योगेश र रामवीरको भनाइ उस्तै ‘तलबाट होइन, नेतृत्वबाटै गल्ति भएको छ’

योगेश र रामवीरको भनाइ उस्तै ‘तलबाट होइन, नेतृत्वबाटै गल्ति भएको छ’

एमाले सांसद तथा सचिव योगेश भट्टराईले सत्ता गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेर चुनाव जितेको आरोप लगाएका छन् । आजको संसद बैठक सकेर निस्किँदै गर्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेले ल्याएको मत परिणाम उत्साहजनक भएको बताए ।

भट्टराईले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको उल्लेख गरेका छन् । यसअघि उनले काठमाडौंमा उम्मेदवार छनौटमा त्रुटि भएको बताइसकेका थिए ।

धेरै ठाउँमा पार्टीलाई हराउन पार्टी भित्रैबाट साँठगाँठ गरिएको पनि उनको आरोप छ । उनले बालेन साहप्रति लक्षित गर्दै भने ‘काठमाडौं महानगरपालिकामा ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी बजेको छ ।’
त्यस्तै सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि जाहेर गर्दै आएका अर्का एमाले सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार र अनियमितता धेरै भएको कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताए ।

स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजेको उनको भनाइ छ । मानन्धरले हजारौं मतदाताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेका उल्लेख गर्दै भने, ‘ ठूला पार्टीप्रति जनताको आक्रोश र असन्तुष्टि चुलिँदो छ । अब पनि पार्टीभित्र अन्तरघात भएको र गरेको भन्न मिल्दैन ।’

टिप्पणीहरू