कांग्रेसले समाजवादी फसाउने, समाजवादीले कांग्रेस हँसाउने

कांग्रेसले समाजवादी फसाउने, समाजवादीले कांग्रेस हँसाउने

एक मतको महत्व कति हुन्छ भन्ने कुरा सबैभन्दा बढी मकवानपुरले नै बुझेको हुनुपर्छ । मत बराबरीले नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा गोलाप्रथाबाट सचिव छान्नुपर्दाको पीडा होस् वा तत्कालीन नेकपा एमालेकी नेत्री मुनु सिग्देलले पूर्वसचिव रघुनाथ खुलाललाई १ मतको अन्तरले जिल्ला अध्यक्षमा पराजित गरेको घटना नै किन नहोस् ? सम्झनालायक १ भोटका किस्सा बग्रेल्ती छन् मकवानपुरमा ।

त्यस्तै किस्सामध्ये अर्काे किस्सा थप्यो इन्द्रसरोबर गाउँपालिकाले । स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा नं ५ मा जम्मा १ जना दलित महिला सदस्यले जितिन् । कसलाई थाहा थियो र ती सदस्य यति महत्वपूर्ण हुन्छिन् भन्ने ।

बिजयी घोषणा भएको २ घण्टामै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी नेकपा एकीकृत समाजवादीका नेता एबं निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामा खोज्दै हिँडे । पुडासैनीको एउटै आग्रह थियो–‘दलित महिला सदस्यलाई जसरी पनि मनाएर कार्यपालिका सदस्यमा बहुमत पु¥याइदिनुप¥यो ।’

संयोग पनि कस्तो परेछ भने इन्द्रसरोबर गाउँपालिकाको कूल गाउँ सभा सदस्यको संख्या २७ जना हो । त्यसमध्ये १३ अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्षसहित १३ जना एमालेले ओगट्यो भने बाँकी वडाध्यक्षसहित १३ जना सदस्य कांग्रेसले जित्यो । दुई ठूला दल बराबर मत हैसियतमा आएपछि समाजवादीकी दलित महिला सदस्य निर्णायक बनिन् । ती सदस्य हुन् शोभा कामी ।

तिनै शोभालाई देखाएर समाजवादीले कांग्रेससँग बदला मात्रै लिएन, ओलीको अहंकारलाई पनि राम्ररी गलाइदिएको निवर्तमान अध्यक्ष लामा बताउँछन् । ‘एकछिनमा एमाले आएर फकाउँछ, लगत्तै कांग्रेस पनि आउँछ ।’, लामाले सम्झे–‘समाजवादी सानो पार्टी भनेर सबैले हेपेका थिए, त्यही सानो पदको महत्व दुईटै दललाई राम्ररी बुझाइयो यसपटक ।’

अन्त्यमा शोभा कामीलाई कार्यपालिका सदस्य बनाउने र दलित, सीमान्तकृत र अल्पसंख्यकबाट प्रतिनिधि हुने बाह्य सदस्य पनि समाजवादीले नै पाउने गरी नेकपा एमाले र समाजवादीबीच सम्झौता भयो । र, १३ सदस्यीय कार्यपालिकामा नेकपा एमाले ७ तथा कांग्रेस र समाजवादी ३/३ हुने गरी निर्वाचन परिणामसमेत आयो ।

केपी ओलीको अहंकार तोड्न समाजवादी पार्टी बनेको बेला फेरि पनि ओलीलाई नै किन समर्थन भयो भन्ने प्रश्न पनि लामाप्रति तेर्सियो । उनले भने, ‘केन्द्रीय नीतिबमोजिम मकवानपुरका १० मध्ये हेटौँडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका समाजवादीले पाउने लिखित सम्झौतालाई कांग्रेसले तोडेपछि यस्तो हुन पुग्यो ।’ खासमा समाजवादीका अध्यक्ष लामालाई नै गठबन्धनको टिकट दिएर जिताउने सहमति बेगर कांग्रेसले आफ्नै उम्मेदवारलाई टिकट दिएर रूख चिह्नमै उठाएपछि लामा निष्क्रिय बसेका थिए ।

उनले एकदिन पनि घरदैलो र मत आह्वान नगरिकनै हारेर चुनाव टारेका थिए । एमालेसँग बजेट बिनियोजन, समितिहरू निर्माण र परिचालन लगायतका कार्यमा पछि पनि भागबण्डा हुने गरी लिखित सम्झौता गरिएको लामाले बताए । समाजवादीभित्र इन्द्रसरोवरको यो प्रसंगले चिलिमले घ्याम्पो फोरेको किस्सा चर्चामा छ ।

टिप्पणीहरू