काठमाडौंका ३२ मध्ये बालेन साह झिनो मतले पछाडि परे जम्मा ६ वटा वडामा मात्रै

काठमाडौंका ३२ मध्ये बालेन साह झिनो मतले पछाडि परे जम्मा ६ वटा वडामा मात्रै

काठमाडौं महानगरपालिकाको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । अब मुश्किलले २५ हजार भोट गन्न बाँकी छँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धीहरुलाई २१ हजारको अन्तरले पछाडि पारेका छन् ।

बाँकी सबै भोट सिर्जना सिंह वा केशव स्थापितमध्ये कुनै एउटा उम्मेदवारलाई गए मात्रै साह पराजित हुनेछन् । उक्त सम्भावना यस पटकको निर्वाचनमा अब सम्भव देखिँदैन ।

एमाले र नेपाली काँग्रेसले राजधानीमा आफ्नो संगठन निकै बलियो भनेका वडा सबैमा साहले अग्रता लिएका छन् । अग्रता पनि दोब्बर र कुनै कुनै ठाउँमा त तेब्बरसम्म देखिएको छ ।

कुनै वडामा नेपाली काँग्रेसका क्रियाशील सदस्यता रहेको भनिएको संख्याको दोब्बर मत साहले पाउँदा सिर्जना सिंहले क्रियाशील सदस्य रहेको भनिएको संख्याको आधा पनि पाएकी छैनन् । त्यस्तै एमालेका केशव स्थापितको अवस्था पनि उस्तै पाइएको छ ।

एमालेले दाबी गरेको संगठित सदस्यभन्दा आधा स्थापितले पाएका छन् । त्यसको दोब्बर साहले लौरोमा भोट पाएका हुन् । दुई दर्जनभन्दा बढी वडामा पहिलो मत पाएका बालेनले हालसम्म गणना भएका वडामध्ये छ वटामा सिंह र स्थापितले भन्दा कम पाएका छन् ।

वडा नम्बर १२ मा साहले ६५९ मत पाउँदा काँग्रेसले ११ सय ७८ र एमालेले ९०१ मत पाएको छ । त्यसैगरी वडा नम्बर २२ मा लौरोले ६७९ मत ल्याउँदा रुखले एक हजार एक र सूर्यले एक हजार ९८ भोट पाएका हुन् ।

उता वडा नम्बर २३ मा पनि बालेनले ४८१ मत ल्याएका छन् । सिर्जनाले ५८९ र केशवले ७१० मत पाएका छन् । वडा नम्बर २४ मा बालेनको लौरोमा ६०२ मत आउँदा रुखमा ७६० र सूर्यमा ९१० मत आएको हो ।

त्यसैगरी वडा नम्बर २५ मा बालेन साहले ७१७ मत ल्याए । सिर्जनाले ७८२ र केशवले ९९६ मत पाएका हुन् । २७ नम्बर वडामा स्वतन्त्र उम्मेदवार साहले ५५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी सिंहले ९७९ मत र स्थापितले ९९० मत ल्याएका छन् ।

टिप्पणीहरू