बालेन घुम्ने ठाउँमा कुकुरलाई रेड कार्पेट, एकछिन सबै अचम्मित

बालेन घुम्ने ठाउँमा कुकुरलाई रेड कार्पेट, एकछिन सबै अचम्मित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह यतिबेला फ्रान्समा छन् । विश्वकै प्रतिष्ठित 'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । 

दुई सल्लाहकार सुनिल लम्लास र कुमार व्यञ्जनकारलाई लिएर अस्ति साँझ काठमाडौँबाट फ्रान्स उडेका मेयर केही दिने उतै रहने कार्यतालिका रहेको बुझिएको छ । तर, यहाँ चर्चा बालेनको होइन, फिल्म फेस्टिभलमा देखिएको एउटा रोचक दृश्यको गर्न लागिएको हो । 

भव्य समारोहका बीच गएराति उद्दघाटन गरिएको फेस्टिभलमा सहभागी हुने विभिन्न देशका सेलिब्रेटीहरुका लागि 'रेड कार्पेट' बिछ्याइएको थियो । वरपर बिबिसी, सिएनएन्, न्युयोर्क टाइम्सजस्ता विश्वका कयौँ प्रतिष्ठित मिडियाका क्यामेरा तेर्सिएका थिए । धेरैलाई कौतुहलता थियो कि ७७औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा कुन सेलिब्रेटी हिँड्छ होला ? 

तर, भुक्दै भुक्दै एउटा कुकुर रेड कार्पेटमा झुल्कियो । उपस्थित सबै एकछिन आश्चार्यमा परे । करिब २० मिनेटजति रेड कार्पेट कब्जा गरेको कुकुर घरी भुक्थ्यो, घरी दुई खुट्टा उचालेर नाच्थ्यो । केही समयपछि देखिए, 'एनाटोमी अफ अ फल' फिल्मका कलाकारहरु । 

अनि बल्ल थाहा भयो, त्यो कुकुर 'मेस्सी' रहेछ । अर्थात् 'एनाटोमी अफ अ फल' फिल्ममा मुख्य भूमिका निभाएको कुकुर । जसले गत मार्चमा सम्पन्न 'ओस्कार अर्वाड' समेत पाएको थियो । 

जे होस्, यस वर्षको कान्स फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो 'क्यारेक्टर' बनेर मेस्सी (कुकुर)ले अहिले राम्रै चर्चा पाइरहेको छ ।

स्मरण रहोस्, यो फेस्टिभल आगामी २५ मेसम्म चल्नेछ । काठमाडौँका मेयर बालेनले भने चार दिनमात्र त्यहाँ अवलोकन गर्ने बताइएको छ । यसबीचमा उनले कान्सका मेयर डेभिड लिजनार्डसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको बुझिएको छ ।

टिप्पणीहरू