मेयर र उपमेयरहरु अझै अबिर जात्रामा व्यस्त
स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज तीन साता पुगेको छ । अन्तिम परिणामपछि पदभार ग्रहण गरेको पनि अधिकांश पालिकामा दुई साता हुन लागेको छ ।
धरानका मेयर हर्कराज राईले भोलिपल्टै पानीको मुहानमा गएर मेयरको कामको थालनी गरेका थिए ।
तर नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाका मेयर,उपमेयर र अन्य सदस्यहरु आज पनि अबिर यात्रामा छन् । उनीहरुले नगरपालिकाको भैरुमकोट डाँडामा पुगेर अबिर र खादा लगाएका हुन् ।
स्थानीयको आवश्यकताअनुसारको काममा सक्रिय हुनुपर्ने जनप्रतिनिधिहरु हप्तौंसम्म अबिर दल्न ब्यस्त भएपछि जनताले आश गर्ने ठाउँ खुम्चने गुनासो छ । मेयर र उपमेयरसँगै थुप्रै स्थानीय नेता र कार्यकर्ता पनि अबिर दल्ने कार्यक्रममा सहभागी भएका छन् ।
विदुरको मेयरमा नेपाली काँग्रेसका राजन श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएका हुन् ।
उपमेयर बोगटीले आजको अबिर जात्रालाई सामाजिक सञ्जालमा शनिवारको सदुपयोग भनेकी छन् ।


टिप्पणीहरू