउँदा एमालेका उम्मेदवार विजय सरावगीले आठ हजार २०५ पाएका छन् ।
वीरगञ्जमा ३० जना महानगरको प्रमुखमा चुनावी मैदानमा हुँदा २० जनाले खाता खोल्न सकेका छैनन् ।
सद्भावना पार्टीका सन्जय रौनियार, लाल्टिन चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार राधेश्याम साह,बस्ने मुडा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार राजेन्द्र सिंह,जेब्रा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार राजेश सिंह, कप चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार सत्रुधन कुर्मी, आँप चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार भोला पटेल, चुलेसी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार कोपशिलादेवी कनुईन, ब्याडमिन्टनको कर्क चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार कैलाश सर्राफको शून्य मत छ ।
ठेकी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार सुनिल कलवार, काग चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार समुदीन मियाँ, बाज चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार बृजमोहन चौरसिया, प्रेसर कुकर चिन्ह भएका विक्कीराव पटेल, खिप चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार रिजवान अली, भुईँकटहर चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार प्रभात सिंह, पुतली चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार अजयकुमार कुर्मी, खरायो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार जमिल राय भाट, हाँस चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार फरोज आलम, धारा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार महम्मद हफिज मियाँ र भ्यागुतो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार सञ्जीव यादवले खाता खोल्न सकेका छैनन् ।
ललितपुर महानगरमा गठबन्धन तथा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन १५ हजार तीन सयभन्दा बढी मत ल्याएर अग्रस्थानमा हुँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले करिब आठ हजार मत ल्याएका छन् ।
ललितपुरमा १३ जना महानगर प्रमुखको लागि चुनावी मैदानमा छन् । सबै उम्मेदवारले खाता खोल्दा पाँच जना उम्मेदवारले दोहोरो अंकमा मत ल्याउन सकेका छैनन् ।
टिप्पणीहरू