नयाँ दिल्लीमा आरएलाई जानाजान अड्काइने पर्यटन बोर्डका उपाध्यक्षको आरोप
गत शुक्रवार नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले सामाजिक सञ्जालमा एउटा निकै मार्मिक स्ट्याटस लेखे । राष्ट्रिय स्वार्थ र प्रतिष्ठासँग गाँसिएको उक्त स्ट्याटसले भारतको स्वार्थलाई भने उजागर गरिदिएको छ । उनले आफ्नो स्ट्याटसमा नेपाल वायुसेवा निगमलगायत देशका जिम्मेवार निकायहरु यात्रु र मुलुकप्रति गैरजिम्मेवार रहेको टिप्पणी गरेका हुन् ।
उनले विदेशी भूमि र विमानस्थलमा अनावश्यक ढंगले सँधै एक घण्टा उडान ढिलो हुँदा निगम,परराष्ट्र मन्त्रालय,नयाँ दिल्लीस्थित नेपाली दूतावास,राजदूतलगायत सम्बन्धित निकायले नयाँ दिल्लीबाट काठमाडौं आउने क्रममा विमानस्थलमा यात्रुले पाउने गरेको दुःखबारे केही नबोलेकोे आरोप लगाएका छन् ।
निगमको उडान ढिलो हुँदा यात्रुले निकै दुःख पाउने गरेको,नेपाल वायुसेवा र उसको व्यवस्थापनप्रति सर्वसाधारण र यात्रुको नकारात्मक धारणा बढेको र नेपाली र नेपाल वायुसेवाको सेवाप्रति विश्वले हेर्ने दृष्टिकोण तथा फैलिएको नकारात्मक छविबारे रिजालले चिन्ता व्यक्त गरेको उल्लेख गरे ।
काठमाडौंबाट नयाँ दिल्ली जाने नेपाल वायुसेवा निगमको उडानका सबै यात्रुले भारतीय अध्यागमन पार नगरेसम्म निगमको उडान तोकिएको समय पार हुँदासमेत फिर्ता हुन नदिने भारतीय हवाई उडानको अघोषित नीति रहेको रिजालको ठोकुवा छ । रिजालले केही दिन पहिले नयाँ दिल्लीबाट काठमाडौं उडान गर्ने क्रममा आफूले उक्त रहस्यबाट पीडा भोगेको र यथार्थ थाहा पाएको बताएका हुन् ।
तर नेपाल वायुसेवा निगमका पाइलटहरुले भने उक्त विषयमा खासै बोल्न चाहेको देखिएन । उनीहरु रिजाल काठमाडौं फर्केको दिनको फ्लाइट केही ढिलो भएको बताए पनि भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको भन्न नमिल्ने कूटनीतिक जवाफ दिएर तर्किएका छन् ।
तर रिजालले तोकिएको तालिका र समयमा जहाजले उडान भर्न नसक्दा नेपाल वायुसेवालाई वार्षिक कति घाटा लाग्छ ? नेपालको अर्थव्यवस्थालाई कति ठूलो धक्का लाग्छ ? भन्दै लेखेका छन्, ‘गैरजिम्मेवार व्यक्तिलाई आफ्नो कामप्रति र देशप्रति जिम्मेवार कसले बनाउने ?’
छिमेकी मुलुकको राजधानीबाट उडान भर्ने आफ्नो मुलुकको राष्ट्रिय ध्वजावाहक वायुसेवालाई दिइएको अनावश्यक दुःखलाई उनले भारतको हेपाहा प्रवृत्तिको संज्ञा दिएका छन् । नेपाललाई भारतले सँधै अविश्वास गर्ने र हेपाहा प्रवृत्तिको चंगुलमा राखेकाले नेपाल हरेक स्थानमा हेपिने क्रम जारी रहेको उनको बुझाई हो ।
“नेपालसँग कुनै समस्या,कूटनीतिक वा अन्य कारण भए भारत सरकारले समाधान गर्नुपर्ने हो,यसमा हाम्रो देशबाट केही कदम चालिएको देखिएन । तर,आज सत्तामा रहेका शासन चलाइरहेका व्यक्ति,संस्थाहरु यस्ता समस्याको मूकदर्शक मात्र बनिरहेका छन्”-रिजालले भने ।
नयाँ दिल्लीमा भइरहेको नेपाल वायुसेवाको उडान यात्रुलाई सेवा दिनेभन्दा भारतले कुत्सित फाइदा लिने उद्देश्यले भएको उनको ठहर छ । उनले थपेका छन्, ‘सम्बन्धित निकायका प्रमुखहरुलाई यस्ता गम्भीर समस्याबारे जानकारी हुनुपर्ने हो । यो समस्या धेरै पुरानो हो । सम्बन्धित निकायले ध्यान नदिँदा देशले घाटा व्यहोरेको छ । सर्वसाधारणले दुःख पाएका छन् ।’
जनआस्थासँगको कुराकानीमा रिजालले भने, ‘यस विषयमा मैले नेपाल एयरलाइन्सका जीएमसँग बुझ्न खोज्दा फोन उठेन । तर सम्बन्धित निकायमा जानकारी गराइसकेको छु । एयरलाइन्स र छिमेकीका कारण हुने सानो गल्तीले यात्रुले सास्ती र मुलुकले आर्थिक क्षति भोग्न नपरोस् भन्ने मेरो उद्देश्य हो ।’
टिप्पणीहरू