अछाममा १५ वर्षे बालकको शव फेला,प्रहरीमाथि गम्भीर आरोप

अछाममा १५ वर्षे बालकको शव फेला,प्रहरीमाथि गम्भीर आरोप

अछामको पञ्चदेव विनायकमा गत मंगलबार राति भएको घटनापछि बेपत्ता १५ वर्षे बालकको शव फेला परेको छ । डिएसपी रविराज थपलियाको कमाण्डमा खटिएको टोलीले महिला र बालबालिकामाथि पेलेपछि बेपत्ता भएका विनोद शाहीको शव आज फेला परेको हो ।

पञ्चदेवल विनायक नपा ४ मा डिएसपी थपलिया नेतृत्वको टोली अपरेशनमा गएलगत्तै बालक बेपत्ता भएका थिए । उनको शव आज बिहान १० बजे फेला परेको हो ।

स्थानीय कुच्चीका बासिन्दाले मध्यरात प्रहरीले दमन गरेको बताएका छन् । स्थानीयको घरभित्र छिरेर प्रहरीले गभर्वती महिलादेखि बालबालिकासम्मलाई कुटपिट गरेको भिडियो र फोटो भाइरल भइसकेको छ ।

नगर प्रशासनले डिएसपीसहितको टोली परिचालन गरी राति १२ बजे आफूहरूमाथि हातपात गरेको स्थानीयको गुनासो छ । गाउँमा केही युवाबीच सामान्य विवाद हुँदा नगर प्रशासनले प्रहरी लगाएर युवा, बालबालिका र महिलालाई कुट्न लगाएको उनीहरुको आरोप छ ।

गत स्थानीय तहको निर्वाचनदेखि नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडपहरु भइरहेका थिए । निर्वाचनमा काँग्रेसले विपक्षी मतदाताको नाममा मत हाल्न खोजेपछि हेल्थ पोष्टमा रहेका दुईवटा बुथमा उनीहरुबीच कुटाकुट भएको थियो । उक्त झडपमा एमालेका केही कार्यकर्ता घाइतेसमेत भए । त्यही घटनाबाट काँग्रेस र एमालेबीच कालिकास्थानमा द्वन्द्व शुरु भएको बताइन्छ ।

काँग्रेस पक्षले एमालेलाई भोट दिएको भन्दै गाउँलेहरुलाई धम्काउने, गालीगलौज गर्ने र बाटो घाटोमा हिँडडुल गर्नसमेत रोग लगाउने जस्ता अमानवीय व्यवहार गर्दै आएको एमाले नगर कमिटी सदस्य बखतबहादुर शाहीले गुनासो गरेका थिए । वडाध्यक्षमा काँग्रेसका हर्कबहादुर बडुवालसँग ११७ भोटले पराजित शाहीले काँग्रेसले जिल्ला बाहिरका व्यक्तिलाई गाउँमा ल्याएर आफूहरुलाई तर्साउने काम गरेको बताउँदै आएका हुन् ।

काँग्रेसबाट निर्वाचित नगरप्रमुख अम्बिका चलाउनेले प्रहरी बोलाएर निर्दोष व्यक्तिलाई कुट्न लगाएको बताउँदै उनले भने, ‘चुनावको विषयमा हाम्रा साथीहरुको तर्फबाट गाउँमा सामान्य झगडा भएको हो । त्यस्तो अप्रिय घटना केही पनि भएको थिएन । तर, राति एकाएक घरमा प्रहरी आएर गर्भवती महिला, बालबालिका र युवाहरुमाथि अमानवीय ज्यादती गर्यो ।’

उनका अनुसार प्रहरीको कुटिपटबाट विनोद शाही,निराजन शाही,देवेन्द्र शाही,हिक्मत शाही,छत्र शाही, कमक शाही,जानकी शाही,हस्तना शाही,निलम शाही,गंगा शाहीलगायत घाइते भएका थिए । तर,विनोद हराइरहेका थिए । आज उनैको शव फेला परेको हो ।

प्रहरी प्रशासनमा काँग्रेसको दादागिरीविरुद्ध आफूले दिएका तीन वटा उजुरीको कुनै सुनुवाइ नगरी काँग्रेस र काँग्रेसबाट मेयर जितेकी अम्बिका चलाउने तथा पूर्व वडाध्यक्ष सज्जन शाहीसँगको मिलेमतोमा मध्यराति प्रहरीले आफूहरुमाथि ज्यादती गरेको नगर सचिव शाहीले गुनासो गर्दै आएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाही पक्राउ परेको बताइएको थियो । अन्य छ जनाको खोजी कार्य भइरहेको डिएसपीले जानकारी दिएका थिए । फरार भनिएका कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही,भर्द शाही,विनोद शाही र राजेन्द्र शाहीमध्ये विनोदको शव फेला परेको हो ।

टिप्पणीहरू