कृष्णले लोभ गर्ने, निर्मलाचाहिँ भागी हिँड्ने

कृष्णले लोभ गर्ने, निर्मलाचाहिँ भागी हिँड्ने

जात फाल्नु गहतको झोलमा भनेजस्तो, सचिवजस्तो विशिष्ट श्रेणीको पदबाट रिटायर्ड भएको, सूचना आयोगसमेत ६ वर्ष हाँकिसकेको मान्छेले मामुली एक/दुई हजार रूपैयाँमा किन लोभ देखाएका होलान् ? सचिवहरूले २ ग्रेडसहित सोहीअनुसार पेन्सन लिँदै आएका भए पनि पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने ०७१ सालदेखि नै थप चार ग्रेड सुविधा लिइरहेको पाइएको छ ।

१ ग्रेड सुविधा भनेको १ दिनको तलब बराबर हो । आगामी साउनबाट सचिवहरूले १५ प्रतिशत (९ हजार ४०२ रूपैयाँ) वृद्धिसहित ७२ हजार ८२ रूपैयाँ मासिक बुझ्नेछन् । यो हिसाबले सचिवहरूको दुई ग्रेड थप सुविधा पाउँदा ४८०६ रूपैयाँ तलबमा थपिने हुन्छ । बाँस्कोटाले भने चार ग्रेड सुविधा लिइरहेको निजामती किताबखानाको ढड्डाबाट पुष्टि भएको छ ।

लीलामणि पौडेलजस्ता सदाचारी मुख्यसचिव हुँदा २३ जना कर्मचारीलाई २ ग्रेड थपेर चार ग्रेड दिइएको निजामती किताबखानाले जनाएको छ । सो निर्णयबाट राज्यकोषलाई वार्षिक झण्डै ६ लाख रूपैयाँ घाटा लागेको छ । ‘एउटै पद र सेवाबाट अवकाश पाएका कोही विशिष्ट श्रेणीका कर्मचारीले चार ग्रेड थप लिइरहेका छन् त कोही दुई ग्रेडमै चित्त बुझाइरहेका छन् । यो त पद विशिष्ट, काम अशिष्ट भएन र ?’ एक जना पूर्व प्रशासकको प्रश्न हो यो ।

अनुपराज शर्मा, युवराज खतिवडा, केशव बराल, नवीन घिमिरे, दीप बस्न्यात, सावित्री थापा गुरुङ, राजनारायण पाठक, कयोदेवी यमी, गोविन्दप्रसाद कुसुम, ब्रिन्दा हाडा, अयोधीप्रसाद यादव, ताना गौतमजस्ता व्यक्तिले दोहोरो सुविधा लिइरहँदा सबैभन्दा पहिला दोहोरो सुविधा त्यागेको घोषणा गर्ने बाँस्कोटाले किन दुई हजार रूपैयाँमा जात फालेका होलान् ? ती पूर्व सचिवले प्रश्न गरेका छन् ।

जतिखेर रेखा शर्मा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिइन् उनले क्याबिनेटबाटै दोहोरो सेवा–सुविधा बुझ्ने पदाधिकारीमाथि अंकुश लगाउने प्रस्ताव लैजाँदै गर्दा त्यतिखेर सूचना आयोगमा रहेका बाँस्कोटाले सबैभन्दा पहिला त्यागेको घोषणा गरेका थिए ।

निवृत्तिभरण (पेन्सन) पनि कस्तो भने अवकाश पाएको एउटै पदबाट तर कोही झण्डै मासिक ५० हजार हाराहारी पेन्सन थाप्छन् त कोही ३४ हजारमै चित्त बुझाउँछन् । अस्ति ४ जेठमा मात्र अवकाश पाएका देवेन्द्र कार्कीले मासिक ३४ हजार ३८५ रूपैयाँ पेन्सन बुझ्छन् । केही अघि रिटायर्ड भई हालै राप्रपामा प्रवेश गरेका केदार न्यौपानेले ४७ हजार हाराहारी थाप्छन् ।

अर्काेतिर यही मुलुक हो जहाँ सहसचिवमै रिटायर्ड हुने व्यक्तिलाई २४ घण्टाको लागि मात्र सचिव बनाएर पेन्सन बढाइन्छ । यहीँ श्रीगणेश, कुमारी, भैरवले समेत मासिक पेन्सन पाउँछन् तर निजामती सेवामा लागेर झण्डै दुई दशक समय व्यतित गरेका एक जना सचिवले ‘शक्तिकेन्द्र’ देब्रे हुँदा पेन्सनविहीन अवस्थामा घर फर्कनुपरेको छ ।

उनी हुन् दीपेन्द्रविक्रम थापा निजामती सेवातर्फ कम्तीमा २० वर्ष पार गरेपछि मात्र पेन्सन पाइन्छ । उनले भने, सिधै सहसचिवमा नाम निकाले । थप पाँच वर्ष सचिव चलाए । सेवा हद लागेर घर फर्कंदा निजामती सेवामा प्रवेश गरेको १७ वर्ष मात्र पूरा भएको थियो ।

सचिव बनिएला भनेर जो भागिरहेछन्

सिंहदरबारभित्र कोही यस्ता कर्मचारी पनि छन्, सचिव हुनुपर्ला भनेर तर्की तर्की हिँडेका । न्याय सेवाकी सिनियर कर्मचारी निर्मलादेवी लामिछाने तर अहिले सचिव हुनुपर्ला भनेर तर्किएकी छन् । दश वर्ष लामो शिक्षण पेशाबाट निजामतीमा फड्को हानेकी उनले सेक्सन अफिसरमा चार ठाउँ नाम निकालिन् ।

उपसचिवमा तीन ठाउँ र सहसचिव हुँदा दुई ठाउँ । नाम जति ठाउँमा निकाले पनि जागिर खाने त एकैतिर हो । पछिल्लो समय कानुन मन्त्रालयको अन्तर्राष्ट्रिय कानुन तथा सन्धि–सम्झौता, तर्जुमा महाशाखामा कार्यरत छिन् ।

सचिव हुने लाइनमा छिन् तर सचिव भएर फाइदा छैन । सचिवमा नियुक्ति भएको पाँच वर्षपछि सेवा हद लागेर अनिवार्य घर जानुपर्छ । त्यसो हुँदा पेन्सनविहीन हुनुपर्ने डर, छ कारण उनको हकमा पनि दीपेन्द्रविक्रम थापाकोझैँ नियति दोहोरिनेछ ।

टिप्पणीहरू