छोरीलाई त्यसपछि महारानी बन्न छूट

छोरीलाई त्यसपछि  महारानी बन्न छूट

एनी बोलेनको जन्म इङल्याण्डको नोर्फोल्कमा भयो । पिता थोमस बोलेन दक्षिणपश्चिम इङ्ल्याण्डको काउन्टी विल्टसायरका अर्ल थिए । अर्ल धनीमानी व्यक्तिलाई प्रदान गरिने पद हो । एनीले शिक्षादीक्षा नेदरल्याण्ड र फ्रान्सको स्कूल/कलेजबाट लिइन् र बिहे हुने भएपछि स्वदेश फर्किन् । बिहे आफ्नै काकाका छोरा जेम्स बट्लरसित हुन गइरहेको थियो । तर, अन्तिम समयमा कुरो बिग्रियो । थोमसले छोरीलाई तत्कालीन महारानी क्याथरिन एरागोनको सेवामा लगाइदिए । 

क्याथरिनको बिहे राजा हेनरीसित भएको थियो । त्यसबखत हेनरीको उमेर १४ थियो भने क्याथरिनको २० । क्याथरिन हेनरीका दाजु आर्थरकी पत्नी थिइन् । उनी आर्थरभन्दा पनि १ वर्षले जेठी । दाजु बितेको ७ वर्षपछि उनको पुनर्विवाह आफ्नै देवर हेनरीसँग भयो । हेनरी त्यसबखत राजा बनेको २ महिना मात्र भएको थियो । हेनरी क्याथरिनलाई औधी माया गर्थे तर क्याथरिनले सन्तान सुख दिन सकिनन् । लगातार गर्भधारण गरिन् तर कोही पेटमै मरे त कोही जन्मेको केही समयपश्चात् खेर गए ! बल्ल ७ वर्षपछि छोरी एउटी जन्माइन् । हेनरी छोरो चाहन्थे, गद्दीको उत्तराधिकारी बनाउन । हेनरीले २ वर्षकी छोरी मेरीको बिहे फ्रान्सको युवराजसित गराइदिने तय गरे ! तर, बीचैमा दुई मुलुकबीच युद्ध भयो र बिहेको सम्भावना सकियो । हेनरीले पछि छोरीको बिहे रोमका सम्राट् तथा आफ्नी पत्नी क्याथरिनका भतिज चाल्र्स (पञ्चम) सित गर्न कुरोकानी चलाए । चाल्र्सले माने पनि, तर मेरी ९ वर्षको हुँदा बिहे नगर्ने निर्णय सुनाइदिए । चाल्र्सले गरेको यो अपमानको बदला लिन हेनरीले पत्नी क्याथरिनलाई प्रताडना दिन शुरु गरे ! छोरी मेरीलाई गद्दीको उत्तराधिकारबाट बञ्चित तुल्याइदिए र प्रेमिका एलिजाबेथ ब्लन्टतर्फका सन्तान हेनरी फित्गेराल्डलाई उत्तराधिकारी बनाउन कसरत थाले । 

राजा हेनरी ऐय्यासी स्वभावका थिए । क्याथरिनले सन्तान सुख दिन नसकेका कारण धेरै महिलासित शारीरिक सम्बन्ध राख्दै गए । तीमध्येकी थिइन् एलिजाबेथ ब्लन्ट । ब्लन्ट अत्यन्त सुन्दर थिइन्, नृत्य र गायनमा पनि उत्तिकै पोख्त । पछि क्याथरिनको सेविका बन्न पुगिन् । तर, छोरो जन्माइदिएपछि किन हो किन हेनरीले उनलाई दूधबाट झिंगा फालेझैं फाले । अब उनको वासनायुक्त आँखा पत्नीकी अर्की सेविका एनी बोलेनमाथि पर्‍यो । एनी रानी क्याथरिनकी सेविकाको रूपमा सन् १५२२ मा दरबार प्रवेश गरेकी थिइन् । हेनरीको आँखा शुरुदेखि नै गढेको थियो । तर त्यतिबेला उनी अरु युवतीसँग बढी रमाउने गरेका कारण विशेष नजर भने परेन । ‘अरु युवती’ मा एक जना थिइन् एनीकी दिदी मेरी । मेरी एनीभन्दा २ वर्षले जेठी थिइन् र एनीजस्तै रानी क्याथरिनकै सेविका थिइन् । मेरी र एनी दुबैले पहिला फ्रान्समा पढेका थिए । त्यता रहँदै फ्रान्सका तात्कालीन राजा फ्रान्सिस (प्रथम) सित अफेयर चलेको थियो, ४ वर्षसम्म । पछि बाबु थोमसले स्वदेश फर्काए र विलियम केरीसँग बिहे गराइदिए । केरी राजा हेनरीका बिश्वासपात्र दरवारिया थिए । उनैले आफ्नी पत्नीलाई रानी क्याथरिनको सेवामा लगाइदिए । मेरी एनीभन्दा राम्री थिइन् त्यसैले पनि हेनरीको प्राथमिकतामा परिन् । मेरी र हेनरीको मायाप्रीति करिब ६ वर्ष चल्यो र यस अवधिमा मेरीले २ सन्तानको पिता बनाइदिए । मेरीले जन्माएका सन्तान आफ्नो नभई राजा हेनरीका भएको विलियमलाई राम्रोसित थाहा थियो । 

मेरीप्रति मन भरिएपछि हेनरी एनीतर्फ लागे, सन् १५२५ मा । त्यससमय् मेरी २४ की थिइन् भने हेनरी ३४ । तर, शुरुमा एनीले हेनरीको प्रेमलाई स्वीकारिनन् । तीक्ष्ण बुद्धि र अलि महत्वाकांक्षी स्वभावकी उनले आफ्नी दिदीजस्तै राजाको शयनकक्षको साथी मात्रै बन्न चाहिनन् र हेनरीदेखि टाढाटाढा भागिरहिन् । उनी बिहेअघि शारीरिक सम्बन्ध बनाउनुहुन्न भन्ने पक्षकी थिइन् । पवित्रतामा विश्वास गर्थिन् । हेनरीले मौका मिल्नेबित्तिकै जिस्क्याउन थालेपछि दिक्क मानेर साथीको घरमा बस्न गइन् । त्यहाँ बसेर पनि सुख पाइनन् । हेनरीले प्रेमपत्र पठाएको पठायै गरे ! दिनहुँ एउटा न एउटा उपहार पठाए । तर, आफ्नो स्वाभिमानमा अडिग उनले न कुनै पत्रको जवाफ दिइनन् न त उपहार नै स्वीकारिनन् । हेनरीले १७ वटा पत्र पठाइसकेका थिए । तैपनि, टसमस नभएपछि हेनरीले औपचारिक रूपमै बिहे गर्ने र वैधानिक रानी बनाउने प्रस्ताव पठाए । साथै उनले रानी क्याथरिनलाई त्याग्नसमेत तयार भएको खबर दिए । 

बेलायतका राजनीतिज्ञ तथा कवि थोमस वाटको ब्याख्याअनुसार हेनरीले एनीलाई शिकारीले हरिणलाई जस्तै फसाएका थिए । हेनरीले आफ्नो बनाउन ७ वर्षसम्म ठूलो मिहिनेत गरे । यसबीच एनीलाई स्वप्न सुन्दरी मात्र बताएनन् सबै चाहना पूरा गरिदिने र उनीबाट जन्मिने छोरोलाई गद्दीको उत्तराधिकारी बनाउनेसम्मको आश्वासन दिए । एनीलाई पाउन चर्चसँग झगडासम्म मोले । अन्त्यमा चर्चलाई आफ्नो र रानी क्याथरिनको बिहे अवैध र एनीसित अघिल्लो वर्ष गरेको गोप्य बिहे वैध भएको घोषणा गर्न बाध्य तुल्याए ! यसरी सन् १५३३ मा क्याथरिन रानीबाट बर्खास्त भइन् । उनको निधन ३ वर्षपछि ५० वर्षको उमेरमा सन् १५३६ मा भयो । 

चर्चको घोषणापछि हेनरीले औपचारिक तवरमा पुनः बिहे समारोह आयोजना गरेर एनीलाई रानी घोषित गरिदिए । त्यति मात्र होइन, आफूपछि इङ्ल्याण्डलाई उनैबाट शासन हुने समेत घोषणा गरिदिए । त्यसबेलासम्म एनी गर्भवती बनिसकेकी थिइन् । लगत्तै छोरीको आमा बनिन् । उनैकी छोरी एलिजाबेथ (प्रथम) पछि महारानी बनेर इङ्ल्याण्ड र आयरल्याण्डमा शासन गरिन् । तर, एनीसितको वैवाहिक जीवन हेनरीले सोचेजस्तो भएन । शुरुका दिन दुबैले आनन्द उठाए पनि हेनरीले बिस्तारै महसुस गरे कि एनीको रवैया आफूप्रति कठोर छ, छुच्ची छिन्, घमण्डी र प्याच्चप्याच्च बोल्छिन् । बहस छेडिनेबित्तिकै रणचण्डी बन्थिन् । यसबाट हेनरीले अपमानित महसुस गर्थे । यसरी हरेक दिनजसो नै उनीहरू झगडा गर्न थाले । यसबीच छोरोको कुरोमा पनि विवाद हुन थाल्यो । 

जनता पनि खिसिट्युरीमा लागिसकेका थिए । यसैबीच, सन् १५३४ मा एनीले गर्भवती भएको र बच्चा गिरेको झुटो खबर सुनाइन् । यसबाट हेनरी क्रोधित हुँदै एनीबाट छोरो जन्मिन नसक्ने निश्कर्षमा पुगे । यसपछि हेनरीको मन अन्तै मोडिन थाल्यो । उनको लागि प्रेमिकाको कमि त थिएन नै ! अतः एनीकै नातेदार दिदीबहिनी मेरी र माग्डा सेल्टनसित लहसिन पुगे । माग्दा त चाँडै नै राजाकी रखैलको रूपमा चम्किइन् । लोग्ने र माग्डाबीच सम्बन्ध गाढा हुँदै गएको खबरले एनी झन् ईष्र्यालु बनिन् । अब पतिपत्नीबीचको मनमुटाव चरम उत्कर्षमा पुग्यो । यसबीच एनीले फेरी एउटी छोरी जन्माइन् । हेनरी झनै असन्तुष्ट बन्न पुगे । यसबाहेक एनीको ३ पटक गर्भ तुहिसकेको थियो । यसबिच हेनरी अर्की युवती जेन सैमुरको पछि लागे । जेन आफ्नो कौमार्यप्रति बढी सतर्क थिइन् । भाइको उपस्थितिमा मात्र हेनरीसित भेट्थिन् । जेनको उक्त स्वभावबाट हेनरी झन् प्रभावित बने । एकदिन दरवारमा पुगेको बेला हेनरीले एउटा लकेट दिए । त्यसैबेला एनी त्यहाँ पुगिन् र झगडा गर्न थालिन् । उनले जेनको गर्धनबाट लकेट जबर्जस्ती तानेर चुँडालिदिइन् । एनी यतिधेरै उत्तेजित थिइन् र घुँडा टेकेर रोएकाले उनको पेटमा भएको बच्चा म¥यो । उक्त बच्चा छोरो थियो । यो घटनापश्चात् हेनरीले एनीलाई हेर्नसमेत छाडे । 

हेनरीले जेनलाई घरबाट दरबार ल्याए । अनि सरकारको प्रमुख अधिकृत क्रमवेललाई एनीमाथि कारवाही चलाउन आदेश दिए । क्रमवेल पहिलादेखि नै एनीमाथि जासुसी गर्दै थिए । उनैले दिएको रिपोर्टको आधारमा हेनरीले एनीमाथि राजद्रोह, परपुरुषगमन, भात्रीगमनको आरोप लगाएर टावरमा बन्दी बनाए । रिपोर्टमा बितेको ३ वर्षमा एनीले अनेक पुरुषसित शारीरिक सम्बन्ध राखेको मितिसहित उल्लेख थियो । शारीरिक सम्बन्ध राख्नेमध्येका एक जना उनैका भाइ जर्ज रास्फोर्ड पनि थिए । एनीले अलिकति पनि बिचलित नभई आरोपको प्रतिवाद गरिन् तर राजाको निर्णय सर्वोपरि हुन्थ्यो त्यो बेला । एनीसँग अवैध सम्बन्ध राखेका भनिएका ४ जनालाई तत्कालै मृत्युदण्ड दिइयो भने न्यायालयले एनीलाई मृत्युदण्डको सजायँ सुनायो । मृत्युदण्ड कसरी दिने भनेर एनीसँगै सोधियो – टाउको छिनाउने वा जिउँदै जलाएर मार्ने ? उनका भाइ जर्जलाई पनि टाउको काटेर मारियो । सन् १५३६ मे १९ को बिहानै एनीलाई मृत्युदण्ड दिने स्थलमा लगियो । उनी सरासर हिँडिन् । चुपचाप ढुंगामाथि आफ्नो शिर टेकाइन् । उनको शिर छेड्न गरियो । त्यतिबेला उनी ३५ वर्षकी थिइन् । एनीको मृत्युको २ दिनपछि नै हेनरी र जेनको बिहे भयो । जेन महारानी घोषित भइन् । हेनरीले जेनपछि एनी क्लिभ्स, क्याथरिन होवार्ड र क्याथरिन पारसित बिहे गरे ! उनले ३८ वर्ष शासन चलाए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू