कवि, लेखकको रंगिन जीवनकहानी

कवि, लेखकको रंगिन जीवनकहानी

इभान बुनिन साहित्यतर्फ पहिलो नोबेल पुरस्कार बिजेता रुसी हुन् । उनले एउटा उपन्यास, ३ वटा लघुउपन्यास, सयौं लघुकथा र कविता लेखे । सबैभन्दा लोकप्रिय मानियो– लघुउपन्यास ‘गाउँ’ र कथा संग्रह ‘अँध्यारा बाटाहरू’ बेजोडको रह्यो । अनुयायीहरु उनलाई घागडान साहित्यकार लियो टोल्स्टोय र एन्तोन चेखोबले पहिल्याएको रुसी साहित्यमा यथार्थ धारको साहित्य लेखनसम्बन्धी उत्तराधिकारी मान्छन् । यद्यपि, उनी कम्युनिष्ट विचारधाराका विरोधी थिए । बुनिनको साहित्यकाललाई रुसीहरू ‘साहित्यमा रजतकाल’ मान्छन् ।

बुनिनका पुर्खा पोल्याण्डका थिए । सानैदेखि नातेदार कवियत्री अन्ना बुनिना र कवि भासिली झुकोभ्स्कीका कविता पढ्न रुचाउँथे । पछि उनकी आमा ल्युदमिला अलेक्ज्यान्ड्रोभ्नाबाट रुसी लोककथा सुने । र, दाजु युलि बुनिनले मनोविज्ञान, दर्शनशास्त्र, शास्त्रीय साहित्य सिकाए साथै लेखन कार्यमा लाग्न उक्साए । त्यसपछि बुनिन पद्य र गद्य दुवैतिर लागे । बुनिनका पिता एलेक्सी निकोलाइभिच प्रतिष्ठित ब्यक्ति थिए तर जुवाडे पनि ।

एकदिन जुवामा सबै सम्पत्ति हारे । धनीबाट रातारात गरिबीमा झरेपछि आफ्ना छोराछोरीलाई सामूहिक स्कुलमा मात्र पढाउन सके । यसको बावजुद आर्थिक अभावका कारण बुनिनले त्यहाँको शिक्षा पूरा गर्न सकेनन् । उनले रचेको पहिलो कविता थियो, ‘गरिब गाउँलेहरू’ जुन ‘रेडिना पत्रिका’ मा सन् १८९१ मा प्रकाशन भयो । त्यसबेला उनी २१ वर्षका थिए । सन् १८९५ मा पहिलो पटक बुनिन राजधानी मस्को पुगे । त्यहाँ एन्तोन चेखोब, मैक्सिम गोर्की, लियो टोल्स्टोयलगायतसँग उनको भेट भयो । टोल्स्टोयको साहित्य अवैध ढंगबाट वितरण गरेको अपराधमा ३ महिना जेल पनि बसे ।

बुनिन सन् १८८९ मा १९ वर्षका हुँदा आफ्नै सहपाठी भार्भरा पास्चेन्कोसित पहिलोपटक प्रेम बस्यो । पास्चेनेकोका पिता शहरका नामी चिकित्सक थिए । उनीसँग बुनिन र पास्चेन्को दुबै डराउँथे । बुबाकै डरमा पास्चेन्कोले बिहे गर्न नसकिने तर बिहे नगरिकनै सँगै जीवन भने बिताउन सकिने जानकारी बुनिनलाई सुनाइन् । र, दुबैले योजना बनाई पोल्तोभातर्फ भागे । त्यहाँ सँगै बसे, सँगै काम गरे । पास्चेन्को बुनिनभन्दा जेठी थिइन् र कलेजमा पढाउँथिन् तर सन् १८९२ को अन्त्यतिर नपुग्दै उनीहरूबीच मनमुटाव शुरु भयो ।

दिनहुँ झगडा गर्न थाले । पास्चेन्कोले जेठाजु युलीलाई पत्र लेखेर बुनिनलाई सम्झाइदिन आग्रहसमेत गरिन् । यसरी नै २ वर्ष बित्यो । अनायास पास्चेन्को र बुनिनका साथी अभिनेता तथा लेखक एएन बिबिकोभको सम्बन्ध प्रगाढ बन्न थाल्यो । बुनिनले पास्चेन्कोले आफूलाई धोका दिएको महसुस गरे र निरास भई आत्महत्याको कोसिससमेत गरे । धनी जमिन्दारसमेत रहेका उनै बिबिकोभसँग पास्चेन्कोले पछि बिहे नै गरिन् । बुनिनले आफ्नो उपन्यास ‘दि लाइफ अफ आर्सेनियभ’ मा पास्चेन्कोलाई पात्र लिकाको रूपमा प्रस्तुत गरेका छन् ।

सन् १८९८ मा बुनिन अर्का लेखक साथी एएम फेडेरोभसँग मिलेर बस्न थाले । उनै फेडेरोभमार्फत उनको भेट ग्रिक सामाजिक जनवादी राजनीतिज्ञ एनपी त्साक्नेसित भयो । त्साक्ने ‘युझ्नोइ‘ पत्रिकाका सम्पादक–प्रकाशक थिए । उनले बुनिनलाई पत्रिकालाई सघाइदिन आग्रह गरे । पत्रिकामा काम गर्ने क्रममा बुनिनको त्साक्नेको घर जानेक्रम बाक्लिन थाल्यो । त्साक्नेले पहिलो पत्नी डोनाको निधनपश्चात इलेनोर पाभ्लोभ्नासित बिहे गरेकी थिइन् । इलेनोर नाटकमा अभिनय गर्थिन्, पियानो बजाउँथिन्, गाउँथिन् । बैंशालु उमेरकी, आकर्षक थिइन् । बुनिनलाई मन पराइन् । कुरा गर्ने मौका खोजिरहन्थिन् । फ्रान्सिसी शहरहरू पेरिस, निस, केन्सको बर्णन गरिरहन्थिन् । बिगफोन्टानेस्थित गृष्मघरमा समेत बोलाउँथिन् र बुनिन पुग्नेबित्तिकै कानमा भन्थिन्, ‘कति बेर भयो, म तिम्रो प्रतीक्षामा बसिरहेको ।’

बुनिन शुरु–शुरुमा इलेनोरको प्रेमजालमा फसे । यसक्रममा इलेनोरले बुनिनलाई आफूलाई ‘इल्या‘ भनेर सम्बोधन गर्नुसमेत भन्न भ्याइन् । तर, बुनिनले छिट्टै मन अर्कोतिर डुलाए, १८ वर्षीया अन्नातर्फ । अन्ना इलेनोरकी सौतेनी छोरी थिइन् । उनी पनि गीत गाउँथिन्, नाच्थिन्, केटाकेटीलाई पढाउँथिन् । ठूलो कुरो, कविता र चित्रकला सिक्न चाहन्थिन् । दुबै चाँडै हेलमेल भए । अन्ना बुनिनप्रति कोमलता र रोमान्टिक भावमा पेश हुन्थिन् । अन्नाको आफूप्रतिको आकर्षण बुनिनले चाल पाइसकेका थिए । एकदिन, उनी अन्नाका पिता त्साक्नेसित रेल चढेर यात्रा गर्दै थिए । मनलाई बलियो पार्दै भने ‘म छोरीसित बिहे गर्न चाहन्छु ।’
त्साक्ने बुनिन र अन्ना, बुनिन र इलेनोरबीचको सम्बधबाट बेखबर थिए भने इलेनोर पनि बुनिन र अन्नाको सम्बन्धबारे अञ्जान थिइन् । बुनिनको लेखन र ब्यक्तित्वबाट प्रभावित त्साक्नेले सहर्ष बुनिनको प्रस्ताव स्वीकार्दै भने, ‘मलाई कुनै आपत्ति छैन, अन्ना पनि यही चाहन्छे भने ।’

सन् १८९८ को सेप्टेम्बरमा बिहे भयो । बुनिन २८ का थिए भने अन्ना १९ की । तर, यो बिहे लामो समय टिकेन । एकदिन गफैगफमा अन्नाले भनिन्, ‘धेरैले तिमीले मसँग बिहे गर्नुको पछाडि मेरो सम्पत्ति हो भन्छन् ।’ बुनिनले सोधे, ‘कसले भन्छ यस्तो कुरो ?’ अन्नाले एएम फेडोरोभ र उनकी पत्नीतर्फ संकेत गरिन् । बुनिन रिसाएर कोठाको ढोकामा मुड्कीले हाने । ‘मैले जानेको छु उसलाई’ भनी बर्बराउँदै ढोका थुनेर बस्न थाले । त्साक्ने दम्पतीले मनाउने कोसिस गरे ।

अन्ना बाहिरै रोएर बसिन् । भित्रबाट कुनै आवाज नआएपछि अन्नाले ढोकामा हान्न थालिन् । त्यहाँ फेदोरोभ र उनकी पत्नी लिडिया पनि पुगे । सबै मिलेर बल्लतल्ल बुनिनलाई सम्झाउन सके । सुलहपछि नवदम्पती घुम्न पेरिस गए । त्यहाँबाट मस्को अनि सेन्टपिटसबर्ग । फेरि खेर्सोन्कायास्थित त्साक्नेकै घरमै बस्न पुगे । यसपछि पनि बुनिन र अन्नाको सम्बन्धमा न्यानोपन आएन । स–सानो कुरोमा मनमुटाव गर्न थाले । बुनिनले यसको दोष आफ्नी पूर्व प्रेमिका तथा वर्तमान सासूआमा इलेनोरमाथि लगाए । इलेनोरले जानाजान आफूलाई अन्नाबाट छुटाउन खोजिरहेको, छोरी र ज्वाइँको सम्बन्धलाई लिएर ईष्र्या गर्न थालेको आरोप लगाए ।

यसबीच, अन्नाले पिताको पत्रिकामा प्रकाशित बुनिनको एउटा कवितामाथि आपत्ति जनाइन् । उनले आफैँसँग प्रश्न गरिन् ‘कस्तो कविता त्यो ! मेरो उनीप्रति हेर्ने गरेको दृष्टिकोण गलत रहेछ । वास्तवमा उनमा खुबी नै रहेनछ ।’ यसै कुरोमा उनीहरू बहस गर्न थाले । अन्ना त्यसबेला ५ महिनाको गर्भवती थिइन् । घर छाडेर हिँडिन् । पुनः रंगमञ्चमा सक्रिय भइन् । अन्नाले छाडेर हिँडिसकेपछि बुनिन पुनः एक्लो भए । उनी निश्कर्षमा पुगे कि वास्तवमा अन्ना उनलाई प्रेम नै गर्दैनथिन् । उनले दोस्रोपटक आत्महत्याको कोसिस गरे । उता, अन्नाले छोरो जन्माइन् तर बुनिनले छोराको फोटो मात्र हेरेर चित्त बुझाए । छोराको निधन ५ वर्षकै उमेरमा भयो । अन्त्यमा, बुनिन र अन्नाको सम्बन्धविच्छेद सन् १९२२ मा भयो । अन्नाले पछि आफूभन्दा २३ वर्ष जेठो धनी पुरुषसँग बिहे गरिन् । उनको निधन ८४ वर्षको उमेरमा सन् १९६३ मा भयो ।

भार्भरा पास्चेन्कोसितको लिभिङ टुगेदर र अन्ना त्साक्नेसितको दाम्पत्य जीवन दुबै असफलतामा टुंगिएपछि बुनिन एकान्तप्रिय बने । लामो समय एक्लै दिन काटे । यसबीच सन् १९०६ मा लेखिका एकातेरिना लोपातिनाको घर जाँदा उनको भेट भेरा मुरोम्त्सेभासँग भयो । उनी राजनीतिज्ञ सर्गेइ मुरोम्त्सेभाकी भतिजी थिइन् । लोकप्रिय कवि बनिसकेका बुनिनसितको पहिलो भेटमै भेरा आकर्षित बनिन् । यद्यपि, धेरै मानिस, भेरा बुनिनको प्रेमी थिइनन् भन्छन् ।

तर, सत्य कुरो, उनै भेरा हुन् जसले बुनिनलाई अन्तिमसमयसम्म साथ दिइन् । बुनिन आफैँ पनि भेरा आफ्नो प्रेम हो कि होइन भन्नेमा जीवनभर दोधारमै रहे । तैपनि अन्नासँग टाढिएपछि उनको जीवन लगभग पूरै समय भेरासित नै बित्यो । दुबै सँगसँगै विदेश भ्रमणमा जाने गरे । अन्नासित कानुनी तवरमा सम्बधबिच्छेद भएपछि मात्र सन् १९२२ मा बिहे गरे । बिहेपछि पनि यात्रामा हिँडिरहे । तर, पछि भेरालाई धेरैले ‘बुनिनसँगको जीवन’ पुस्तकमार्फत मात्र चिने ।

सन् १९२६ मा बुनिन फ्रान्सको ग्रासेमा थिए । त्यसैबेला रुसी कवयित्री गालिना कुज्नेतसोभा पनि आफ्नो लोग्नेसँग घुम्न फ्रान्स पुगेकी थिइन् । उनैसित प्रेम गर्न पुगे । भेराले आफ्नो लोग्नेको अन्य महिलासितको चक्करलाई झेल्नै सकिनन् । बुनिनले उनलाई आफ्नो र गालिनाको सम्बन्ध मात्र ‘आत्मीय’ भएको भनेर धेरैपटक सम्झाउन प्रयास गरे । अन्त्यमा, भेरा पनि पछि घरपट्टि लियोनिद जुरोभसँग फस्न पुगिन् । बुनिन फेरि पछि ओपेरा गायिका मार्गो स्तेपुनसित लहसिन पुगे जसकारण गालिनाले उनलाई छाडिन् । बुनिनको महिलाहरूसँगको प्रेम सम्बन्धलाई चलचित्र ‘हिज वाइफ्ज दायरी’ मा राम्रोसित देखाइएको छ । यो चलचित्रको कथाकार थिइन् – डुन्या स्मिर्नोभा । बुनिनको निधन सन् १९५३ मा पेरिसमा भयो । उनले सन् १९३३ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका थिए ।

क्याप्सनः बुनिन र भेरा मुरोम्त्सेभा

टिप्पणीहरू