‘बा’ लाई भेट्न जाँदा चाहिँ किन चश्मा लाउन्नन् बालेन ?
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएदेखि नै बालेन्द्र साह अत्यधिक चर्चामा आएका व्यक्ति हुन् । काठ्माडौंमा जन्मिएको भएपनि उनको पुर्ख्यौली घर महोत्तरी हो । मधेशी युवा मुलुककै ठूलो शहर काठमाडौंमा मेयरको प्रत्यासी बन्नु सबैको लागि नौलो रह्यो ।
युवा पुस्ता त्यहीमाथि पनि मधेशी मूलका । कलाकार,र्यापर,निर्देशक र स्ट्रक्चरल इन्जिनियर जसलाई काठ्माडौंको नेवार समुदायले सजिलै स्वीकार्यो । राजनीतिक पार्टीबाट आजित भएका यहाँका स्थानीयले काठ्माडौंको जिम्मा बालेनको हातमा सुम्पिए ।
६१ हजार ७ सय ६७ मतसहित बालेन मेयरमा चुनिए । गत १६ गते उनले मेयरको पदभार ग्रहण गरिसकेका छन् । राजनीतिक क्षेत्रमा पाइला राखेदेखि नै उनको कालो चस्मा निकै प्रख्यात छ । शुरुका दिनदेखि नै उनको चस्मालाई लिएर विभिन्न टिकाटिप्पणी गर्न थालिएको छ ।
युवा पुस्तामा बालेनको चस्माको बढ्दो क्रेजले व्यापारीहरु दङ्ग छन् । मेयरजस्तो व्यक्तिले लगाएका कारण यो चस्माको व्यापार बढेको व्यापारी बताउँछन् । उनले लगाउने चस्माको नाम मेटल ग्लास हो । तर,युवा पुस्ताले यसलाई ‘बालेन चस्मा’ नामाकरण गरिदिएका छन् ।
साथै, ‘बालेन दाइको चस्मा,भ्रष्टाचारी भ्रष्म’ भन्ने नाराले पनि उनलाई एकाएक चर्चित बनाएको थियो । बालेन जहाँ जाँदा पनि आफ्नो चस्मा फुकाल्दैनन् । मानौं, चस्मा र उनी एकअर्कामा पर्यायवाची छन् । मेयरमा आएलगत्तै बालेनले प्रधानसेनापति प्रभुराम शर्मासंग भेट गरे । जंगी अड्डामा भएको भेटवार्तामा चस्मा नै लगाए ।
ढाकाटोपी,दौरा सुरुवालमा सज्जिएका बालेनले मेयरपछिको पहिलो भेटमा पनि चस्मा फुकालेका छैनन् । यता, प्रधानमन्त्री शेरबहादुर देउवासंग अस्ति बुधबार बेलुका भएको भेटमा पनि चस्मा लगाएका छन् । प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार नै पुगेका हुन् ।
उनले अधिकांश समय चस्मा लगाइरहेका हुन्छन् । तर,एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सार्वजनिक भएको फोटोमा चस्मा लगाएका छैनन् । पदभार ग्रहण गर्नुअघि लिइएको उक्त तस्बिरमा उनले चस्मा लगाउन बिर्सिएका हुन् ? अध्यक्ष ओलीलाई भेट्न उनी किन नाङगो आँखा पुगे ?
आमनागरिकले चिनेदेखि आजसम्म चस्मा नफुकालेकाले उनले ‘बा’ भेट्दा किन चस्मा फुकाले त ? जनताको लागि मात्र हो कालो चस्मा ? भन्ने प्रश्न उब्जिएको छ । कतै खोल्ने र कतै लगाउने प्रवृत्तिले धेरै प्रश्न उब्जिएको छ । यो प्रश्नले सबै आम नागरिकको मनमा खुल्दुली उब्जाएको छ । यसको जवाफ मेयर बालेनले नै दिनुपर्ने देखिएको छ ।
टिप्पणीहरू