सर्पले डस्ला है, सतर्क हुनुहोस्

सर्पले डस्ला है, सतर्क हुनुहोस्

जेठदेखि भदौसम्म सर्पले डस्ने सम्भावना सबैभन्दा बढी हुन्छ । बर्खाको सिजनमा सर्पको डसाइबाट धेरैको ज्यान जाने गर्दछ । गर्मीयाममा हिमाल र पहाडभन्दा पनि तराईमा सर्पको जोखिम बढी हुन्छ । नेपालमा पाइने सर्पमध्ये १७ प्रजातिका सबैभन्दा धेरै विषालु छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो सिजनमा सर्पको जोखिम अत्यन्तै रहेकाले सावधानी अपनाउन सुझाएको हो । मानिसकै लापरवाहीका कारण सर्पले टोक्ने गरेको प्राधिकरणको ठहर छ । सर्प प्रायः रातको समयमा निस्किने भएकाले प्रकाश दिने उपकरण बोकेर हिँड्नुपर्नेमा जोड दिइएको छ ।

सर्पलाई जिस्काउने वा चलाउने काम गर्नुहुदैन । घर वरपर भएका फोहोरको थुप्रोलाई हटाउने र दुलो भए पुर्ने गर्नाले पनि सर्पको टोकाइको जोखिम घटाउन सकिन्छ ।

सर्पले टाेकेमा के गर्ने ?

सर्पले डसेका व्यक्ति आत्तिन सक्ने भएकाले सान्तवना दिनुपर्ने प्राधिकरणले जनाएको छ । सर्पले डसेको खण्डमा नजिकैको स्वास्थ्य संस्था तथा सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने जनाइएको छ ।

सवारी साधनमा लैजाँदा घाइतेलाई बसाएर लैजानुपर्छ । यसो गर्दा सर्पले टोकेको ठाउँलाई सकेसम्म मुटुको सतहभन्दा तल राख्न प्राधिकरणले सुझाएको छ । यस्तो अवस्थामा घडी, चुरा, औंठी र पेटी खोल्नुपर्छ ।

टिप्पणीहरू