ओलीको सम्बोधनमा आरोप नै आरोप

ओलीको सम्बोधनमा आरोप नै आरोप

एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता खड्गप्रसाद शर्मा ओलीले सरकार र सत्ता गठबन्धनका दलविरुद्ध चर्को भाषामा आरोप लगाउनुभएको छ । सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष ०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्नेक्रममा आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार र गठबन्धनमाथि चर्को आक्रोश पोख्नुभएको हो ।

स्थानीय चुनावपछि पहिलो पटक सार्वजनिक मञ्चबाट राजनीतिक टिप्पणी गर्नुभएका ओलीले धाँधली गरेर एमालेलाई योजनाबद्धरुपमा हराइएको आरोप लगाउनुभयो । उहाहँले बुथ कब्जा गरेर गठबन्धनका दलहरुले चुनाव जितेको दाबीसमेत गर्नुभयो । सरकार र गठबन्धन दलसँगै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि कटु वचनले गालीगलौज गर्नुभएको छ । प्रचण्डले चितवनका जनतालाई धम्क्याएर चुनाव जितेको आरोप लगाउनुभएको हो । त्यसैगरी प्रधानमन्त्री पत्नी आरजू राणाले पनि त्यसैगरी जनतालाई प्रभावमा पारेको दाबी गर्नुभएको छ ।

सरकारको नेतृत्व गरेको दल काँग्रेसमाथि धेरै खनिनुभएका ओलीले हिजो राणा र राजाको पाउमा परेर प्रधानमन्त्री खाने र त्यसको बिरोध गर्ने तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने काँग्रेसका कारण मुलुक पछि परेको आरोप लगाउनुभयो । राजासँग घाँटी जोडेर सरकारको नेतृत्व लिने अनि आफैं असक्षम बन्ने र राजाबाटै अपदस्थ हुने काँग्रेसको परम्परा रहेको भन्दै उहाँले प्रधानमन्त्री देउवामाथि कटाक्ष गर्नुभयो ।

काँग्रेसको गलत नीतिका कारण मुलुक पटक–पटक अँध्यारोतर्फ गएको उहाँको भनाइ छ । काँग्रेस नियम र कानुनको उल्टो पाटो पक्रेर हिँडेको आरोप लगाउँदै ओलीले गठबन्धन सरकार लामो समय रहँदा मुलुकको दुर्भाग्य हुने बताउनुभयो ।

नीति तथा कार्यक्रमका प्रत्येक बुँदामा व्याख्या गर्नुभएका ओलीले आफ्नो सरकारको कार्यक्रम चोरेको समेत आरोप लगाउनुभयो । आफ्नै सरकारको पालामा ल्याइएको कार्यक्रमलाई सामान्य काँटछाँट गरेर प्रस्तुत गरिएको उहाँको भनाइ छ । आफ्नो पालाको महत्वपूर्ण र जनमुखी कार्यक्रम हटाएर बाँकी सबै सामान्य विषय दोहोर्याको दाबी गर्दै ओलीले ‘सुखी नेपाली, सम्वृद्ध नेपाल’ जस्तो लोकप्रिय कार्यक्रम हटाइएकोमा सरकारको चर्को आलोचना गर्नुभयो ।

सरकारले गन्तव्यहीन नीति तथा कार्यक्रम ल्याएर जनता अल्मल्याउन खोजेको पनि उहाँको आरोप छ ।

टिप्पणीहरू