वैशाख २७ गते पाउ छोए, नतिजासँगै परपर भए
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको निम्ति गत वैशाख २७ गते प्रचार प्रसारको अन्तिम दिन थियो । त्यो दिनसम्म प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रचार प्रसारमा भ्याइनभ्याइ देखिन्थ्यो ।
सबैभन्दा धेरै व्यस्त एमाले अध्यक्ष केपी शर्मा ओली हुनुभयो । उहाँ एकैदिन हेलिकप्टरमा तीन चार वटा जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । काठमाडौंमा लौरो उठाए पनि जित्ने आत्मविश्वासका साथ एमालेले अन्तिम दिन भृकुटीमण्डपमा कार्यक्रम राखेको थियो ।
महानगर प्रमुखमा एमालेको लौरो होइन,स्वतन्त्र उम्मेदवार बालेन साहको चुनाव चिन्ह लौरोले जित्ने पक्कापक्की देखिन्छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनावको तयारी होइन,सबै कार्य सकिएको चर्को भाषण गर्नुभयो । उहाँले एमालेले जितिसकेको तर घोषणा मात्र हुन बाँकी रहेको भन्नुभयो ।
त्यहि कार्यक्रममा अन्य दलका नेता तथा कार्यकर्ता प्रवेश गराउने कार्यक्रम पनि राखिएको थियो । एक जना युट्युबर पुण्य गौतम पनि त्यसमध्येका एक जना थिए । उनले त्यो दिन केपी ओलीको पाउ छुँदै एमाले प्रवेश गरेको घोषणा गरे, एमालेजनले पनि ताली पिटे ।
यस्तै हल्लिखल्ली यसअघि सूर्जेकुमारी उर्फ करिश्मा मानन्धरहरुले एमाले प्रवेश गर्दा पनि भएको थियो । अहिले एमालेको सूर्यको राप कम भएझैँ ती सूर्जेकुमारीहरु पनि कता छन् भनेर खोज्नुपर्ने भएको छ ।
गौतम माओवादी जनयुध्दताका नेकपा माओवादीमा थिए । माओवादी पार्टी संसदीय मोर्चामा एमाले रोजे । त्यसपछि माले,नयाँ शक्ति,नेकपा,नेकपा एकीकृत समाजवादी हुँदै भृकुटीमण्डपमा केपी ओलीको पाउ समातेर फेरि एमाले बन्न पुगे ।
पार्टी प्रवेश गर्ने क्रममा उनले अध्यक्ष ओलीलाई मन पर्ने भएर होला भएभरका विशेषणले सम्बोधन गरेका थिए । ओलीलाई उनले नेल्सन मण्डेला,सी जिन्पिङ्ग र भ्लादिमर पुटिनको संज्ञा दिए । नेपालको नयाँ नक्सा सार्वजनिक गरेको भन्दै पृथ्वीनारायण शाहसँग तुलना गरे । सबैजसो पार्टी चाहारिसकेका गौतमले एमाले प्रवेश गरेपछि चुनावमा नसोचेको पराजय व्यहोर्नुपरेको अचम्मको संयोगसमेत परेको छ ।
टिप्पणीहरू