हारेको झोँकमा घनश्यामलाई हिर्काएर हुन्छ र !
स्थानीय तह निर्वाचन हार्नुका पछाडि पार्टीभित्रको अन्तर्घात र सत्ताको धाँधलीलाई प्रमुख कारण देखाइरहेको नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाही प्रक्रिया शुरु गरेको छ ।
अन्तर्घात र धाँधलीका सन्दर्भसंग असम्बन्धित भुसाललाई अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा कारवाही गर्न केशव बडाल प्रमुख रहेको अनुशासन आयोगले अध्यक्षको निर्देशनबमोजिम अध्यक्षलाई सिफारिस पत्र बुझाएको हो ।
अस्ति शुक्रबार बसेको आयोगको सचिवालय बैठकले भुसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीसमक्ष सिफारिस गरेपछि एमाले वृत्त तरंगित भएको छ । अघिल्लो स्थानीय चुनावमा २९६ पालिकाको नेतृत्व जितेर पहिलो पार्टी बनेको एमाले अहिले २०५ पालिकामा खुम्चिएको छ ।
तर, पार्टी विभाजन र पाँचदलीय गठबन्धनका कारण अपेक्षित परिणाम प्राप्त नभएको यथार्थलाई अन्तर्घातको बर्कोले छोपेर फरक विचार राख्नेहरुमाथि कारवाहीको डण्डा चलाउन खोजेको भन्दै एमालेमा असन्तुष्टीका स्वरहरु चर्किन थालेका छन् ।
“नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य हारेका विष्णु रिमाललाई उपमहासचिवमा बढुवा गरेर टंक कार्कीजस्ता पुरानालाई मिल्काइएकै हो ।”
आयोगले भने भुसाललाई पार्टी नेतृत्वविरुध्द बोलेको अभियोगमा कारवाहीका लागि सिफारिस गरेको जनाएको छ । चुनावको परिणाम धमाधम सार्वजनिक भैरहेका बेला नेता भुसालले ओलीले लिएका नीति र कार्यशैलीले पार्टीलाई कमजोर बनाएकाले त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षले नै लिनुपर्ने बताउनुभएको थियो ।
हारको जिम्मेवारी लिएर ओलीले पद छोड्नुपर्ने आशय भुसालको थियो । त्यसैलाई लिएर अनुशासन आयोगले कारवाहीको सिफारिस गरेपछि एमालेपंक्ति तरंगित भएको हो ।
हुन त,एमालेले औपचारिक रुपमा चुनावको समीक्षा गरिसकेको छैन । तर,अध्यक्ष ओलीसहित शीर्ष नेताहरुले अन्तर्घात र धाँधलीलाई पराजयको मुख्य कारण भनेका छन् । ओलीले त जनताको अपार समर्थन हुँदाहुँदै पनि आफ्नै नेताबाट पार्टी जोगाउन चुनौती थपिएको गम्भीर आरोपसमेत लगाउनुभएको छ ।
ओलीको अभिव्यक्ति पराजयपछिको स्वभाविक प्रतिक्रिया हो कि चुनावमा अन्तर्घात भएकै हो ? अध्यक्षको आलोचना गर्नु अन्तत: आफनो राजनीति सिध्याउनु हो भन्ने बुझेका एमालेका अधिकांश नेता यसबारे बाहिर खुलेर बोल्न सक्दैनन् । नाम नखुलाउन भन्दै १० बुँदे पक्षधर एक नेता थप्छन्, ‘एकाध ठाउँमा अन्तर्घात भएको होला, सत्ताको धाँधली पनि भयो होला तर, मूलरुपमा हामीले हारेको आफ्नै कारणले हो ।’
‘एमालेको आफ्नै लिगेसीको कुरा गर्दा साढे ३ वर्ष सत्ता चलाएको पृष्ठभूमिमा त चुनाव हार्नै नहुने हो । ०५१ सालमा कमरेड मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारले गरेको कामको अहिले पनि चर्चा हुन्छ तर यसपटक चर्चायोग्य काम के भयो ? उल्टै संसद विघटनको निर्णयलाई विपक्षीहरुले प्रतिगमन भनेर प्रचार गरे’, अर्का एक नेता भन्छन् ।
चुनावअघि ७० प्रतिशत पालिका जित्ने दाबी गरेकाले अहिले लाज जोगाउन अन्तर्घातका कुरा सुविचारित ढंगले अगाडि ल्याइएको उनको दाबी छ । हरेक वस्तुको विकास र बिनाशमा आन्तरिक कारण नै प्रधान हुने अध्यक्षले पनि बुझेको तर,बाहिर भन्न अप्ठेरो परेको उनको बुझाइ छ । ‘आफ्नै कारण हारेको भन्ने रियलाइजेशन सबैले गरेका छन्,मात्र बिरालोको घाँटीमा घन्टी कसले बाँध्ने भन्ने हो’, उनले थपे ।
प्रधानमन्त्रीका रुपमा ओलीको साढे तीन वर्षे कार्यकाल अनेक काण्ड र विवादमा फसेको अनि जनताको चाहनाअनुसारको काम गर्न नसक्नुको परिणाम चुनावमा देखिएको भन्नेहरु पनि एमालेमै छन् । प्रतिनिधिसभा विघटनको कदमले एमालेलाई थप अलोकप्रिय बनाएको उनीहरुको बुझाइ छ ।
महाधिवेशनपछि पार्टी एकतावध्द हुनुपर्नेमा झन् धाँजा फाटेको र त्यसको स्वभाविक प्रभाव चुनावमा देखिएको एमाले नेताहरु स्वीकार गर्छन् । ‘एमालेको आफ्नै लिगेसीको कुरा गर्दा साढे ३ वर्ष सत्ता चलाएको पृष्ठभूमिमा त चुनाव हार्नै नहुने हो । ०५१ सालमा कमरेड मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारले गरेको कामको अहिले पनि चर्चा हुन्छ तर यसपटक चर्चायोग्य काम के भयो ? उल्टै संसद विघटनको निर्णयलाई विपक्षीहरुले प्रतिगमन भनेर प्रचार गरे’, अर्का एक नेता भन्छन् ।
०७४ को चुनावमा पानीजहाज,रेल र राष्ट्रवादको नारा दिएर लोकप्रिय बनेको एमालेसँग यसचोटी त्यस्तो कुनै आकर्षक नारा पनि थिएन । एमाले नेताहरुले ‘ओली क्रेज’ भन्दै अध्यक्षको अनुहार हेरेरै जनताले भोट खन्याइदिने विश्लेषण गरेका थिए,जुन सम्भव थिएन ।
चुनावी परिणामको स्वतन्त्र विश्लेषण गर्नेहरुले एमालेको दशौँ महाधिवेशनलाई पनि हारको एउटा महत्वपूर्ण फ्याक्टर मानेका छन् । महाधिवेशनमा नीति,विधि र नेतृत्वबारे जसरी बहस हुनुपर्थ्यो त्यसो हुन नसक्दा आपसी अविश्वास बढेको र त्यसले चुनावमा प्रभाव पारेको विश्लेषण उनीहरुको छ ।
कम्युनिष्ट आन्दोलनमा लामो योगदान हुँदाहुँदै पनि फरक विचार राखेकै आधारमा पुराना नेताहरुलाई पाखा पारिँदा अध्यक्षको अन्ध समर्थन गर्नेहरु सिन्को नभाँचेरै पनि एकैचोटी केन्द्रीय समितिमा उक्लिएर नेता बनेका थिए ।
झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं,गायिका कोमल वलीलगायत गैरकम्युनिष्ट पृष्ठभूमिका थुप्रै नवप्रवेशीले केन्द्रीय जिम्मेवारी हात पार्दा झापा आन्दोलनका संस्थापक नरेश खरेलजस्ता पाका र इमान्दार नेता चितवनबाट रित्तोहात फर्किनु परेको थियो । नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य हारेका विष्णु रिमाललाई उपमहासचिवमा बढुवा गरेर टंक कार्कीजस्ता पुरानालाई मिल्काइएकै हो।
अध्यक्षले नवप्रवेशीहरुलाई हातहाती टिकट दिएपछि हेरेको हेर्यै भएका पुराना नेता-कार्यकर्ताको असन्तुष्टी पनि उत्तिकै थियो । अञ्जान शाक्य, शर्मिला पराजुली ढकाल,युवराज खतिवडा,गुरु भट्टराईलगायतले दोहोर्याएर नियुक्ति खाँदा इमान्दार कार्यकर्ता टुलुटुलु हेरेर बस्न बाध्य भएकै हुन् ।
‘यी र यस्ता कारणलाई सहायक मानेर अन्तर्घातको एकतारे बजाउनु भनेको चुनावको सही समीक्षा नगर्नु हो । असन्तुष्ट कार्यकर्ताले स्वतस्फुर्तरुपमा भोट नहालेकै हो भने पनि त्यसलाई अन्तर्घात भन्न मिल्दैन’,आफूलाई बालकोट निकट भन्ने अर्का एमाले नेताले थपे ।
टिप्पणीहरू