मायाँ न हो, जो सबैभन्दा माथि हुन्छ

मायाँ न हो, जो सबैभन्दा माथि हुन्छ

डेभिड एल जर्ज सन् १९१६ मा ब्रिटेनको प्रधानमन्त्री बने । त्यसबखत प्रथम विश्वयुद्ध चरम उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री बनेपछि आफ्नी छोरीलाई घरमै आएर पढाउने शिक्षिका फ्रान्सिस स्टिवेन्सनलाई स्वकीय सचिव बनाए । त्यसबेलासम्ममा उनीहरुबीच अगाढ प्रेम बसिसकेको थियो जबकि जर्ज बिबाहित मात्र होइन २ छोरा र ३ छोरीको पिता बनिसकेका थिए । साथै दुबैबीच २६ वर्षको अन्तर थियो । उमेरमा ठूलो अन्तरको बाबजुद दुवै कसरी एकार्काको नजिक पुगे भन्ने बयान गतांकमा भइसकेको छ । 

जर्ज प्रधानमन्त्री र फ्रान्सिस स्वकीय सचिव भइसकेपछि हार्दिकता र आत्मीयता झन् बढ्यो । फ्रान्सिसको निम्ति जर्ज प्रतिष्ठाको विषय बने भने जर्जका लागि फ्रान्सिस बहुमूल्य र असल साथी । बिस्तारै खुलेरै आफ्नो स्नेह, माया–प्रेम न्यौछावर गर्न थाले । सन् १९२२ मा जर्ज जेनेभा गए । त्यहाँ उनलाई फ्रान्सिसको अभाव खट्क्यो । फ्रान्सिसको नाउँमा लामै पत्र लेखे । सामिप्यको चाहना जागेको भावना पोखे । ‘तिम्रो पत्र पढ्न पाइएको दिन आनन्द लाग्छ’ भनी लेखे । उनलाई देशको चिन्ताले सताएको त हुन्थ्यो नै परिवारले दिने दबाबले थप चिन्तित बनाउँथ्यो । पत्नी मार्गरेट र छोरी मेगान उनको र फ्रान्सिसको सम्बन्धबारे पूर्न जानकार थिए, मेगानले त गुरुआमालाई घृणा नै गर्न थालिसकेकी थिइन् । एकपटक मार्गरेटले पतिलाई पत्रै लेखेर फ्रान्सिसलाई स्वकीय सचिवबाट हटाउन भनिन् । पत्र पढेर जर्ज क्रोधित बने र ‘सम्बन्ध बिच्छेद चाहिएको भए भन दिन्छु’ भन्ने जवाफ पठाइदिए । लोग्नेको ठाडो पत्र पढेर मार्गरेट डराइन् र क्षमा मागिन् । जर्जले लोग्ने स्वास्नीबीच आदानप्रदान भएको सम्पूर्ण पत्र फ्रान्सिसका सामु राखिदिए । यो घटनापछि उनीहरुको सम्बन्ध झन घनिष्ठ बन्न पुग्यो ।

सन् १९२२ मा जर्जले प्रधानमन्त्री पदबाट राजीनामा दिए । उनी फ्रान्सिसलाई निजामती कर्मचारीतर्फ प्रथम श्रेणीको अधिकृत बनाएपछि मात्र पदबाट हट्न चाहन्थे तर फ्रान्सिसले त्यसो हुन मानिनन् । लिबरल पार्टी नेताको हैसियत जर्जले पत्रपत्रिकामा लेख र संस्मरण लेख्न थाले । यी कार्यलगायत जर्जकोमा भेट्न आउने अतिथिको सत्कार, पत्र ब्यवहार, खेतिपाति, स्वास्थ्यको हेरचाह सबैमा फ्रान्सिस एक्लैले सघाउँदै गइन् । यसबीच फ्रान्सिस पटक पटक गर्भवती बनिन् तर सन् १९२८ मा भने गर्भपतन गर्न मानिनन् । जर्ज फ्रान्सिसबाट बच्चा चाहँदैनथे, आफ्नो राजनीतिलाई धमिलो पार्न चाहँदैन्थे तर फ्रान्सिसले बच्चा जन्माउन हठ गरिन् । बाउ नचिनाउने शर्तमा बच्चा जन्माइन् । छोरी जेनिफरले बाउ मरेको २७ वर्ष पछि बल्ल सन् १९७२ मा मात्र जर्ज आफ्नै बाउ भएको थाहा पाएकी थिइन् । जर्जले आफ्नै छोरीलाई धर्मपुत्रीको रुपमा पाल्न थालेको नाटक गरेका थिए । र, आफ्नै घरमा हुर्काएका थिए, पत्नी मार्गरेटकै छत्रछायाँमा । त्यसो त जर्जसितको प्रेममा डुबिराखेकै बेला फ्रान्सिस लिबरल पार्टीका कार्यकर्ता तथा युद्धनायक कर्नेल थोमस ट्वीडसित पनि नजिकिए तर जर्जले उनीमाथि कुनै शंका गरेनन् र छोरी आफ्नै भएको बिश्वास फ्रान्सिसलाई दिलाए । यद्यपि इतिहासकारहरु जेनिफरको अनुहार जर्जसित भन्दा थोमससित मिलेको दावी गर्छन् । जेनिफर जन्मिँदा जर्जको उमेर ६६ पुगिसकेको थियो ।

सन् १९३१ मा जर्जको पौरष ग्रन्थीमा समस्या देखाप¥यो । अपरेशनको खबर सुनेर मार्गरेट र मेगान दौडँदै घर पुगे । उनीहरु आइसकेपछि फ्रान्सिस मन नमानीनमानी वेस्टमिनिस्टरस्थित फ्ल्याटमा फर्कनु पर्‍यो । मार्गरेट र मेगानको उपस्थिति जर्जलाई पनि मन परेको थिएन त्यसैले डाक्टरसित सल्लाह गरी आफ्नो गाउँ चुर्त गए । फ्रान्सिसलाई पनि त्यहीँ बोलाए । उनले घर नजिकै अर्को एउटा घर बनाउने सोच बनाए, ताकि मार्गरेटहरु आउँदा पनि फ्रान्सिससित टाढिन नपरोस् । छिट्टै जग्गा किनेर घर बनाए अनि उक्त घरमा फ्रान्सिसलाई बस्न दिए । यसबीच श्रीलंका जानुपर्ने भयो । सँगै जान मार्गरेट र मेगानले पनि ढिपी कसेपछि फ्रान्सिसलाई लान सकेनन् । यात्रा अवधीभर फ्रान्सिसको अभाव महसुस गर्दै बसे । नभन्दै भ्रमण छोट्याएर चुर्त पुगे जहाँ फ्रान्सिसले न्यानो स्वागत गरिन् ।

सन् १९३१ मै भारतका महात्मा गान्धी गोलमेच सम्मेलनमा भाग लिन लण्डन पुगे । जर्जले उनलाई चुर्त लगे । वार्तालापमा गान्धीले धेरै बोले, जर्जले सवालमाथि सवाल सोधिरहे । यसैबीच बैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि लण्डन पुगे । जर्मनीमा नाजीहरुले धेरै सताएर त्यहाँ बस्न नसकेपछि भागेर त्यहाँ पुगेका थिए । फ्रान्सिसले गान्धी र आइन्स्टाइनको सम्पूर्ण आतिथ्य सफलतापूर्वक निभाइन् । सन् १९३५ मा जर्ज र फ्रान्सिस घुम्न मोरक्कोको शहर तान्जियर पुगे । घुम्दै रमाउँदै निकै दिन बिताए । यसबीच सन् १९३९ मा मार्गरेट घरैमा लडिन् । कम्मरको हड्डी भाँचिएकोले ओछ्यान समाउन पुगिन् । लामो कष्ट भोग्दै सन् १९४१ को जनवरी २० मा निधन भयो । अन्तिम समयमा उनले लोग्नेलाई बोलाएकी थिइन् । तर, जर्ज लामो ट्राफिक जाममा फसे । घर पुग्दा मार्गरेटको मृत्यु भइसकेको थियो । सन् १९४३ मा जर्ज ८० वर्षको भए भने फ्रान्सिस ५५ की । दुवैजना सुटुक्क गिलफोर्डको रजिस्ट्रार कार्यालयमा पुगेर बिहे गरे । बिहे गर्न गइरहेको जानकारी कसैलाई दिइएको थिएन । त्यहाँबाट सिधै फार्म पुगे र फ्रान्सिसलाई देखाउँदै त्यहाँको मेनेजरलाई परिचय दिए– यिनी हुन्, श्रीमती जर्ज । पहिलो पटक ‘श्रीमती जर्ज’ शब्द सुनेर फ्रान्सिस निकै भावुक बनिन् । किनभने ३० वर्ष लामो समय उनले प्रेमिका मात्र बनेर भूमिका निभाउँदै आएकी थिइन् ।

बिहेको १८ महिनापछि जर्जलाई क्यान्सर रोग लाग्यो । दिनानुदिन कमजोर र दुब्लाउँदै गए । उनले फ्रान्सिसलाई पुख्र्यौली घर लिएर गए । त्यहाँ उनीहरुको भव्य सम्मान गरियो । उक्त समारोहमा दिएको भाषण नै अन्तिम भाषण बन्यो । त्यहाँबाट फर्कंदै गर्दा आमा बिरामी भएको र उनको प्रतिक्षामा रोइरहेको खबर फ्रान्सिसले पाइन् तर उनी बिरामी लोग्नेलाई एक्लै छाडेर जाने स्थितिमा थिइनन् । केही दिनपश्चात आमाको निधन भएको खबर प्राप्त गरिन् । अन्तिम संस्कारमा पनि जान सकिनन् । आमाबुबाबाट छुट्टिएको ३४ वर्ष भइसकेको थियो । उनले पहिलो पटक बुबालाई पत्र लेखेर भनिन्, ‘मेरो लोग्नेलाई गम्भीर रोग लागेको छ । तर उनी अति शान्त छन्, चिन्तामुक्त छन् । यतिखेर झ्यालबाट बाहिर चियाइ बसेका छन्, ब्यक्तित्व अझै आकर्षक देखिन्छ । घामको किरणमा उनको ब्यक्तित्व झनै गर्बिलो देखिन्छ । उनलाई रोग लागेकोमा कुनै दुःख छैन ।’

सन् १९४५ मार्च २६ को साँझ, फ्रान्सिस पल¨मा बिरामी लोग्नेसंगै टाँसिए बसेकी थिइन् । जर्जले उनैको काखमा देह त्याग गरे । ब्रिटेनको सरकारले राष्ट्रिय शोकको घोषणा ग¥यो । जर्जको इच्छामुताबिक अन्त्येष्टि साधारण तवरबाट सम्पन्न गरियो । आफ्नो चिहान कता बनाउने पहिल्यै फ्रान्सिसलाई भनेका थिए । त्यहाँ एउटा ठूलो ढुंगा थियो, जुन ढुंगामा घुम्न त्यहाँ पुग्दा उनी बस्ने गर्थे । लोग्नेको इच्छाअनुसार पछि फ्रान्सिसले जर्जको चिहानमाथि उक्त ढुंगा राखिदिइन् । फ्रान्सिसको निधन जर्जको मृत्युको २७ वर्षपछि सन् १९७२ मा भयो । त्यसबेला उनी ८४ वर्षकी थिइन् । उनको मृत्युपश्चात मात्र जेनिफरले आमाबुबाको वास्तविकता थाहा पाइन् । उनले त आफूलाई पालेर हुर्काउने मार्गरेटलाई नै आफ्नी आमा ठानेकी थिइन् । जर्ज ‘कन्या’ राशीका थिए । प्रधानमन्त्री बन्नुअगाडि धेरै महिलासित सम्बन्ध थियो । आफ्नै पार्टीका सांसदसँग पनि अन्तरंग सम्बन्ध राख्थे । बेलायती इतिहासकार डान स्नो भन्छन्, ‘जर्ज दिनमा ३ जनासँग सम्बन्ध गाँस्न सक्थे ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

 

टिप्पणीहरू