दुर्घटनाको बेला धार्मिक र मानवीय सँवेदनाको ख्याल राखौं

दुर्घटनाको बेला धार्मिक र मानवीय सँवेदनाको ख्याल राखौं

-नितेश भारद्वाज

पोखराबाट मुस्ताङको जोमसोमतर्फ २२ जना सवार तारा एअरको विमान आइतबार बिहान बेपत्ता भयो । दिनभर खोजी कार्य गरियो तर खराब मौसमका कारण अत्तोपत्तो लागेन । हिजो बिहानै विमान क्षतविक्षत अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ गाउँको सानुसरे भन्ने स्थानमा भेटिएको छ ।

२२ जना यात्रुमध्ये विमानमा मुक्तिनाथको दर्शन गर्न हिँडेका एकै परिवारका सात जना दर्शनार्थी रहेको खबर बाहिरियो । त्यहि जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिर नेपाली, हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्थाको पुञ्ज पनि हो । अन्य १५ जना यात्रु र चालक दलका सदस्यबाहेक ती सात जनाको निधनप्रति समवेदना प्रकट गर्दै केहीले सामाजिक सञ्जालमा धार्मिक आस्थाहरुप्रति भने निकै आक्रामक भाव राखेको पाइएको छ ।

‘आफ्नै भक्त आफ्नै काखमा मृत्युसँग जुधिरहँदा चुपचाप बसे मुक्तिनाथ बाबा !,’ केहीले धार्मिक आस्था र विश्वासमाथि नै आघात पार्ने गरी यस्तो वाक्य लेखेर सामाजिक सञ्जाल रंगाएका छन् । उनीहरुले आध्यात्मिक दर्शनअनुसार अलौकिक शक्ति हुन्थ्यो भने एकै घरका सात जना यो संसारबाट बिदा हुँदा मुक्तिनाथ बाबाले थाहा पाएनन् कि जरुरी ठानेनन् होला ? भनेर धार्मिक विश्वासमाथि मजाक गरेका छन् । यसले सात जना परिवारका सदस्यको दुःखद् निधनबाट मर्माहत भएको परिवारको घाउमा नुनचुक छर्केको पाइन्छ ।

मानिस र परिवारको दुःखमा रमाउने केही समूहले यस पटकको विमान दुर्घटना र मुक्तिनाथ दर्शनको निम्ति गएका धार्मिक विश्वासका परिवारप्रति पनि कुठाराघात गरेको केही केहीको ठम्याइ छ । ‘उनकै पाउमा चरण स्पर्श गर्न पूरै परिवार लिएर गएका उनीहरु न फर्किए, न त जन्म दिने बा- आमासहित आफ्नो परिवारका महत्वपूर्ण सदस्यलाई नै फर्काउन सके ! बिडम्बना, कहिलेसम्म हामी यस्ता कुराको पछि लागेर अकालमै जीवन विसर्जन गर्दैछौं ? किन बचाएनन् मुक्तिनाथ बाबाले ? किन सुनेनन् उनीहरुको चित्कार ? कतै हामीलाई अन्धविश्वासको पहाडले थिचिरहेको त छैन ? २१ औं शताब्दीको वैज्ञानिक युगमा अझै पनि रुढिवादी सोचबाट ग्रसित त छैनौं ?’

“हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने परिवारका कारण मात्र उक्त दुर्घटना भएको,उनीहरुको मात्र देहान्त भएको भन्ने आशयसहित अहिलेको परिस्थितिमा सामाजिक सञ्जाल रंगाउँदा साम्प्रदायिक र धार्मिक सद्भाव खल्बलिने बुध्दिजीवीहरुको ठहर छ ।”

विमान दुर्घटनामा दुःखद् निधन भएका अन्य १५ जना छन् । मरण सबैका निम्ति पीडादायी खबर हो । हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने परिवारका कारण मात्र उक्त दुर्घटना भएको,उनीहरुको मात्र देहान्त भएको भन्ने आशयसहित अहिलेको परिस्थितिमा सामाजिक सञ्जाल रंगाउँदा साम्प्रदायिक र धार्मिक सद्भाव खल्बलिने बुध्दिजीवीहरुको ठहर छ ।

नास्तिकले आस्तिकहरुलाई सुझाव दिएका छन्, ‘कहिलेसम्म हामी पश्चातापको भुमरीमा रहिरहने ?अब के दर्शन गर्न गएका परिवारमा खुशी ल्याइदिन्छन् त मुक्तिनाथले ? आकाशमै छट्पटिएर कयौँ यात्रु बेहोस बने होलान् ! अनकन्टार ठाउँमा चिच्याई चिच्याई प्राण त्याग्नुपर्दा भगवानको नाम लिएर शुद्ध मन वचनको साथ गएकाहरु न कहिल्यै फर्किन सके न त तिनै भगवानले फर्किएर हेरे !’

यति धेरै आफ्नो मनको भडास पोखिरहँदा समाजका जान्ने सुन्ने ठूलाबडा,बुद्धिजीवी र लेखकहरुले विमान दुर्घटनालाई धर्मसँग जोडेर चर्चा गर्न त नमिल्ने हो । आस्था र विचार मानवको व्यक्तिगत स्वतन्त्रता पनि हो । सभ्य भाषामा सुझाव दिनु अर्कै पक्ष हो । तर,धार्मिक भावनासँग जोडिएको विषयलाई मजाकको बिषय नबनाइदिए बेस हुने थियो भन्नेहरु थुप्रै पाइएका छन् ।

विमान दुर्घटनामा निधन भएका १५ जना अन्य यात्रु आफ्नै योजना र कार्यक्रमसहित जोमसोम जाँदै थिए । अन्य दुर्घटनामा पनि मारिनेहरु आफ्नै हिसाबले यात्रामा गइरहेका हुन्छन् । तर, दुर्घटनालाई उनीहरुको कार्यक्रम र योजनासँग जोडेर विश्लेषण गर्दा सतही टिप्पणी हुने जाने थुप्रैको अनुभूति छ ।

हामीले मुस्लिम धर्मावलम्बीहरु हज गर्न साउदी अरेबियाको मक्कामा जाँदा हुने गरेका कतिपय दुर्घटना र क्रिस्चियन धर्मावलम्बीहरुले आयोजना गर्ने कतिपय कार्यक्रममा पनि गोली चलेर मान्छे मारिएको पाएका छौं । त्यसलाई आफ्नै ढंगले व्याख्या गरेर अघि बढ्ने हो भने अर्काको संवेदनशीलताप्रति हामी निष्ठुरी भएको बाहेक केही अर्थ नलाग्ने पक्का छ ।

टिप्पणीहरू