तलव बढेर के गर्नु,महङ्गी झन चर्कियो
इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । पछिल्लो समय आम उपभोक्ताको भान्सामा दैनिकरुपमा प्रयोग हुने तेल,चामल,मसला घ्यूलगायतका उपभोग्य वस्तुको मूल्य बढ्दै गएपछि सर्वसाधारणको भान्सा महंगिएको हो । केही सातादेखि भान्सामा नभई नहुने तेल,चिनी, घ्यूलगायत खाद्यान्नको मूल्य अत्यधिक बढेको छ ।
खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले यो वर्ष सबै उपभोग्य वस्तुको मूल्य बढेको बताए । ‘विगतमा खाध्यान्नको मूल्य बढे पनि तेलको बढ्दैनथ्यो, तेलको मूल्य बढे अन्य वस्तुको नबढ्ने हुन्थ्यो तर अहिले सबैको मूल्य बढेको छ,’ उनले भने, ‘अहिले हेर्ने हो भने दाल, चामल, आटा मैदामात्रै होइन, तेल घ्यू, हर्लिक्स, बिस्कुटको पनि मूल्य बढेको छ, चिया कफीको पनि बढेको छ, मूल्य नबढेको वस्तु नै छैन ।’
उपभोग्य वस्तुको मूल्य यति धेरै वृद्धि हुँदा पनि सरकार बेखबर हुनुले सर्वसाधरणको भान्सा महंगिएको उनको भनाइ छ । नागरिकको भान्सामा नभइ नहुने तेलको मूल्य पछिल्लो एकवर्षमा झण्डै ७० प्रतिशत बढेको छ ।
एक महिनाअघि प्रतिलिटर २२० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य अहिले ३७५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । त्यस्तै भटमासको तेल पनि प्रतिलिटर २२० बाट बढेर ३२० रुपैयाँ, सन्फ्लावर तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँबाट बढेर ३५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, डाल्डा घ्यूको मूल्य प्रतिलिटर १८० बाट बढेर ३२० रुपैयाँ र नेपाली घ्यू प्रतिकिलो ९०० बाट बढेर १२ सय रुपैयाँसम्म पुगेको छ । तेल र घ्यू मात्रै होइन, चामल तथा पिठोको भाउ पनि बढेको छ । वैशाखमा ८५ रुपैयाँ प्रतिकिलो रहेको पोखरेली चामलको मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । ७० रुपैयाँ किलोको स्टिम जिरा मसिनो चामलको मूल्य ५ रुपैँयाले बढेर ७५ पुगेको छ । त्यस्तै, आँटा र मैदाको मूल्य पनि पाँच रुपैयाँले बढेको छ ।
बास्मती चामल १४० रुपैयाँ प्रतिकिलोबाट बढेर अहिले १४५ पुगेको छ । टाइचिन चामलको मूल्य एक महिनाअघि १३० रुपैयाँ प्रतिकिलो रहेकोमा अहिले १४५ पुगेको छ । टाइचिन चिउरा प्रतिकिलो ९० रुपैयाँबाट बढेर १२० रुपैयाँ पुग्दा चामलको पिठोको मूल्य प्रतिकिलो ५० रुपैयाँबाट बढेर ६० रुपैयाँ पुगेको छ । मस्यौरा प्रतिकिलो १२० रुपैयाँबाट बढेर अहिले २२५ छ ।
तेल र खाद्यान्नमात्रै नभएर गेडागुडी तथा दालको मूल्य पनि त्यसरी नै बढेको छ । १५० रुपैयाँ प्रतिकिलो रहेको मसुुरको मूल्य अहिले प्रतिकिलो १७० रुपैयाँ पुगेको छ । रहरको दाल प्रतिकिलो १७० रुपैयाँ प्रतिकिलोबाट १८० रुपैयाँ, सेतो भटमास प्रतिकिलो १०० बाट १४५ रुपैयाँ पुग्दा कैलो भटमास १२० रुपैयाँ प्रतिकिलोबाट १७५ रुपैयाँ प्रतिकिलो र कालो भटमास १६० रुपैयाँ प्रतिकिलोबाट २२० रुपैयाँसम्म पुगेको छ ।
चनाको मूल्य प्रतिकिलो १४० बाट १६५ रुपैयाँ, हरियो केराउ प्रतिकिलो १३० रुपैयाँबाट १४० रुपैयाँ, सेतो केराउ १०० रुपैयाँबाट नै १२५ रुपैयाँ र राजमा प्रतिकिलो १८० रुपैयाँबाट २२० रुपैयाँ पुगेको छ । सेतो सिमी पनि प्रतिकिलो १८० रुपैयाँबाट बढेर २२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चिनी ८५ रुपैयाँबाट बढेर प्रतिकिलो १०० रुपैयाँ, बेसार पाउडर प्रतिकिलो ३०० बाट बढेर ३७५ रुपैयाँ, धनियाँ पाउडर २५० बाट ३५० रुपैयाँ प्रतिकिलो, जिरा पाउडर ५०० रुपैयाँबाट प्रतिकिलो ५५० रुपैयाँ पुग्दा खोरसानी पाउडरको मूल्य पनि प्रतिकिलो ४५० रुपैयाँबाट ५०० रुपैयाँ पुगेको छ ।
नेपाल आयल निगमले पटक-पटक इन्धनको मूल्य बढाकाले खाद्यन्नको भाउ बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपानेले बताए । इन्धनको मूल्य वृद्धिले केही मात्रामा खाद्यन्नमा पनि असर परेको उनले बताइन् ।
‘नेपालमा तत्काल खाद्यन्न अभाव हुने अवस्था छैन, अबको केही दिनमा एक लाख ६० क्युन्टल बराबरको चामल लगायत अन्य खाद्यान्न ल्याउने तयारी छ । हामीले नयाँ योजनाहरुसहित थप खाद्यान्न भित्र्याउने काम गरिरहेका छौं’, उनले भने ।
टिप्पणीहरू