कहिले भित्रिँदैछ नेपालमा मनसुन
नेपालमा अबको केही दिनभित्रै मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै पूर्वी भेगको मेची आसपास क्षेत्रबाट मनसुन शुरु हुनेछ ।
नेपालमा अहिले प्रि–मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिसन फेजमा रहेको र अबको दुई/चार दिनभित्रै मनसुन भित्रिने भट्टराईले बताए । प्रदेश नम्बर १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको पनि विभागले जनाएको छ ।
नेपालमा सामान्यतया: १० जुनमा मनसुन प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।
उक्त समय नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १,मधेस,बागमती र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
टिप्पणीहरू