कलाकारिता र लेखकीय जीवनका कलह

कलाकारिता र लेखकीय जीवनका कलह

तेरे विना जिन्दगी से कोई, शिकवा तो नहीं
तेरे विना जिन्दगी भी लेकिन, जिन्दगी तो नहीं

जिन्दगी नहीं, जिन्दगी नहीं । 
काश ऐसा हो, तेरे कन्दमों से चुन के मंजिल चले
और कहीं, दूर कहीं
तुम गर साथ हो, मञ्जिलों की कमी तो नहीं । 
जी में आता है, तेरे दामन में सर छुपा के हम
रोते रहें, रोते रहें
तेरी भी आँखों में आँसुओं की नमी तो नहीं । 
तुम जो कह दो तो आज की रात चाँद डुबेगा नहीं
रात को रोक लो
रात की बात है, और जिन्दगी बाकी तो नहीं ?
तेरे विना जिन्दगी से कोई शिकवा तो नहीं
शिकवा नहीं, शिकवा नहीं । 

यो अत्यन्त लोकप्रिय गीत चलचित्र ‘आँधी’ को हो । चलचित्रका निर्माता, निर्देशक गुलजार हुन् भने सबै गीत पनि उनैका हुन् । गुलजार समकालीन भारतीय साहित्य अग्रस्थानमा छन्, कवि, शायर, पटकथा लेखकसमेत हुन् । उनले मेरे अपने, परिचय, कोसिस, आँधी, मौसम, मीरा, किनारा, किताब, खुश्बु, लिवास, माचिस, हु तु तु जस्ता सम्झनलायक फिल्म निर्देशन गरेका छन् भने आँधी र मीराको पटकथा लेखेका छन् । २२ पटक फिल्म फेयर अवार्ड जिते र ५ पटक राष्ट्रिय पुरस्कार पाएका छन् । भारतको सर्वश्रेष्ठ पुरस्कार पद्मभूषण, दादा साहब फाल्के, साहित्य एकेडेमी, ज्ञानपीठ जितिसकेका उनीद्वारा लिखित गीत सिनेमामा अनगिन्ती छन् । चलचित्र ‘स्लमडग मिलेनियर’ को गीत ‘जय हो’ ले त ओस्कर र ग्रैमी अवार्ड दुबै जितेको थियो । फिल्म मासुमको अति लोकप्रिय गीत ‘तुझसे नाराज नहीं जिन्दगी हैरान हुँ’, ‘दो नैना और एक कहानी’, ‘लकडी की काठी, काठी पे घोडा’ पनि उनैद्वारा लिखित हुन् । गुलजार जातले पञ्जाबी हुन् भने धर्मले शिख । तर, उनले उर्दूमा लेखेका साहित्य बढी उत्कृष्ट मानिन्छ । सम्पूर्ण सिंह कालरा उर्फ गुलजार काब्यमा देखापरेको नविन शैली ‘त्रिवेणी छन्द’ (तीन पंक्तिको कविता) का सर्जक पनि हुन् ।

मखमली भावना र कपास जस्ता नरम शब्दहरू बुनेर गुलजारले पति पत्नी सम्बन्धबारे कथा, पटकथा, कविता, शायरी धेरै लेखे तर आफ्नै पत्नीसित भने सम्बन्ध कहिल्यै सुमधुर रहेन । चलचित्र अभिनेत्री राखीसँग बिहे गरे, एउटी छोरी मेघनाको पिता बने तर दाम्पत्य जीवन २ वर्षभन्दा टिकेन । उनीहरू ५० वर्षदेखि एउटै घरको छतमुनि बसेका छैनन् र कानुनी तवरबाट सम्बन्धविच्छेद पनि गरेका छैनन् । कभी कभी, शर्मिली, लाल पत्थर, दाग, तपस्या, मुकद्दरका सिकन्दर, काला पत्थर, शान, लावारिस, रुदाली, करन अर्जुनलगायत सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी राखी मजुमदार बंगालकी थिइन् । २० वर्षको उमेरमा बंगाली चलचित्र ‘बधु बोरोन’ र २३ वर्षको उमेरमा हिन्दी चलचित्र ‘जीवन मृत्यु’बाट अभिनय यात्रा थालेकी हुन् । जन्म भारत स्वतन्त्र भएको केही क्षणपछि सन् १९४७ को अगस्त १५ कै दिन भएको हो । बिहे १५ वर्षको कलिलो उमेरमै बंगाली पत्रकार तथा फिल्म निर्देशक अजय विश्वाससित गरिन् । राखीसित अलग्गिएपछि अजयले बीना बनर्जीसँग घरजम गरे । विना हिन्दी चलचित्र अभिनेता प्रदीपकुमारकी अभिनेत्री छोरी हुन् । अजयको सन् १९९५ मा निधन भइसकेको छ । 

सन् १९७३ आइनपुग्दै राखी बलिउड चलचित्रको शीर्षस्थानमा पुगिसकेकी थिइन् । पहिलो हिन्दी सिनेमा जीवन मृत्युको सफलतापश्चात् एकपछि अर्को फिल्म पाउँदै गइन् । शर्मिली, रेश्मा और शेरा, लालपत्थर, बेइमान, शहजादा, ब्लैकमेल, दागजस्ता १७ वटा फिल्ममा काम गरिसकेकी थिइन् । लजालु स्वभाव र अभिनयले हिन्दी सिनेजगतमा तहल्का मचाएर लाखौं ‘फ्यान’ कमाइसकेकी उनका ती फ्यानमध्ये गुलजार पनि हुन् । गुलजार पञ्जाबबाट मुम्बई पुगेर शुरुमा मोटर ग्यारेजमा काम गरे । पछि गीतकारको काम पाए चलचित्र ‘बन्दिनी’ मा । त्यसबखत उमेर २९ थियो । पछि निर्देशकहरू बिमल राय र ऋृषिकेश मुखर्जीको सहायक बने । मुखर्जीले आफ्नो चलचित्र ‘आशीर्वाद’ को सम्वाद र गीत लेख्न लगाए । गुलजारले खामोशी, गुड्डी, आनन्द, र मेरे अपनेको लागि पनि गीत लेखे । 

मेरे अपनेको निर्देशक उनै अभिनेत्री मीनाकुमारीको अन्तिम फिल्म थियो । मीनासित उनको भेट बिमल रायको सहायक हुँदै भएको थियो । पछि मीना अभिनीत चलचित्र ‘पूर्णिमा’ र ‘पिंजरे के पंछी’ को लागि पनि गीत लेखे । मीना अभिनेत्री मात्र नभएर कवियत्री र शायर पनि थिइन् । जसले गर्दा उनीहरू नजिकिए । मेरे अपनेको निर्माण क्रममा दुबै अझ बढी नजिकिए । लोग्नेसितको सम्बन्ध टुटेपछि मीना दिनरात मदिरा सेवन गर्न थालेकी थिइन् । गुलजारलाई सबैभन्दा नजिकको मित्र सम्झिन्थिन् । दुई जनाको यो सम्बन्धलाई लिएर सिनेजगतमा हल्ला चल्न शुरु भयो । धर्ममा खासै बिश्वास नगर्ने गुलजार मुस्लिमको पर्व रमजानमा मीनाको नाउँमा ब्रत बसिदिए । यसबीच मीनाको निधन सन् १९७२ को मार्चमा ३८ वर्षको उमेरमा भयो । त्यसबेला गुलजार मीनाभन्दा १ वर्षले मात्र कान्छो थिए । 

यसैबीच कलाकारहरूको ठूलो जमघट भएको एउटा रात्रिभोजमा गुलजार र राखीको भेट भयो । भोलिपल्टदेखि भेट बाक्लिन थाल्यो । राखी पनि गुलजारको कविता र शायरीबाट निकै प्रभावित थिइन् । राखीले बिहेको २ वर्षपछि नै लोग्ने अजयलाई त्यागिसकेकी थिइन् । उनी पनि स्वतन्त्र भई गुलजारसित प्रेम गर्न थालिन् । उमेरमा १३ वर्षको फरक भए पनि सन् १९७३ को मे १५ मा बिहे गरे । राखीले ७ महिनापछि डिसेम्बरमा छोरी जन्माइन् । 

सन् १९७४ को सेप्टेम्बरमा आँधी फिल्मको गीत ‘तेरे विना जिन्दगी से कोई, शिकवा तो नहीं’ को सुटिङ गर्न निर्माण टिम र कलाकार काश्मिर पुगे । राखी पनि गएकी थिइन् । अन्तिम दिन बेलुकी सबैले खानपिन र होटलमा रमाइलो गरे । नायक सञ्जीवकुमारले अत्यधिक मदिरा पिएर नायिका सुचित्रा सेनमाथि दुव्र्यवहार गर्न थाले । गुलजार गएर दुबैलाई छुटाए । अनि सुचित्रालाई उनको कोठासम्म छोड्न गए । उनी सञ्जीवदेखि निकै रिसाएकी थिइन्, त्यसैले रिस शान्त नहुन्जेलसम्म गुलजार त्यहीं बसे । कोठाबाट बाहिरिंदै गर्दा राखीसित जम्काभेट भयो । राखीले शंकाको भाषा बोल्न थालिन् । गुलजारले राखीसँग बहस गर्न चाहेनन् तर राखीले बाटो छेकेर सवालमाथि सवाल तेस्र्याउन थालिन् । उक्त झगडा हेर्न कलाकार र होटलका कर्मचारी जुट्न थालेपछि क्रोध नियन्त्रणभन्दा बाहिर गयो । गुल्जारले राखीलाई तान्दै कोठाभित्र लगे र पिटे । 

त्यसबखत अर्का निर्देशक एस. चोपडा पनि काश्मिरमै थिए । फिल्म खेल्न नपाएर घायल र लोग्नेको पिटाइबाट विक्षिप्त बनेकी राखी भोलिपल्ट बिहानै चोपडालाई भेट्न होटल पुगिन् र फिल्म ‘कभीकभी’ मा काम गर्न राजी भएको जानकारी गराइन् । चोपडाले यसअघि २–३ पटक नै राखीसमक्ष प्रस्ताव राखिसकेका थिए तर गुल्जारको कारण ‘काम’ बनेको थिएन । पछिल्लोपटक पनि उनी यसबारे गुल्जारसित पुनः अनुरोध गर्ने पक्षमा थिए तर राखीले ‘अब गुल्जारसित स्वीकृति लिन आवश्यक नभएको’ बताएर चोपडालाई रोकिन् । गुल्जारले बिहेअगावै बिहेपछि चलचित्रमा काम गर्न नदिने शर्त राखेका थिए । राखी त्योबेला प्रेममा यतिधेरै डुबेकी थिइन् कि त्यो शर्त सजिलै मानिन् ।

राखीको बिचार थियो, अरुको चलचित्रमा खेल्न नदिए पनि आफ्नै फिल्ममा लोग्नेले खेलाउँछन् । तर गुल्जारले एउटामा पनि खेलाएनन् । लोग्नेको यो व्यवहारबाट पनि राखी असन्तुष्ट थिइन् । कटुता शुरु भइसकेपछि लोग्नेसित एकशब्द नसोधी फिल्ममा खेल्ने राखीको एकतर्फी निर्णयले आगोमा घिउ थप्ने काम गर्‍यो । उता गुल्जार पनि निहुँ खोज्न थाले । आफ्नो आगामी फिल्म ‘मौसम’ मा राखीले आफ्नो प्रतिस्पर्धी मान्ने गरेकी नायिका शर्मिला टैगोरलाई मौका दिए । राखी र शर्मिलाले सँगै ‘दाग’ मा खेलेका थिए र त्यहींदेखि उनीहरूको शत्रुता शुरु भएको थियो । 

पतिको कार्य पत्नीले मन नपराउने पत्नीको निर्णय पतिलाई मन नपर्ने । यस्तै कुरोमा दिनहुँ कलह हुन थाल्यो । दुबैले झगडा गरिराख्नु भन्दा अलग्ग बस्ने निधो गरे । छोरी मेघनाको कारण कानुनी तवरमा सम्बन्धविच्छेद गर्न भने चाहेनन् । सिनेजगतका थुप्रैै कलाकारले सुलह गराउने अनेक प्रयत्न नगरेका हैनन् तर सबै कोसिस असफल भए । फलतः छोरी जन्मेको अर्को वर्षमै अलग्गिए । आज दुबैजना एउटै छानामुनि बस्दैनन् । यद्यपि, बेलाबखत छोरीमार्फत भेटघाट भने भइरहन्छ । गुल्जार आज पनि राखीलाई सम्झँदै कविता लेख्छन् । छोरीको जन्मदिन सँगै मनाउँछन् । उता, कभीकभीपछि राखीको स्टारडम ह्वात्तै बढ्यो । उनले लगातार फिल्म खेल्न थालिन् ।

यतिखेर गुल्जार ९० को भइसकेका छन् भने राखी ७७ की । पछिल्लो समय राखीले पनि ३ पटक फिल्मफेयर, २ पटक राष्ट्रिय फिल्म अवार्ड र पद्मश्री जितिन् । फिल्म खेल्न छाडिसकेकी छन् । पुस्तक पढ्ने र करेसाबारीमा काम गरेर दिन बिताइरहेकी छन् । गुल्जार भने अहिले पनि साहित्यमा सक्रिय छन् । साहित्यिक कार्यक्रममा भाग लिइराख्छन् । हालै मात्र साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकालाई दिइने ज्ञानपीठ पुरस्कार ग्रहण गरेका छन् । उनी सफल गजल गायक जगजित सिंहको दुइटा गीती एल्बम ‘मरासिम’ र ‘कोइ बात चले’ का गीतकार हुन् ।

टिप्पणीहरू