दुई तारे जर्नेलहरुको व्यापक सरुवा,चीफ बनाउन खरिदबाट अपरेशन

दुई तारे जर्नेलहरुको व्यापक सरुवा,चीफ बनाउन खरिदबाट अपरेशन

नेपाली सेनाका मेजर जर्नेल (उपरथी) हरुको सरुवा प्रक्रिया अघि बढेको छ । जंगी अड्डाबाट त्यससम्बन्धी फाइल रक्षा मन्त्रालय पुगेको र क्याबिनेट निर्णयको पर्खाइमा रहेको बताइन्छ ।

प्रस्तावित सूचीमा निवर्तमान सेनापति पूर्णचन्द्र थापाका एक्का भनेर चिनिने प्रेम शाहीलाई सुर्खेतस्थित कमाण्डबाट अनुसन्धान तथा विस्तार निर्देशनालयमा ल्याउन लागिएको छ । सुर्खेतको कमाण्ड सेनापतिमा भने हिरालाल जोशी जाने छन् । जोशी माओवादी द्वन्द्वताका जुम्लामा भिडेका थिए ।

त्यसैगरी निरीक्षणाधिकृत (आइजी अफिस) मा नयाँ बढुवावाला होम दवाडी जाने भएका छन् । दिपक बानियाँलाई नगरकोट तालिम केन्द्र अर्थात् वार कलेजमा पठाउन लागिएको छ ।

यम ढकाल भने पहिले सहदेव खड्का भएको ठाउँमा जाँदैछन् । मद्दति तथा सेवा निर्देशनालयको नामले परिचित उक्त कार्यालयमा बसेर ढकालले १३, १४,१५ र १६ नम्बर बाहिनीका साथै राजदललगायत सेनाका विभिन्न कारखानाको जिम्मेवारी हेर्ने गर्छ ।

यता ताराध्वज पाण्डेलाई सेनापतिपछिको शक्तिशाली विभाग डिजिएमओ (अपरेसन) मा लैजाने चाँजोपाँजो मिलाइएको छ । उनी सेनाको सम्पूर्ण खरिद कार्य हेर्ने सम्भाररथी बिभागमा लामो समयदेखि थिए ।
निर्मल थापालाई भने ताराको जिम्मेवारीमा रहेको सम्भाररथीमा लैजाने भनिएको छ । तारालाई अपरेशनमा लैजानुको मुख्य उध्देश्य सेनाको भावी नेतृत्वमा अगाडि सारिनु हो भनिन्छ ।

यता अवकाशप्राप्त जर्नेल रघु भण्डारीलाई पनि जिम्मेवारी पूरा गर्न नसकेकाले नयाँ म्याद नथप्नेमा सैन्य नेतृत्व ढुक्क देखिएको छ । देशभरका स्कूले विद्यार्थीलाई नैतिक शिक्षा दिने राष्ट्रिय सेवा दलमा रहेका भण्डारी बातैपिच्छे अश्लिल बोल्ने भएकोले त्यस्तो ठाउँमा राखिरहन नमिल्ने निश्कर्ष निकालिएको बताइन्छ ।
त्यहि ठाउँमा बसेर पहिले रमिन्द्र क्षेत्रीले ७५ वटै जिल्लामा सेवा दलको क्षेत्र बिस्तार गरेका थिए ।

राष्ट्रिय सेवा दल सेनाका ठूलाबडाहरुले अवकाश पाएपछि नियुक्त हुने ठाउँ हो । त्यसको नेतृत्वमा लगिने पात्रबारे कम्तीमा एक चरण बहस चलाएर नियुक्त गर्नुपर्नेमा भण्डारीको हकमा सोझै तैनाथ गरिएको थियो ।
त्यसो त उनको म्याद असोजसम्म मात्रै छ ।

तर प्रधानसेनापति प्रभुरामले छिट्टै सुधार गर्नुपर्ने धेरै क्षेत्रमध्ये त्यो पनि एउटा महत्वपूर्ण निकाय हो । जहाँ सैनिक र तिनका सन्तानलाई नैतिकता सिकाइन्छ ।

टिप्पणीहरू