२ दिन बिदा दिनेका राम्रा मात्रै बयान

२ दिन बिदा दिनेका राम्रा मात्रै बयान

निजी क्षेत्रलाई पनि सातामा दुई दिन बिदा दिने योजना कार्यान्वयन गर्न सिफारिस गरिएको छ । यससम्बन्धमा अध्ययन गर्न गठित सरकारी समितिले निजी क्षेत्रमा यो निर्णय लागू गर्दा अर्थतन्त्रलाई केही हदसम्म टेवा पुग्ने निश्कर्ष निकालेको हो ।

प्रतिवेदनमा शनिबार र आइतबार बिदा दिँदा आर्थिक रुपमा कर्मचारी र कार्यालयको उत्पादकत्वमा बृध्दि हुने उल्लेख छ । कारखानाजस्ता सिफ्टका आधारमा काम हुनेबाहेक कार्यालयहरुलाई यसप्रकारको प्रावधान अंगाल्न पनि जोड दिइएको छ ।

प्रतिवेदनमा कर्मचारी,श्रमिक र तिनका परिवारले योजना बनाएर बिदाको सदुपयोग गर्न सहयोग हुने, पारिवारिक र सामाजिक कामकाजमा समय दिन सकिनेजस्ता सबल पक्षहरु औंल्याइएको छ । त्यसैगरी,अहिले भोगिरहेको कामको तनाव र व्यक्तिगत असन्तुलन कम गर्न यसले सहयोग पुग्ने पनि समितिको ठहर छ ।

सप्ताहमा पाँच दिन अर्थात् ४० घण्टा कार्यालय समय र दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट २५ लाख सरकारी कर्मचारीले आफ्नै परिवारको पालनपोषण गर्न सक्ने समितिले जनाएको छ । यस्तो व्यवस्थाले निजी क्षेत्रबाट प्रत्यक्ष १० लाख र उनको परिवारसहित ५० लाख लाभदायी हुने समितिको ठहर छ ।

दुई दिने बिदामा एक दिन आराम गरेर अर्को दिन ८० लाखको १० प्रतिशत मात्र घुमघाममा निस्किँदा पनि आन्तरिक पर्यटक प्रवर्धनलाई टेवा पुग्ने अनुमान छ । सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न,काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने समितिको दाबी छ ।

दुई दिन बिदा दिँदा यातायात र इन्धनको उपभोगमा कटौती हुने र पर्यावरण सन्तुलनसमेत रहने समितिले भनेको छ । दुई रात पर्खिएर सरकारी सेवा लिनुपर्ने झन्झटिलो प्रवृत्तिको पनि अन्त्य हुने समितिको बुझाइ छ ।

सरकारले जेठ १ गतेदेखि सरकारी कार्यालयमा दुई दिने बिदा लागू गरिसकेको छ । यो निर्णयको समर्थनभन्दा आलोचना धेरै भइरहेको छ । बिदाको समर्थनमा सरकारी कर्मचारी मात्र देखिएका छन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/दुईदिने-बिदा-प्रतिवेदन-०७७.pdf”]

टिप्पणीहरू