मन्त्री किन थपिएछन् कुबेला
६ महिनाको समयावधि पाएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले कार्यकाल अढाइ महिना बाँकी छँदा क्याबिनेट विस्तार गरेपछि निर्धारित मितिमा चुनाव नहुने हो कि भन्ने आशंकालाई बल पुर्याएको छ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने म्याण्डेट पाएको चुनावी सरकारलाई कार्यकाल मध्यतिर आइपुग्दा मन्त्री थप्नैपर्ने कस्तो बाध्यता आइपर्यो होला ? भन्ने कोणबाट जेनजीहरूले समेत प्रश्न उठाएको पाइयो ।
भदौ २७ गते प्रधानमन्त्रीको शपथ खाएकी कार्कीको कार्यकाल फागुन २१ सम्म तोकिएको छ । निर्धारित मितिमा चुनाव हुँदा यो सरकारको अवधि अब तीन महिना पनि बाँकी छैन । तर, मंसिर २६ गते शुक्रबार प्रधानमन्त्रीले चार मन्त्री थप्दै चौथो पटक क्याबिनेट विस्तार गरिन् । यसअघि चर्चामै नरहेका प्रा.डा कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई मन्त्री बनाइयो । योसँगै बढीमा ११ सदस्यीय क्याबिनेट गठन गर्ने घोषणा गरेकी कार्कीको मन्त्रिपरिषदमा १४ जना पुगेका छन् । यद्यपि, सरकारले अझै पूर्णता भने पाएको छैन ।
रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीसँगै छ भने कानुनमन्त्री अनिल सिन्हालाई पर्यटनको जिम्मा लगाइएको छ । कुलमान घिसिङले तीन वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । विगतमा नेपाली सेनासँग सम्बन्धित रक्षा मन्त्रालय प्रधानमन्त्री आफैँले राख्ने चलन थियो । गणतन्त्रपछि धेरै पार्टी सम्मिलित मिलिजुली सरकार बन्न थालेसँगै दलीय भागबण्डा पुर्याउन रक्षा मन्त्री छुट्टै बनाउन थालिएको हो ।
शुरुमा सानो र समावेशी मन्त्रिपरिषद बनाउने भनिएकोमा १४ सदस्यीय पुगिसक्दा पनि मन्त्रीका आकांक्षीहरुको ‘तँ छाड मछाड’ भने उस्तै छ । जेनजी अगुवाको नाममा हाट्टहुट्ट गर्नसक्ने सुदन गुरुङहरूले आफ्ना मान्छेलाई मन्त्री बनाउन चाहँदा वास्तविक जेनजी, आन्दोलनका घाइते र शहीद परिवारले पनि क्याबिनेटमा भाग खोज्ने नै भए । स्रोतका अनुसार यसपटक सुदूरपश्चिमे जेनजीहरूले पनि मन्त्रीको आश गरेका थिए । जेनजी आन्दोलनमा सुदूरपश्चिमबाट सबैभन्दा बढी शहीद भएको तर क्याबिनेटमा प्रतिनिधित्व नगराएको भन्दै उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर आपत्तिसमेत जनाए । जेनजीको बदनाम गर्दै हिंड्ने अर्जुन शाही, कोरियाबाट डिपोर्ट भएर आएका अजय सोडारीहरूजस्ता पात्र त्यतैको भए पनि जेनजी आन्दोलनमा सबैभन्दा बढी मानवीय क्षति सुदूरपश्चिमले व्यहोर्यो । मृतक र घाइते दुबैको संख्या त्यताको धेरै छ । बुझिएअनुसार जेनजी र सुदूरपश्चिमको एकैसाथ प्रतिनिधित्व हुनेगरी रक्षा बमलाई मन्त्री बनाउने तयारी थियो । तर, उनले तीन महिने मन्त्री खान अस्वीकार गरेको स्रोतले सुनायो ।
नयाँ बनाइएका चार मन्त्रीलाई लिएर पनि जेनजीहरू सन्तुष्ट छैनन् । एकथरी जेनजी यसबारे गुनासो गर्न एक नेताकहाँ पुगेका थिए । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिल सिन्हा बसेर नाम फाइनल गरेकाले यसबारे आफू जानकार नरहेको जवाफ दिएर फर्काएको बताइएको छ । तीन महिना कार्यकाल बाँकी छँदा क्याबिनेट विस्तार गर्नुपर्ने बाध्यता के होला ? प्रधानमन्त्रीनिकट स्रोतका अनुसार कुलमान घिसिङ र जगदीश खरेल चुनाव लड्न जानसक्ने अनुमानका आधारमा यो निर्णय गरिएको हो । तीनवटा विकासे मन्त्रालयको नेतृत्व गरिरहेका कुलमानले चुनाव लड्ने तयारी गरिसकेका छन् । आफ्ना विश्वासपात्रलाई अघि सारेर ‘उज्यालो नेपाल पार्टी’ गठन गरी राजनीतिक गतिविधिमा संलग्न भैसकेका उनी फागुन २१ को चुनाव लड्ने लगभग निश्चित देखिन्छ ।
पछिल्लो समय सञ्चारमन्त्री खरेलले समेत त्यस्तो इच्छा देखाउन थालेको स्रोत बताउँछ । खरेल कुन पार्टीबाट चुनाव लड्ने भन्नेमा अहिलेसम्म प्रष्ट नखुले पनि राजनीतिक आकांक्षा प्रकट गरेको सूचना प्रधानमन्त्रीसम्म पुगेको छ । दावी गरिएअनुसार उनी नेपाली कांग्रेसको टिकटमा दोलखाबाट उठ्ने सम्भावना छ । यी सबै पृष्ठभूमि केलाउँदै स्रोतले भन्यो, ‘एक जनाले तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका छन्, भोलि चुनाव लड्न गए भने सबै जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आउँछ । त्यही भएर मन्त्री थपिएको हो ।’
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू