स्कुटर र मान्छेलाई लतारेर मार्दा पनि बस गुडिरह्यो

स्कुटर र मान्छेलाई लतारेर मार्दा पनि बस गुडिरह्यो

हिजो दिँउसो तनहुँमा सडक दुर्घटना भयो । सामान्यतयाः दुर्घटना भन्ने बितिक्कै डरलाग्दो हुन्छ नै । तर, हिजो दमौली नजिकै भएको दुर्घटना निकै भयावह थियो । ज्युँदो मान्छे र स्कुटरलाई बसले लतार्दै १५ मिटरसम्म पुर्याएको दृश्य हेरिसाध्य नभएको स्थानीय बताउँछन् ।

मान्छेलाई समेत घिसारेको बसलाई नजिकैका ट्याक्टर चालकले कराएर रोकेपछि मात्र बस चालकले ब्रेक लगाएका थिए । घटनामा उपचारको निम्ति अस्पताल जाँदै गरेकी ४० वर्षीया महिलाको ज्यान मात्र गएन । शरीर क्षतविक्षत अवस्थामा बसको मुन्तिरको भागबाट निकालिएको थियो ।

स्कुटर पनि त्यसैगरी अड्किएको थियो । स्कुटर चालक मृतकका छोरा २० वर्षे युवकको अवस्था चिन्ताजनक छ । उनको अहिले पोखरामा उपचार भइरहेको छ ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख नम्बरको यात्रुवाहक बसले दमौलीतिरै जाँदै गरेको ग.२० प नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको ज्यान गएको हो । स्कुटर चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख गोकर्ण नेपालले जानकारी गराएका छन् ।

भीमाद नगरपालिका–२ का ४० वर्षीया आमा पवित्रा थापालाई उपचारको क्रममा दमौली लैजाँदै गरेका २० वर्षीय छोरा शिशिर थापाले व्यास नगरपालिका–२ तल्लो गुणादी नजिकै सडकको खाल्टोमा स्पीड कम गरेका थिए । त्यहि बेला निकै बेगले आएको बसले ठक्कर दिँदा ४० वर्षीय पवित्राको ठाउँको ठाउँ ज्यान गएको हो ।

निकै लापरवाहीपूर्वक चलाइएको उक्त बस रिजर्भका यात्रु बोकेर आएको थियो । बस र चालकलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ ।

टिप्पणीहरू