कलाकारहरुका कहालीलाग्दा प्रेमकथा

कलाकारहरुका कहालीलाग्दा प्रेमकथा

झूठ बोले कौवा काटे, काले कौवे से डरियो
मैं माइके चली जाऊँगी, तुम देखते रहियो । 

तू मैके चली जाएगी
मैं डंडा लेकर आऊँगा
तू डंडा लेकर आएगा
मैं कूएँ में गिर जाऊँगी
मैं रस्सी से खिंचवाऊँगा
मैं पेड पे चढ जाऊँगी
मैं आरी से कटवाऊँगा
प्यार करे आरी चलवाए
ऐसे आशिक से डरियो
मैं माइके चली जाऊँगी, तुम देखते रहियो । 
तू मैके चली जाएगी
मैं दूजा ब्याह रचाऊँगा
तू दूजा ब्याह रचाएगा
हाए मेरी सौतन लाएगा
मैं माइके नहीं जाऊँगी, मैं माइके नहीं जाऊँगी
अरे तेरे सदके जाऊँगी रे माइके नहीं जाऊँगी
मैं सातों वचन निभाऊँगी, अरे माइके नहीं जाऊँगी । । 

७० को दशकमा दोश्रो सबैभन्दा मनपराइएको हिन्दी चलचित्र ‘बबी’ को गीत हो यो । उक्त दशकमा प्रदर्शित हिन्दी चलचित्रहरुमा पहिलो स्थान ओगटेको थियो – चलचित्र ‘शोले’ले । र, दोश्रो मा रह्यो ‘बबी’ । सन् १९७३ मा प्रदर्शित र राजकपुरद्वारा निर्देशित यो चलचित्र किशोर–किशोरीबीचको प्रेम कथामा आधारित थियो । चलचित्रमा नायकको उमेर १७ र नायिकाको उमेर १६ देखाइएको थियो। चलचित्रको कथा हिन्दी र उर्दू भाषाका सुप्रसिद्ध उपन्यासकार र पत्रकार ख्वाजा अहमद अब्बासले लेखेका थिए। यो चलचित्रले दक्षिण एशियामा त तहल्का मच्चायो नै, तात्कालिन सोभियत संघमासमेत उत्तिकै सफल रह्यो । सोभियत संघमा मात्र ६ करोड २६ लाख दर्शकले यो फिल्म हेरेको रेकर्ड छ । त्यहाँ आजपर्यन्त जति चलचित्र बने दर्शकले अत्यधिक मनपराएको चलचित्रको सूचीमा यो २० औं स्थानमा छ । सन् १९४८ मा स्थापित आर.के. फिल्म्सको यो १३ औं चलचित्र हो । 

चुन्नीभाइ कपाडिया मुम्बैका ठूला व्यापारी थिए । अमिना मुस्लिम धर्मावलम्बी चुन्नीभाइ र उनकी पत्नी बेट्टीकी छोरी हुन् । चुन्नीभाइ चलचित्र हेर्नमा सोखिन थिए, उनी रात्रीभोजको आयोजन गरी सिने कलाकारहरुलाई घरमा बोलाउने गर्थे । सानैमा घरमा आइरहने कलाकारहरुलाई प्रत्यक्ष देख्दादेख्दै अमिनालाई पनि चलचित्र हेर्ने लत बस्यो र कलाकार बन्ने सपना देख्न थालिन् । छोरीलाई चुन्नी आफै पनि हौस्याउँथे । निम्तो पाएर चुन्नीको घर प्रायः पुगिरहनेमध्येका थिए– निर्माता, निर्देशक र अभिनेता राजकपुर । चुन्नी र उनी निकै मिल्थे । एकदिन चुन्नीको घर पुगेको बेला उनको नजर अमिनामाथि पर्‍यो । अमिना त्यसबखत मात्र १४ वर्षकी थिइन् । राजकपुर ‘बबी’ बनाउने तयारीमा नायिकाको खोजीमा थिए । सानो उमेरकी, किशोरी कलाकारको खोजीमा लागेका उनले यसका लागि अखबारमा विज्ञापनसमेत गरे तर उपयुक्त पात्र फेला परिरहेको थिएन । जब उनले अमिनालाई देखे, कथाले मागेको उपयुक्त पात्र भेट्टिएको जस्तो लाग्यो र कुरा गर्दा बाबुछोरी दुवैले सजिलै माने पनि । 

चलचित्रको छायाँकन शुरु हुनुअगावै अमिना डिम्पल बनिसकेकी थिइन् । छायाँकनकै दौरान फिल्मका नायक ऋषिकपुर र उनी निकै नजिकिए । दुबैमा जवानीको जोश थियो । ऋषिले पहिला पनि आफ्नै बुबाको चलचित्र ‘श्री ४२०’ र ‘मेरा नाम जोकर’ मा बाल कलाकार भई खेलिसकेका थिए तर डिम्पल भने सो क्षेत्रका लागि नयाँ नै थिइन् । त्यसबखत चलचित्र निर्माणमा निकै समय लाग्थ्यो । छायाँकन सकिने अवस्था आइपुग्दासम्ममा डिम्पल १६ पुगिसकेकी थिइन् । सन् ७० को दशक नायक राजेश खन्नाले तहल्का मच्चाइरहेको समय थियो । युवतीहरु उनीप्रति मरिमेट्न तयार थिए । उनलाई एक झलक देख्न पाए जीवन साकार भएको सम्झन्थे । वास्तवमै राजेश खन्ना महिला दर्शकका निम्ति सुपरस्टार नै थिए । डिम्पल पनि यसबाट अछुतो थिइनन् । राजेश खन्नालाई सपनामा देख्थिन् । डिम्पलले कैयौं पटक स्कुल बंक गरी राजेश खन्नाको फिल्म हेर्न जाने गरेकी थिइन् । बबी प्रदर्शनमा आइसकेको थिएन तर भर्खरकी किशोरी नायिका डिम्पलको चर्चा सर्वत्र भइसकेको थियो । डिम्पलको सौन्दर्यले राजेशलाई पनि खिचिसकेको थियो । डिम्पललाई पहिलो पटक उनले चुन्नीभाइकै घरमा देखेका थिए । राजेश त्यसबेला प्रेमिका अञ्जु महेन्द्रुसितको ‘ब्रेक अप’ मा दुःखी थिए । नायिका, मोडल र फेशन डिजाइनर अञ्जु र उनी ७ वर्ष लिभिङ टुगेडरमा समेत बसेका थिए । राजेश घमण्डी, रुढीवादी र महिलाप्रति कठोर स्वभावका थिए, अञ्जुले लगाउने छोटो लुगाप्रति उनको आपत्ति हुन्थ्यो । अञ्जु स्वच्छन्द स्वभावकी थिइन्, उनलाई राजेशको उक्त रवैयाप्रति आपत्ति थियो । उनकै कारण अफर आएको कैयौं चलचित्र छाड्नुपर्‍यो । यस्तै झिनामसिना कुरोलाई लिएर दुवै अलग्गिए सन् १९७२ मा । 

अहमदाबादमा कलाकारहरुलाई सम्मान गरिने एउटा कार्यक्रममा भाग लिन जाने क्रममा बिमानमै राजेश र डिम्पलको अनायास भेट भयो । त्यसक्रममा डिम्पलले ‘कार्यक्रममा निकै भीड हुन्छ होला । हात समातेर मलाई लगिदिनुहुन्छ ?’ भनेर सोधिन् । राजेशले ‘अवश्य’ भनी जवाफ दिए । चकचके स्वभावकी डिम्पलले ठट्टा गर्दै फेरि सोधिन्, ‘सबैको सामु ? राजेशले ‘हो’ भने । ‘समातेको हात छोड्नु त हुन्न नि ?’ भनिन् । राजेशले ‘छोड्दिन, कहिल्यै छोड्दिन’ भने ।

यसपछिका दिनमा उनीहरु भेट्न थाले । डिम्पल ऋषिकपूरसँग टाढिइसकेको पनि राजेशले थाहा पाए । यसपछि झन् नजिकिन थाले । डिम्पलले पनि राजेशको प्रेम महसुस गर्न थालिसकेकी थिइन् । अब राजेश सुटिङस्थलमा पुगेर डिम्पललाई घुमाउन लान्थे । सुटिङमा बाधा पुग्न थालेपछि राजकपुरले रिसको पोको राजेशको थाप्लोमा बिसाए पनि । तर, राजेश र डिम्पलको पारा उस्तै । जसको कारण फिल्म पूरा हुन समय लाग्यो । यसैबीच एकदिन राजेश चुन्नीभाइकोमा पुगे र बिहेको प्रस्ताव राखे । हिन्दी सिनेजगतका पहिलो सुपरस्टार राजेशलाई ज्वाई बनाउन चुन्नीले पनि बिलम्ब गरेनन् । डिम्पल त तयारै थिइन् । यसरी बिहेको प्रस्ताव राखेको सातौं दिनमै राजेश र नाबालिग डिम्पलको बिहे भयो ।

त्यसबखत डिम्पल मात्र १६ की थिइन् भने राजेश ३१ का । उमेरमा १५ वर्षको अन्तरको बाबजुद भएको बिहेले गर्दा बलिउडमा यो विवाहको चर्चा निकै भयो । बिहे सम्पन्न भएको छैटौं महिना ‘बबी’ रिलिज भयो । कम उमेरका युवा युवतीबीचको प्रेमकथामा बुनिएको पहिलो चलचित्र मानिएको बबीले तहल्का त मच्चायो नै नायिका डिम्पलको चर्चा पनि एउटै फिल्मले शिखरमा पु¥याइदियो । उनको केटाकेटीको तारिफ सर्वत्र भयो । तर, बिहे भइसकेको मात्र होइन नाबालिग उमेरमै गर्भवतीसमेत बनिसकेकी थिइन् । तैपनि निर्माताहरु उनलाई आफ्नो चलचित्रमा लिन इच्छुक थिए, अभिनेताहरु उनीसँग खेल्न आतुर । तर, सबैलाई आश्चर्यचकित हुने गरी उनले चलचित्रबाट सन्यास लिएको घोषणा गरिदिइन् । स्मरणीय छ, बिहेअगाडि नै राजेशले यो शर्त तेस्र्याएका थिए । 

राजेश र डिम्पलको बैबाहिक जीवन शुरुमा सुखद् नै रह्यो । डिम्पलले अभिनय त्यागेर गृहस्थी सम्हालिन् । सन् १९७४ मा ट्विंकल र १९७७ मा रिंकीको आमा बनिन् । उनीहरुको पहिलो कलह यहाँबाट शुरु भयो, किनभने राजेश दोश्रो सन्तान छोरो होस् भन्ने चाहन्थे । जसको कारण दोश्रो सन्तानलाई कहिल्यै माया गरेनन् । ६ महिनासम्म छोरीको अनुहारसम्म हेरेनन् । डिम्पलले चलचित्रमा खेल्ने मोह चटक्कै त्यागिसकेकी थिइनन् । राजेशलाई पाउन मात्र बचन निभाएकी थिइन् । यो कुरोले पनि कलह शुरु भयो । यसबीच राजेश खन्नाको करियर ओरालो लाग्न थाल्यो । उनी रक्सी पिउन र झगडा गर्न थाले । गाली गर्ने, सम्पूर्ण दोष पत्नीमाथि थोपर्ने, कुटपिट गर्ने र चुरोटले शरीरमा डाम्नेजस्ता अत्याचारमा ओर्लन थाले । डिम्पललाई राजेशसितको सम्बन्धमा उकुसमुकुस महसुस भयो, त्यसमाथि राजेशको हिरोइन् टिना मुनिमसितको सम्बन्धले आगोमा घ्यू थप्ने काम गर्‍यो । सन् १९८२ मा चलचित्र ‘सौतन’ को छायाँकन गर्न दुबैजना मोरिसस् पुगे । त्यहाँ राजेश र टिनाको अन्तरंग सम्बन्ध देखेपछि डिम्पल रिसाएर फर्किन् र छोरीहरुको साथमा माइत गइन् । राजेश र टिनाले ११ वटा चलचित्रमा संगै काम गरे । 

राजेश र डिम्पलको कानूनीतवरमा कहिल्यै सम्बन्ध बिच्छेद भएन तर संगै पनि बसेनन् । अलग्गिएपछि डिम्पलले फेरि चलचित्रमा काम गर्न थालिन् । यद्यपी, राजेश खन्नाको कारण धेरै नायक उनीसित चलचित्रमा काम गर्न डराए । यसको बाबजुद डिम्पलले चलचित्र खेल्दै गइन् । अभिनय क्रममा उनी र नायक सनी देवल एकार्कालाई प्रेम गर्न थाले । आफ्नो लोग्नेको डिम्पलसितको सम्बन्धबारे अखबारमा खबर र फोटाहरु छापिन थालेपछि पूजा देवलले घर छाड्ने धम्की दिइन् । परिवार तहसनहस हुने देखिएपछि सनी डिम्पलदेखि टाढिए । राजेश खन्नाको निधन सन् १९१२ मा भइसक्यो । निधनको समयमा डिम्पल र पुरानो प्रेमिका अञ्जु पनि साथमै थिए । अन्तिम समयतिर अञ्जु पुनः राजेशको नजिक पुगेकी थिइन् । बिरामी राजेशको खानपिन, औषधी सबैको ध्यान उनैले राखिन् । अन्तिम सास फेर्दै गर्दा राजेशले अञ्जुको हात बलियोसित समातेका थिए । डिम्पलले एउटा अन्तर्वार्तामा बिहेको सातौं दिनमै राजेश खन्नासित घरजम गरेर आफूले ठूलो गल्ती गरेको महसुस भएको र उनीसितको दाम्पत्य जीवन लामो समय् नटिक्ने महसुस् गरेको बताएकी थिइन् । सन् १९८४ मा डिम्पल पुनः चलचित्रमा प्रवेश गर्दा उमेरले २७ वसन्त पार गरिसकेको थियो भने १० वर्षकी छोरी ट्विंकल र ७ वर्षकी छोरी रिंकीकी आमा पनि थिइन् तर पनि पछिल्लो चलचित्रहरुमा झन् ‘हट’ दृष्य दिँदै गइन् । उनले बबी पछि ८७ वटा चलचित्रमा अभिनय गरिन् । बबी पछि सम्झन लायक उनका फिल्म ‘लेकिन’ र ‘रुदाली’ हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू