बंकरभित्र ६ जना केटाकेटीको बियोगान्त

बंकरभित्र ६ जना केटाकेटीको बियोगान्त

जर्मनीका चान्सलर (फ्युहरर) एडोल्फ हिटलरको मुख्यालय राजधानी बर्लिनमा थियो, जसलाई राइख चान्सलरी भनिन्थ्यो । त्यसैको परिसरभित्र बगैंचाको नजिकै जमिनबाट ५० फुट तल लुक्ने ठाउँ (बंकर) बनाइएको थियो, जुन बमबारीबाट पनि क्षति हुन्नथ्यो । त्यहीं हिटलरले जीवनको अन्तिम १ सय ५ दिन बिताए ।

बर्लिन शहरमा २५ लाख रुसी सेनाको प्रवेश भइसकेको र तिनीहरू बंकरबाहिर पुगिसकेको खबरले उनी आत्तिए । र, १०४ औं दिन प्रेमिका इभा ब्राउनसँग बिहे गरी ४० घण्टापछि ३० अप्रिल १९४५ को दिन आत्महत्या गरे । १ सय ५ दिनमा उनी मात्र १ दिन बंकरबाहिर निस्केका थिए, २० अप्रिल अर्थात् आत्महत्या गर्नु ठीक १० दिनअगाडि, बंकरभित्रै ५६औं जन्मदिन मनाएलगत्तै । आत्महत्या गर्नुअगाडि उनले सैन्य अधिकृतहरुलाई भनेका थिए ‘मेरो लाशमा पेट्रोल छर्केर जलाइदिनु, लाश रुसीहरूको हातमा पर्न नदिनु नत्र उनीहरूले मैन हालेर राखिराख्छन् र पछिसम्म दुनियाँसामु मजाकको विषय बनाउँछन् ।’

हिटलर मरेको खबर देशवासीलाई १ दिनपछि मे १ को राति १० बजेर २६ मीनेट जाँदा दिँदै भनिएको थियो– आज दिउँसो राइख चान्सलरीमा रुसी सेनासित लड्दै गर्दा मारिए । उता, हिटलरको लाश पूर्णतः जलिनसक्दै साथीहरूले अप्रिल ३० मै रुसी सेनासित सम्पर्क गर्न खोजे । उनीहरूले जनरल हान्स क्रेब्सलाई रुसी सेनापति जर्जी झुकोभसामु पठाए । यो कामको लागि क्रेब्सलाई नै यसकारण छनोट गरियो कि उनी मस्कोमा जर्मनीको सैनिक अट्याची भएर बसिसकेका थिए र राम्रोसित रुसी भाषा जान्दथे । क्रेब्स रातको १० बजे प्रचारमन्त्री जोसेफ गोएबल्स र हिटलरका स्वकीय सचिव मार्टिन बोर्मनको सन्देश र सेतो रंगको झण्डा बोकेर रुसी सेना बसेको ठाउँ पुगे । भोलिपल्ट फर्के भने कि रुसी सेनाले बिनाशर्त आत्मसमर्पण गर्न जोड दिइरहेका छन्् । साथै आजै दिउँसो ४ बजेभित्र हामीले निर्णय सुनाउनु पर्नेछ । यो खबर सुन्नेबित्तिकै गोएबल्स र अन्य सबैको अनुहार मलिन भयो । सबै ज्यान बचाउने जुक्ति निकाल्न थाले । तर, हिटलर उदयको समय सन् १९३३ देखि नै उनको प्रचारमन्त्री रहेका गोएबल्सले भने आत्महत्या गर्ने सोच बनाए ।

हिटलर सन् १९४५ को शुरुमै अर्थात् जनवरी १६ मा बंकर पसेका थिए । साथमा प्रेमिका इभा ब्राउन, निजी सचिव, नाजी पार्टी र सेनाका उच्चपदस्थ अधिकृत, एक दर्जन बढी नर्सहरू थिए । २२ अप्रिलमा गोएबल्स, पत्नी माग्डा रित्स्चेल र ६ जना बच्चा पनि बंकरमा लुक्न पुगे । माग्डा हिटलर अन्ध समर्थक थिइन् । शुरुमा हिटलर उनीप्रति ‘फिदा’ थिए । माग्डा पनि हिटलरको व्यक्तित्व र राजनीति दुबैलाई मनपराउँथिन् । पछि हिटलरले गोएबल्सले पनि माग्डालाई मन पराएको थाहा पाए । र, साथीका लागि प्रेमको बलिदान गरे । गोएबल्सको माग्डासँग त्यो दोश्रो बिहे थियो । शुरुमा दाम्पत्य जीवन सुखद् र प्रेमले भरिपूर्ण बन्यो । तर, माग्डा ६ सन्तानको आमा बनिसकेपछि कलह शुरु भयो । शंका गर्न थाले । गोएबल्स अन्य महिलासित सम्बन्ध राख्थे भने माग्डा पनि नाजी अधिकृतद्वय कुर्त लुडेक र कार्ल हान्कसित लहसिन थालेपछि सम्बन्धमा निकै तिक्तता बढ्यो । माग्डा र हिटलरको घनिष्ट सम्बन्धलाई पनि गोएबल्सले पचाउन सकेका थिएनन् तर उनी हिटलरलाई केही भन्न सक्ने स्थितिमा थिएनन् अनि हिटलरसितको रिस पत्नीमाथि नै पोख्न थाले । गोएबल्स त्यो बेला निकै शक्तिशाली बनिसकेका थिए, त्यसैले एकदिन उनीदेखि डराएर माग्डा घरबाट भागिन् ! पछि हिटलरकै मध्यस्थतामा दुबैबीच सुलह भयो । (गोएबल्स र माग्डाको प्रेमकथा जनआस्थाको २०७७ कात्तिक १९ को अंकमा प्रकाशित भइसकेको छ ।

हिटलर र इभाले ज्यान फालेलगत्तै अप्रिल ३० मै माग्डाले अघिल्लो लोग्नेतर्फका छोरा हेराल्डलाई पत्र लेखेर आफूहरू आत्महत्या गर्न गइरहेको जानकारी दिइन् । भोलिपल्ट मे १ मा हेलमुट गुस्ताभ कुंजले गोएबल्स र माग्डाका ४ देखि १२ वर्षबीचका ६ जना केटाकेटी हेल्गा, हिल्डा, हेलमुट, होल्डे, हेडा और हिडे (एउटा छोरा र ५ छोरी) लाई निद्रा लाग्ने औषधि मर्फिनको इन्जेक्सन दिए । जोरकिम फेस्टले आफ्नो पुस्तक ‘इन्साइड हिटलर्स बंकर’ मा लेखेअनुसार त्यसपछि हिटलरका निजी चिकित्सक लुडविग स्टंपफेगरको उपस्थितिमा उनका एकजना सहयोगीले मस्त निदाइराखेका ती केटाकेटीको मुख खोले । त्यसपछि माग्डा नजिक पुगिन्, आफ्ना छोराछोरीको शिरमा हात लगाइन्, निधार चुमिन् र सबैको मुखमा हाइड्रोजन साइनाइड झोलको केही थोपा हालिदिइन् । सबैभन्दा ठूली छोरी १२ वर्षीया हेल्गा हल्का निद्रामा थिइन् । जब कसैले उनको मुख जबर्जस्ती खोल्ने प्रयास ग¥यो । माग्डाले साइनाइडको झोल हाल्ने प्रयास गर्दा पनि मानिनन् । निकै चल्मलाइन् । उनको शरीरलाई दुर्ई जनाले कसेर समाते । उनी हलचल गर्न नसक्ने भएपछि माग्डाले साइनाइड ख्वाइदिइन् । पकडबाट छुट्ने प्रयास गरेकै कारण शरीरमा हल्का चोटपटकसमेत लाग्यो । साइनाइड ख्वाएको एकछिनमा ६ जना केटाकेटीको प्राणपखेरु उड्यो ।

माग्डा त्यसपछि आफ्नो कोठामा गइन्, जहाँ गोएबल्स पर्खेर बसिरहेका थिए । माग्डाले मात्र दुईटा शब्द ‘काम भयो !’ भनिन् र क्वाँक्वाँ रुन थालिन् । राति साढे ८ बजे गोएबल्स जुरुक्क उठे, अचानक टोपी र पञ्जा लगाए । अनि माग्डासँगै माथि जान बंकरको भर्‍याङ चढ्न थाले । त्यसबखत माग्डाले ३ दिनअघि मात्र हिटलरले दिएको सुनौलो ब्याच लगाइराखेकी थिइन् । उनीहरू भर्‍याङ चढ्न थालेकाले टेलिफोन अपरेटर रोहत मिश पनि पछि लागे । गोएबल्सले भने, ‘अब तिम्रो काम छैन, फर्क ।’

‘थर्ड राइख एट वार’ पुस्तकका लेखक रिचर्ड जोइस लेख्छन् – बंकरबाट निस्कनुअगाडि गोएबल्स दम्पतिले एकछिन पाइला रोके, लामो श्वास फेरे अनि एकएक वटा साइनाइडको क्याप्सुल निले । क्षणभरमै दुबैको प्राण गयो । उपस्थित सैनिकले मरे÷नमरेको जाँचेर हेरेनन् बरु शरीरमा दुई/दुइटा गोली दागिदिए । अनि तुरन्तै लासमा आगो लगाइदिए । हिटलर र इभाको लाश जलाइसकेकोले थोरै मात्र पेट्रोल बाँकी थियो, जसले गर्दा गोएबल्स र माग्डाको शरीर पूरा जल्न पाएन । भोलिपल्ट मे २ को बिहान ९ बजे रुसी सैनिक बंकरभित्र पसे । उनीहरूले आधा जलेको लाश गोएबल्स र पत्नी माग्डा को भनेर सजिलै चिने । रुसी सेनाले बंकरभित्र जनरलद्वय विल्हेम बर्गडोर्फ र हान्स क्रेब्स कुर्सीमा बसिराखेको अवस्थामा भेट्टाए । टेबुलमा थोरै बाँकी रक्सीका बोतल थिए । रुसी सेनाले जाँच्दा उनीहरू जीवित थिएनन् ।

उनीहरूले आत्महत्या गर्नुअगाडि बंकरभित्रका महत्वपूर्ण कागजपत्र जलाएका थिए । बाँकी सैनिकले कतैबाट पेट्रोलको व्यवस्था गरे र हिटलरको अध्ययनकक्षमा आगो लगाइदिए तर कोठाको भेन्टिलेसन सिष्टम बन्द गरिएकाले पूरा कोठा जल्न पाएन, फर्निचर मात्र जल्यो । बंकरभित्रका अरु कोही साइनाइड क्याप्सुल खाएर मरे त कोही चोरबाटोबाट भाग्न सफल भए । जनरल हेल्मुथ वाइल्डिङ, मेकानिक्स जोहानेस हेन्त्सचेललगायत केही सैनिकले भने रुसी सेनासमक्ष आत्मसमर्पण गरे । भाग्न सफल भए तर पछि समातिएका प्रमुख नाजी नेतामध्ये थिए – एडोल्फ आइखमान, जो सन् १९६० मा अर्जेन्टिनामा समातिए र सन् १९६२ मा मृत्युदण्ड पाए । रुसी सेनाले गोएबल्सका छोराछोरीको लाश भोलिपल्ट मे ३ मा फेला पारे । तिनको शव उनीहरू सुत्ने ओछ्यानमै थियो । निधनको समय गोएबल्स ४७ र माग्डा ४३ का थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू