चुनावी नतिजा : एमालेको बाध्यता
आफ्नो गठबन्धनबारे केही नबोल्ने तर पाँच दलको गठबन्धनलाई खिसिट्युरी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको यतिबेला ओंठतालु सुकेको छ । गठबन्धनकै कारण पार्टीको हैसियत खस्किएपछि यस्तो भएको हो ०७४ सालको निर्वाचनमा ३५ हजार २२१ कार्यकर्तामध्ये १४ हजार ९९ सय जिताएका ओलीले निकै ठूलो धक्का व्यहोर्नुपरेको छ ।
केही विश्लेषकले गठबन्धन नभएको अवस्थामा एमालेको ५०–६० पालिका थपिन सक्ने अवस्था रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार नेपाली काँग्रेसलाई अहिलेकै अवस्थामा आउन निकै धौधौ हुन्थ्यो । अरु पार्टीको स्थितिमा सुधार हुँदैनथ्यो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिस्पर्धा हुँदा एक–दुई सिट जित्थ्यो भने माओवादीले ४० भन्दा बढी पालिका जित्न सक्ने थिएन ।
तर, गठबन्धनका कारण राजनीतिक अवस्थामा निकै उलटफेर भएको छ । ती विश्लेषकका अनुसार यो गठबन्धनले सबैभन्दा बढी घाटा एमालेलाई भएको छ भने सबै बढी फाइदा कांग्रेसलाई भएको छ ।
गठबन्धन नभएको वडा तहसम्मको हिसाब गर्ने हो भने घोषित नतिजामा नेपाली कांग्रेसको ३८ देखि ३९ प्रतिशत प्रतिनिधि चुनिएका छन् भने एमालेका ३२ देखि ३३ प्रतिशत चुनिएका छन् । जबकि पहिला एमालेको ४२–४३ प्रतिशत थियो । आउँदो चुनावमा पनि गठबन्धन कायम रहे एमालेलाई निकै ठूलो धक्का पुग्ने अवस्था देखिएको छ ।
स्थानीय तहमा साथीभाइ, आफन्त, रिसइबी, गाउँले विभिन्न कारणले गर्दा फरक किसिमको मतदान हुन्छ । तर, प्रदेश तथा संघको चुनावमा कहिल्यै नदेखेको नभेटेको मान्छेलाई पनि पार्टीको कारणले भोट हाल्नुपर्ने अवस्था हुन्छ । यो चुनावमा काठमाडौँ बस्ने मान्छे कैलाली, उदयपुरको मान्छे झापा गएर चुनाव लड्न सक्ने व्यवस्था छ । त्यसकारण गठबन्धन भयो भने एमालेको अवस्था अहिलेको भन्दा निकै खराब हुने दाबी गरिएको छ ।
मजबुत संगठन नै नभएको अवस्थामा पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पोखरा र हेटौँडामा ल्याएको भोटले यो संकेत गरेको छ । आफ्नो पार्टीले गठबन्धन गरेको मन नपरे पनि इमान्दार कार्यकर्ताले गठबन्धनको निर्णय पालना गर्छन् भन्ने देखिएको छ भने मन नपरे भोट हाल्न नजाने अवस्था पनि देखिएको छ । तर, विपक्षी पार्टीका उम्मेदवारलाई सघाउने वा सहयोग पुग्ने काममा त्यति धेरै गठबन्धनका कार्यकर्ता देखिएनन् ।
पार्टीको निर्णय मन नपरेको ठाउँमा बागी उठाएर उसैलाई मत दिएकोसमेत पाइयो । तर, संघ तथा प्रदेशको चुनावमा गठबन्धन भएको ठाउँमा समानुपातिकमा आफ्नो पार्टीलाई र प्रत्यक्षमा आफ्नो गठबन्धनलाई जिताउन नेता–कार्यकर्ता लाग्ने भएकाले गर्दा एमालेका निम्ति फलामकै चिउरा चपाउनुसरह हुन्छ । त्यसैले मंसिरमा हुने चुनावमा यही गठबन्धन कायम रहे एमालेले निकै चर्को मूल्य चुकाउनुपर्ने आकलन गरिएको छ ।
टिप्पणीहरू