इम्बोइस्ड नम्बर उताको कस्तो,यताको कस्तो ?
सवारी साधनमा इम्बोइस्ड नम्बर राख्न प्रदेश सरकार मातहतको यातायात कार्यालयले कडा सूचना जारी गरेपछि थप विवाद उत्पन्न भएको छ ।
यसअघि संघीय सरकार मातहतको यातायात व्यवस्था कार्यालयले जारी गरेको र आंशिक कार्यान्वयनमा ल्याएको अनिवार्य इम्बोइस्ड नम्बर प्लेटको व्यवस्था अदालतका कारण रोकिएको थियो ।
सरकारका अधिकांश निकायले इम्बोइस्ड नम्बर अंग्रेजी भाषामा मात्र छाप्न मिल्ने अडान लिएपछि केही पहिले नेपाल प्रज्ञा प्रतिष्ठानले त्यसप्रति गम्भीर आपत्ति जनाएको थियो । भाषाविद्, प्राविधिकहरुले पनि सरकारी अडानको तीब्र बिरोध गरेका हुुन् ।
अहिले एकाएक आगामी साउन १ गतेदेखि सवारी साधनमा इम्बोइस्ड नम्बर अनिवार्य नराखे कारवाही गर्ने सूचना जारी भएपछि त्यसबारे विभिन्न टिकाटिप्पणी भएका हुन् । विश्वका धेरै मुलुकमा आफ्नै भाषामा इम्बोइस्ड नम्बर प्लेटको प्रचलन हुँदा हुँदै पनि नेपालमा अंग्रेजी भाषाबाहेक निषेध गर्नुलाई कमिशनसँग जोडेर हेरिएको छ ।
भाषाविद्लगायत अधिकांश सवारी साधनका मालिक र सर्वसाधारणले मुलुकभित्रका सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरीमा नै हुनुपर्ने बताएका छन् । उनीहरुले सडक सुरक्षा र चुस्त नियमको लागि पनि आफ्नै भाषामा नम्बर प्लेट हुँदै आएको व्यवस्थालाई प्रविधिले विस्थापन गर्न नसक्ने दाबी गरेका छन् ।
त्यसो भए, नेपाली मुद्रालगायत मुलुकको विशिष्ट पहिचान हुने वस्तु र सेवामा अंग्रेजी वा अन्य भाषा प्रयोग गर्नुले हाम्रो क्षमता र परनिर्भरतालाई उजागर गर्ने उनीहरुको विश्वास छ । इम्बोइस्ड प्रविधि भनेको फोटोकपीको एउटा रुप हो । त्यसलाई जुन भाषा वा आकारमा छापियो,त्यहि हुन्छ । देवनागरीमा इम्बोइस्ड नम्बर प्लेट हुनै सक्दैन भन्ने होइन ।
उदाहरणको लागि बंगलादेशमा त्यहिँको भाषा बाङ्लामा इम्बोइस्ड बनाइएको छ । उता, उत्तरी चीनका पचासौं करोड सवारी साधनमा उनीहरुको भाषा प्रयोग गरिएको छ । भलै त्यहाँ अक्षर चिनियाँ र अंक अंग्रेजी राखिन्छ ।
त्यसैगरी रुसमा रुसी भाषामा,अरब मुलुकहरुमा अरबी भाषामा नै इम्बोइस्ड नम्बर प्लेट छापेर प्रचलनमा ल्याइएको छ । ‘हाम्रोमा मात्र किन नमिल्ने ?,’ अधिकांशको प्रश्न छ ।
टिप्पणीहरू