गणेशमानले श्री ३ महाराजलाई घोचपेच गरेपछि…

गणेशमानले श्री ३ महाराजलाई घोचपेच गरेपछि…

– नरेन्द्रजंग पिटर

हिन्दी फिल्म चित्रपटमा हसरत जयपुरी लिखित आशा भोंस्लेले गाएको गीत यस्तो छ :

पर्दे में रहने दो पर्दा ना उठाओ
पर्दे में रहने दो पर्दा ना उठाओ
पर्दा जो उठ गयातो भेद खुल जाएगा ।

चुनाव सकियो, पर्दा खोल्यें । गणतन्त्र दिवस मनाइयो, बजेट पेश भयो, वर्षदिन अवरूद्ध संसद् खुल्यो, स्वतन्त्र उम्मेदवारले दललाई पराजित गरे, आयाराम र गयाराम जिल्लाराम भए । ‘कम्युनिष्ट’हरु अहंकारले फुटे । लाल, नीला र पहेंला मण्डले छुट्याउन गाह्रो भो, फेरि नानीमैयाँलाई काठमाण्डुले सम्झियो । सबैसँग औचित्य सावित गर्ने तर्क हुन्छन्, तर्क उमार्ने रागदरवारी हुन्छन् ।

मान्छेलाई मानवबाट भीडमा फेर्ने अभ्यास चालु छ । भक्तराम फेरि सोच्दैन, प्रभुवाणी शिरोधार्य गर्छ । गुटाधिपतिको हुकुम भयो– हामी सबै पार्टी जनका महाप्रभु त उहाँ नै हुनुहुन्छ, तर शक्तिशाली भगवानसम्म पुग्ने ढोकापाले त मै हुँ, तिम्रो पहिलो ईश्वर मै हुँ । भगवान्का अवतार हुन्छन्, अल्लाह र गडसम्म पैगम्बरमार्फत पुगिन्छ ।

गणतन्त्र बहसकै कुरा गर्दा हुने, गर्नेरुपमा देखिने र बोल्नेलाई जनमतले सूक्ष्मरुपमा नियालिरहेका हुन्छन् । नियत प्रष्टिने परिणाममा हो । समाजशास्त्र, मनोविज्ञान र राजनीतिमा दुई–दुई जोड्दा अंकगणितझैँ चार हुँदैन, कहिले पाँच हुन्छ कहिले तीन हुन्छ । राजनीति रंगशालाको खेल पनि हैन । यहाँ कुनै नियम लाग्दैन, रेफ्री हुँदैनन् । कुनै हरियो, पहेँलो र रातो कार्ड दिइँदैन । फल्स खेल्दा, धोका दिँदा महान् ठहरिन्छ । नैतिकता बजारमा लिलाम हुन्छन् । कुन बेला ब्रुटसले तरबार उठाउने हो, सिजरलाई थाहा हुँदैन ।

यौन उन्मादमा रहेको प्रेमीलाई सत्ताभोगी क्लियोपात्राले हलाहल विष प्याला कहिले पियाउने हुन् कामातुरले पत्तै पाउँदैन । धोका दिने वा अन्तरघात गर्ने विश्वासपात्रले नै हो, दुश्मनसँग त सबै सजग हुन्छन् । आफ्नु भनिएको कुन बेला चिप्लिने हो कसैलाई पत्तै हुँदैन । राजनीतिको सिँढी चढ्ने उम्दा हतियार अन्तरघात हो । तर, भक्तिरामको भाग्यमा सदा कजिने मात्र लेखिएको हुन्छ ।

जसले सिँगौरी खेल्छ, नत्रभने भनेर शक्ति वा मूल नेतृत्वलाई धम्क्याउँछ, शक्ति केन्द्रको कमजोरीका नसो पत्ता लगाएर आक्रमण गर्छ र त्यसैको फलिफाप हुन्छ । स्थानीय चुनावमा पार्टी भित्रका गुट र नत्र भनेका अभ्यास नियाले पुग्छ । शास्त्रीय कुराले सिद्धान्तका बात मार्न त अच्छा हुन्छ तर व्यवहारमा भने लागू हुँदैन । चाणक्य, मेकियाबेली मात्र पढेर हुँदैन अहिले चीनमा फेरि सुनजु र कन्फेसियसभन्दा पनि हान फेई उधृत गर्न थालिएका छन् ।

मौन बदला र सदनका कुरा

सुटुक्क कोखामा छुरा हान्ने मौका ढुकेर बसेको हुन्छ र अक्करमा ठक्कर दिन्छ । अध्यक्ष केपी ओलीले पोखरामा मेरा कुरा बुझ्ने नेपालमा बुद्धिजीवी नै छैनन् भने । हरेक पाइण्टबाबुले आफूलाई बुद्धिजीवी मात्रै हैन महाज्ञानी व्यास नै सोच्छन् । स्वार्थका लागि प्रत्यक्षमा विवेक बन्धकी राखे पनि एकान्तमा भने स्वत्व जागृत हुन्छ । त्यो समूहले विज्ञान, आविष्कारका इतिहास, पुरातत्व, अवैज्ञानिक कुरा सुन्दै आएको थियो, उट्पट्याङ कुरालाई केहीले मात्रै प्रतिवाद गर्थे ।

कार्यकर्ताले ओलीका ‘शिवजीले मानौं पहाडबाट फलाम निकालेर हतियार बनाउनु भो, रामको जन्म अयोध्यामा भएको थियो, रामका पिता नेमीले मेसोपेटामियाबाट पांग्रा ल्याएर दसवटा रथ बनाएपछि दशरथ नाम रह्यो, कोरोना भगाउने उपाय, राष्ट्रवादका कुरा, जातीय घृणा, संसद्को मर्यादा, लहडी निर्णय’ सबै सुन्दै, देख्दै र हेर्दै आएका थिए ।

तिघ्रा ठटाएका थिए । जागृत समूहले भने पुरातत्वविद्ले प्रयोग गर्ने कार्बन १४ र डिएनए प्रविधिलाई ध्यान दिने नै भयो, हित्तीजातिले मिश्रमा आविस्कार गरेर २ हजार वर्ष गोप्य राखेका फलाम गाल्ने प्रविधिलाई ध्यान दिए, मेसोपोटामियाको ४२ सय वर्ष पहिला र राम दशरथ काललाइपांग्रासँग जोडेर अध्ययन गर्न थाले । अझ महाधिवेशन थलो चितवन र राम जन्मथलो त प्रचण्डको प्रतिक्रिया मात्र बन्यो । बुद्धिजीवीले महानगरमा मत नदिएर एमालेलाई त्यसको जवाफ दिए । ओलीको सक्कली वैचारिक, साँस्कृतिक र चेतका उत्तराधिकारी केशव स्थापित विस्थापित भए ।

राष्ट्रपतिको भाषण अवरूद्ध गर्न भावनात्मक रूपमा पनि उचित नभएकाले बन्द सदन वर्षदिनपछि बिनाकुनै तर्क, सम्झौता गरेर खुलाइँदा सरकार मख्ख छ । स्थानीय चुनावले अहंकारको उन्मादमा लगाम लगाएपछि सुचारू भएको छ । जुन देशमा सदनले आफ्नो गरिमामय भूमिका भुलेर कार्यकारीको मनमौजी चरित्र अनुमोदन गर्छ, त्यहाँ संविधान र व्यवस्थाको कुनै अर्थ रहँदैन ।

कुरा अन्तरघातका  :

चित्त बुझाउने अनेकौं तरिका हुन्छन् । आफूलाई सत्य सावित गर्ने धेरै बहाना पाइन्छन् । भक्तिरामलाई आवेगी भक्त त बनाउनै प¥यो । आश र त्रासका दुई हतियारमा साँध लगाउनै पर्छ । हितअनुसार तर्क उत्पादन गर्न सकिन्छ ! मन बुझाउन नक्कली शत्रु बनाएर, उसलाई गाली गर्दै मन सुख होइन्छ । चुनावपछि धाँधली, अन्तरघात, विश्वासघात, सत्ता, शक्ति र पैसो प्रयोग भयो भन्ने सबभन्दा सजिलो आरोप । कसैलाई दसी प्रमाण पेश गर्नु पर्दैन, आफ्नो असफलता ढाक्ने उम्दा उपाय । तर, मान्छे अनौठो प्राणी हो, ऊसँग उन्नत दिमाग भएर सोचिदिन्छ । कार्यकर्ताको उन्माद र भक्तजनको भक्ति बचाइराख्न अहंकारीलाई भने अत्यन्तै सकस हुन्छ ।

पूर्व एकताकेन्द्र र पूर्व माओवादीको टसलले मधेसका १० र घोराही गुमाउन पुग्यो भने माडीमा स्वत्वको टकराहटका परिणाम देखिए । बर्दियाको बारबर्दियामा भने पूर्वमाओवादीभित्रकै गुटका टसल सतहमा प्रकट भए । त्यसको असरबाट जिल्ला जोगिन सकेन । कांग्रेसका अन्तरविरोध र स्वतन्त्र त समयको घर्कनसँगै घरवापसी होला तर ‘कम्युनिष्ट’का तुषले भने उनैलाई ध्वस्त गरिरहन्छ ।

इपी सेन्टर चितवन

पूर्वीचितवन मेरो महानजनविश्वविद्यालय हो । प्रत्यक्षपरोक्ष जे, जे उद्देश्य, नियत, खेल भए पनि चुनावी इपिसेन्टर बनेको भरतपुरको सक्कली कांग्रेसी मत माओवादी प्रतिक्रियामा एमालेतिर जान्थ्यो, अहिले त्यो जगन्नाथजीमा केन्द्रित हुँदा रेणु दाहालको अवस्था विजयमा फेरियो । जगन्नाथजी सिद्धान्तको रक्षामा थिए कि प्रायोजनमा † अध्ययनको विषय छ । स्वतन्त्रभित्रका दाउपेच र क्याल्कुलेटरले निकाल्ने हिसाबकिताब गजबको हुन्छ । खेल देखिन्छ, प्रायोजक देखिँदैनन्। कसले कसलाई उचाल्यो, खर्चको हिसाबकिताब हुँदैन ।

के चितवनमा कृष्णभक्त पोखरेलले अपमानको बदला लिए ? के दशबुदेँ पक्षधरको आफ्नै निर्णयमा नटिक्ने सुरेन्द्र पाण्डेलाई राप्तीको जनमतले जवाफ दिएको हो ? सीता पौड्याल, जगन्नाथ थपलिया र दावा लामाले कसरी किल्ला बचाउन सकेनन् ? सूर्यमा हक र भावना जोडिएको भए पनि प्राविधिक रूपमा एमाले त अब माधवजीहरूको रहेन तर चितवनको राप्ती, पोखरा र हेटाँैडाले दिएको सन्देश पर्गेल्न ओलीजीहरूलाई महँगो पर्नेछ ।

पार्टी फुटको पुर्ताल एमालेलाई नयाँ एमाले बनेका पूर्वमाओवादी बादलजीहरूले गर्न सक्दैनन् भन्ने सन्देश चितवनले झन् दिएको छ । थापाजीहरूको राजनीतिक भविष्यमा स्थानीय चुनावले बादल मडारिएको छ । राजधानीमात्रै हैन, पश्चिमको लालकिल्ला पोखरा, बुटवल र पूर्वको पेकिङ धरानले दिएको शिक्षा के हो ?

अहंकारी महाराज

इतिहासको अहंकारी महाराजको सम्झना आउँछ । २००४ फागुन १८ गतेका दिन पद्मसमशेर औषधोपचार गर्न भारततर्फ लागेर उतैबाट राजीनामा दिएपछि श्री ३ महाराज बनेका मोहनसमशेर राणा ७ साल कात्तिक २६ गतेदेखि नै एकैपटक ३ वटा रेडियो बिबिसी, अल इण्डिया, भ्वाइस अफ अमेरिका लगाइरहेका हुन्थे । रक्सौलबाट आउने पत्रिका कसैगरी पनि रातोरात पु¥याउन हजुरियालाई हुकुम थियो ।

मंसिर १ गते साँझसम्म त अचाक्ली भएछ । एकाएक महाराजको रिसको पारा चढेछ । बजिरहेका ३ वटै रेडियोलाई लात्तीले हानेर फुटाएछन्, आइन्दा पत्रिका नल्याउने हुकुम भएछ । अहंकारले समयको गति खुट्याउन सक्दैन । फागुन ७ गते श्री ३ को श्रीपेच फुक्लेर प्रधानमन्त्री बनेका मोहनलाई क्याबिनेटमा मन्त्री गणेशमान सिंहले– ‘अब ट माइला डाइ… हामी ट समान भयौँ है’ भनेर एकै सोफामा बसेपछि महाराजको अहंकारमा चोट लागेर राजीनामा गरे ।

अन्त्यमा, अझ इन्फियरिटी कम्प्लेक्सले पैदा गरेको सुपेरियरिटी कम्प्लेक्सिटीको अहंकारको सीमा र समस्या भनी साध्यै हुँदैन । यो चुनावले सो अवस्थामा क–कसलाई थाहा नभए पनि कांग्रेसको मैमत्त त देखिने नै भयो । ‘कम्युनिष्ट’ फुटको महाउत्सव सुरु भइसक्यो, अझ विप्लवको हाल देख्दा ।

निर्णयात्मक क्षणमा धरमर गर्ने र अडानमा नरहनेले जतिसुकै लोकप्रिय कुरा तर्कसहित राखे पनि जनमतले फेरि पत्याउँदैन, सोहीअवस्था एमालेका दशबुँदे कमरेडहरूलाई परेको छ । विजयका त सबै पिता बन्छन्, पराजयका कोही अंशियार हुँदैनन् अवसरवादी उछिट्टिन्छन्, पतनको बाटो छिटो हिँडिन्छ । भर त आफन्तमा परिन्छ, तर शक्तिआफू नभए पृथ्वी पनि घुम्दैन, घुम्दा पनि उसलाई औधी कठिन परेको होला भनेर बखानिन्छ ।

टिप्पणीहरू