१२ कक्षा पास हुने युवतीलाई बिहेमा ५० हजार
मुलुकका सबैजसो स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तीमध्ये अधिकांश नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदभार पनि ग्रहण गरिसकेका छन् ।
उनीहरुमा पछिल्लो समय आफ्ना मतदातालाई रिझाउन एकपछि अर्को निर्णय गर्ने होडबाजी चलिरहेको छ ।
नयाँ र लोकप्रिय निर्णय गरिएको भन्दै जनप्रतिनिधि र तिनका समर्थकहरुले वकालत गर्दै आएका छन् । कतै भत्ता बढाइएको छ त कतै खाद्यान्न सामग्री बाँड्ने घोषणा गरिएको छ ।
स्वास्थ्य बीमा,विद्युत महशुल निःशुल्क गर्ने निर्णयको लर्को नै लागेको छ । यता,सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भने छोरीचेलीको विवाहमा सहयोग गर्ने निर्णय अघि सारेको छ ।
पालिकाले २० वर्ष उमेर पूरा गरेका छोरीचेलीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो । यसका लागि १२ कक्षा भने उत्तीर्ण गरेको हुनुपर्छ ।
हालसम्म निर्वाचित जनप्रतिनिधिले गरेका निर्णयमध्ये यो सबैभन्दा नौलो हो ।
मधेश प्रदेशमा बालविवाहको समस्या अत्यधिक देखिएकाले छोरीचेलीलाई सहयोग दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए ।
‘तराईमा बालविवाह र दाइजोको जटिल समस्या छ’,उनले भने ‘यसको न्यूनीकरणका लागि यो योजना ल्याइएको हो’ ।
१२ कक्षा उत्तीर्ण गरेपछि आफ्नो जीवनको फैसला आफैँ लिन सक्ने र भोलिका दिनमा हुने दुर्घटनाबाट जोगिने भएकाले यो निर्णय निकै प्रभावकारी हुनेमा उनी विश्वस्त छन् ।
पालिकाका अध्यक्षले गरेको उक्त निर्णय कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने बताइएको छ ।
टिप्पणीहरू