पर्वतका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य

पर्वतका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य

पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वडामा एकजना पनि महिला वडाध्यक्षमा निर्वाचित हुन सकेनन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेकी थिइन् ।

जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि उनीहरु पराजित हुँदा महिलाको सहभागिता शून्य भएको हो । विहादी १ मा एमालेका चित्रबहादुर गुरुङसँग खड्का पराजित भएकी हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडीले हारेकी हुन् ।

अघिल्लो निर्वाचनमा कुश्मा–४ र ५ मा कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती वडाध्यक्ष निर्वाचित भएका थिए । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन नसकेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

जिल्लामा एउटा पालिकाले भने महिला प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा निर्वाचित भएकी हुन् ।गठबन्धनका कारण जलजला गाउँपालिकाले भने प्रमुख र उपप्रमुख दुवै पदमा महिलालाई जिताउन सकेन ।

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो ।

जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिलानै विजयी भएका छन् । फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैंयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक विजयी भएकी हुन् ।

टिप्पणीहरू