आफूले राजीनामा माग्दा ठीक,अरुले माग्दा बेठीक

आफूले राजीनामा माग्दा ठीक,अरुले माग्दा बेठीक

स्थानीय तह निर्वाचनमा अपेक्षित जित हात पार्न नसकेपछि अन्तरकलहमा रुमल्लिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेमा आन्तरिक विवाद चर्को छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निर्देशनमा एमाले अनुशासन आयोगले पूर्वमन्त्री तथा तत्कालीन उपमहासचिव घनश्याम भुसालमाथि कारवाही प्रक्रिया शुरु गरेपछि भित्रभित्रै गुम्सिएर रहेको विवाद भुसको आगोझैँ फैलिएको हो ।

अध्यक्ष ओलीसहितका केही शीर्ष नेताले अन्तर्घातका कारण चुनाव हारेको सार्वजनिक टिप्पणी गरेपछि शुरु भएको विवाद कारवाहीको तहसम्म पुगेको हो । यसैलाई लिएर तल्लो तहका कार्यकर्ताहरु कुटाकुटमा समेत उत्रिन थालेका छन् । भुसाललाई भने अध्यक्ष ओलीको आलोचना गरेको आरोपमा स्पष्टीकरण सोध्न लागिएको हो । शुक्रबार बसेको अनुशासन आयोगको बैठकले अध्यक्षको आलोचना गरेको भन्दै भुसाललाई स्पष्टीकरण सोध्न केन्द्रीय समितिलाई निर्देशन दिएको र सोसम्बन्धी लिखित निर्णय अध्यक्षलाई बुझाइसकेको अवस्था छ ।

नेता भुसालले केही दिनअघि पार्टी पराजयको नैतिक जिम्मा अध्यक्ष ओलीले लिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । एक टेलिभिजन अन्तर्वार्तामा उहाँले ओलीले लिएका नीति र कार्यशैलीलाई पार्टी हारको कारण दाबी गर्दै राजीनामा दिएर वाम सहकार्यको पहल लिन सुझाउनु भएको थियो । पार्टीलाई सामूहिक नेतृत्व प्रणालीका आधारमा चलाउनुपर्नेमा त्यसविपरित ओलीले एकलौटी गरेकाले जस-अपजस पनि उहाँले नै लिनुपर्ने भुसालको तर्क थियो ।

“अहिले भुसालले सामान्य नैतिकताको प्रश्न गर्दा अनुशासनको डण्डा लगाउने ओलीले त्यतिबेला खनाललाई नैतिकताकै प्रश्न उठाएर सरकार छोडिहाल्न चेतावनी दिनुभएको थियो ।”

हुन पनि एमाले सम्पूर्णरुपमा ओलीमा केन्द्रित भएर चुनावमा होमिएको हो । टिकट वितरणदेखि देशव्यापी चुनावी अभियानमा ओलीको एकल दबदबा देखिन्थ्यो । शीर्ष नेताहरुले नै ‘ओली क्रेज’ लाई चुनाव जित्ने आधार भनेका थिए । तर,परिणाम त्यसअनुसार आएन । उल्टै अघिल्लो चुनावमा भन्दा झन्डै एक सय कम सिट जितेर एमाले पहिलोबाट दोस्रो पार्टीमा खुम्चिनु पर्यो । भुसाल निकट नेताहरु ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’ मा चल्नुपर्ने कम्युनिष्ट पार्टीमा एकजना व्यक्ति हावी हुँदा परिणाम प्रतिकूल आएकाले त्यसको जिम्मा अध्यक्षले लिनुपर्ने आशयका साथ त्यस्तो अभिव्यक्ति आएको बताउँछन् ।

त्यसो त, कम्युनिष्ट पार्टीमा संघर्ष, रुपान्तरण र एकताका कुरा गरिन्छ । ठुल्ठूला गल्ति कमजोरीहरु पनि आलोचना,आत्मालोचना र रुपान्तरणको प्रक्रियाद्वारा हल गर्ने विधि बनाइएको हुन्छ । जनवादी केन्द्रीयताको आधारमा अनुशासनको पालना गरेर कामकार्वाही हुनुपर्ने मान्यता राखिन्छ । तर, माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएपछि एमालेमा अध्यक्षले जे भन्यो त्यहि पार्टीको निर्णय हुने पद्धति विकास भैरहेको आरोप छ । जनताको बहुदलीय जनवादमा विश्वास गर्ने पार्टीमा आन्तरिक जनवादको अभ्यास पूरै निस्तेज पारिएको गुनासो गर्नेहरु पनि छन् । अध्यक्ष ओलीमाथि फरक विचार राख्ने घनश्यामहरुप्रति चरम असहिष्णु बन्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

त्यस्ता आरोप लगाउनेहरु के भन्छन् भने ओली पार्टीमा प्रतिपक्षी भूमिकामा हुँदा कहिले पनि संस्थापनलाई सहयोग गर्नुभएन । पार्टी पध्दतिअनुसार आफ्ना असहमतिलाई कमिटीमा राखेर छलफल गर्ने सांगठानिक मान्यतामा ओलीले कहिल्यै पनि विश्वास नगरेको बताइन्छ । तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको त उहाँले सार्वजनिक मन्चबाटै राजीनामासमेत माग्नुभएको थियो ।

अहिले भुसालले सामान्य नैतिकताको प्रश्न गर्दा अनुशासनको डण्डा लगाउने ओलीले त्यतिबेला खनाललाई नैतिकताकै प्रश्न उठाएर सरकार छोडिहाल्न चेतावनी दिनुभएको थियो । काठमाडौँमा आफूनिकट पत्रकारहरुलाई भेला गरेर उहाँले खनाल नेतृत्वको सरकार असफल भैसकेकाले धन्यवादसहित बिदाइ गर्नुपर्ने कटाक्ष गर्नुभएको हो । खनालको सरकारले राष्ट्रिय सहमति कायम गर्न नसकेको तथा शान्ति र संविधान निर्माणको कार्य अगाडि बढाउन असफल भएकाले एकछिन पनि राख्न नहुने ओलीको भनाइ थियो ।

‘आजको आवश्यकता के बन्यो भने यो असफल भैसकेको सरकार कायम राखिराख्नु आवश्यक छैन । तीन महिना सरकार नामको चिडिया यस हाँगामा बस्यो,जे रस खायो, खाएन छोडिदिउँ । धन्यवाद छ अब कुर्सी खालि गर । राजीनामा गर र राष्ट्रिय सहमतिको सरकार गठनको लागि मार्गप्रशस्त गर’, त्यतिबेला ओलीले भन्नुभएको थियो । ओलीले खनालको राजीनामा मागेको बेला घनश्याम उक्त सरकारमा विना बिभागीय मन्त्री हुनुहुन्थ्यो ।

टिप्पणीहरू