डनको अभिनेत्रीहरुसँगै बित्ने दिन

डनको अभिनेत्रीहरुसँगै बित्ने दिन

दाउद इब्राहिम भारतका खुंखार अपराधी । ग्या¨स्टरका बोस, आतंकवादी, लागुपदार्थ र हतियार ब्यापारी, अण्डरवल्र्ड अपराध जगतका डन । दाउदको त्रास भारत, पाकिस्तान, दुबईमा व्याप्त छ । बेलाबखत त्रास नेपालमा पनि छिर्छ । सन् १९९८ को जुनमा काठमाडौंको सिफलमा गरिएको राप्रपाका सांसद मिर्जा दिलसाद बेगको हत्या होस् वा सन् २०१० को फेब्रुअरीमा लाजिम्पाटस्थित फ्रान्सिसी दूतावास नजिकै केबुल टेलिभिजन नेटवर्क ‘स्पेसटाइम’ का अध्यक्ष जमिम साहको हत्या, दुवैसँग दाउदको नाम जोडिएको छ । काठमाडौंस्थित सेन्ट्रल जेलमा कैद भुक्तान गर्दै गरेका युनुस अन्सारीमाथि गरिएको हत्या प्रयासमा पनि ‘र’ र दाउद संलग्न रहेको आशंका गरिएको थियो । मिर्जा, जमिम, युनुस र यहाँसम्म कि एमालेका पूर्वसांसद सलिम अन्सारीमाथिसमेत दाउदको निम्ति काम गरेको आरोप छ । यसबाहेक सन् २००६ मा नयाँ बानेश्वरमा कमलसिंह नेपाली, सन् २००९ मा नेपालगञ्जमा अब्दुल मजिद मनिहार, रुपन्देहीमा  सौकत अलि बेग, सन् २०११ मा नेपाल इस्लामिक संघका महासचिव फैजान अहमदको घण्टाघरनिर गरिएको हत्या, सन् २०१३ मा बारा जिल्लाका एमाले नेता महमुद आलमको हत्या, यी सबैमा कतै न कतै दाउदको नाउँ जोडिन पुगेको थियो ।

दाउदलाई भारत सरकारले नम्बर एक अपराधी ठान्दछ । संसारको सबैभन्दा खतरनाक र प्रहरीको खोजीमा रहेका अपराधी भनी चर्चामा ल्याइने गरेको छ । २ सय् ५७ जना मारिएको र ७ सयभन्दा बढी घाइते भएको मुम्बई बम काण्ड (सन् १९९३ को मार्च १२) पछि भारतकै आग्रहमा अमेरिकी सरकारले पनि उनलाई आतंककारीको सूचीमा राखेको छ । उसले दाउदलाई अफगानिस्तानको तालिबान, ओसामा बिन लादेन, पाकिस्तानको संगठन लस्कर ए– तोइबासित संलग्न देखाएको थियो र टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकिएको थियो । उक्त काण्डपछि दाउद कराँचीमा बस्ने गरेको आशंकाको भरमा पाकिस्तानलाई खुइल्याउने मनसुवा भारतको छ । भारतीय सञ्चार माध्यमले त धेरै पटक उनको मृत्यु भइसकेको समाचार सम्प्रेषण गर्ने गर्छन् ।

दाउदको एक समय बलिउडमा राम्रो पकड थियो । कहिले कराँची, कहिले दुबई त कहिले भारतको फिल्मी महानगरमा अखडा जमाएर बसेका उनी जब मुम्बर्ई पुग्थे, त्यहाँ रहुञ्जेल बलिउडका कलाकार भेट्नलाई लाइन लाग्थे । नायिकाहरू उनले आयोजना गर्ने रात्रिभोजमा गएर नाच्थे । मुम्बर्ई बमकाण्ड हुनुअगाडिसम्म कलाकारहरू उनकोमा जाने कार्यलाई अर्थ आर्जनसित जोडेर हेरिन्थ्यो तर उक्त हिंसात्मक घटनापछि भने सबै जना सम्पर्कबाट भाग्न थाले । यस्तै सम्बन्धको कारण ऋषिकपुर, सलमान खान, अनिलकपुरले निकै बदनामी खेपे भने सञ्जयदत्तले त जेलजीवन नै भोगे । दाउदकी एउटी बहिनी पनि आपराधिक गतिविधिमा संलग्न थिइन् । हसिना पार्करको जीवनीमा आधारित चलचित्र सन् २०१७ मा प्रदर्शनमै आइसकेको छ । हसिना पनि मुम्बर्ई अपराध जगतकी ‘रानी’ कै नाउँले चर्चित थिइन् । उनको सन् २०१४ मा मृत्यु भइसकेको छ ।

संसारलाई डर र त्रासमा जिउन बाध्य पार्ने दाउद अत्यन्त विलासी छन् । एक समय बलिउड सिनेजगतमा ठूलै त्रास फैलाएका थिए । उनलाई मन पर्ने नायिकालाई मुम्बर्ई र दुबई ‘दरबार’मा पेश हुन आदेश दिइन्थ्यो । फिल्ममा काम नपाइने डरले कलाकारहरू उनको आदेश मान्थे किनभने निर्माताहरूलाई धम्क्याउनु उनका लागि बायाँ हातको खेल थियो । अतः मन पर्नेसित शारीरिक सम्बन्ध बनाउन गाह्रो भएन नै ! उनीसितको सम्बन्धकै कारण धेरै हिरोइनको जिन्दगी बर्बाद भएको छ । पैसाको आडमा धेरैसित सम्बन्ध बनाउने उनी प्रेमिल पनि छन् । उनले एउटी पञ्जावी युवती सुजाता कौरसँग भित्री मनले नै प्रेम गरेका थिए । मुम्बईमा त्यसबखत दाउद एउटा रेष्टुराँ र बार चलाउँथे । उक्त बारमा जुवा खेलाउने, मदिरापान गराउने र रण्डीबाजीसम्म चल्थ्यो ।

बारसँगै जोडिएको अर्को घरमा सुजाता बस्थिन् । हेराहेरमै दुबैले मन पराए । लुक्दै, भाग्दै प्रेम गर्न थाले तर एकदिन सुजाताको परिवारले यो कुरा थाहा पायो । दाउद त्यसबखतसम्म बदनाम भइसकेका थिए । सबै उनलाई गुण्डा र कुख्यात हाजी मस्तानको अपराधी समूहका सदस्य मान्थे । दाउद मुसलमान थिए । परिवार सुजाताको बिहे उनीसित गराइदिन चाहन्नथ्योे भने उनीसँग शत्रुता मोल्न पनि सक्दैनथे । त्यसैले खुसुक्क पञ्जाबी युवकसँग ‘सगाइ’ गराइदिए । खबर सुन्नेबित्तिकै दाउद रिसले आगो बने । छुरा बोकेर सीधै प्रेमिकाको घर पुगे । हंगामा मच्चियो । प्रेमीको हिंसात्मक रुप देखेपछि सुजाताले मन फेरिन् र परिवारको निर्णय मान्ने जानकारी दिइन् । सुजातालाई मनाउन पैसा र डर त्रास केही पनि काम लागेन । केही समयपश्चात् सुजाताको बिहे भयो र उनी दाउदको नजरबाट सदाका लागि टाढा भइन् । दाउदको यो पहिलो प्रेम थियो । पहिलो प्रेममै धोका पाएपछि निकै दिन तिल्मिलाएर बसे ।

सन् १९८५ मा राजकपूर निर्देशित ‘राम तेरी गंगा मैली’ चलचित्र बजारमा निस्कियो । नायक राजीवकपुर थिए भने नायिका मन्दाकिनी । नायिकाले पारदर्शी लुगासहित झरनामा नुहाउने र बच्चालाई खुला स्तनपान गराइएको दृश्य थियो । मन्दाकिनी नीलो आँखा भएकी सुन्दर नायिका हुन् । उनको सुन्दरताको तारिफ चारैतर्फ हुँदै थियो त्यसमाथि चलचित्रमा देखाइएको ‘हट’ दृश्यको कारण चर्चा शिखरमा पुग्यो । त्यसबखत दाउद सुजाताको बिछोडमा दुःखी थिए । दाउदले ठूलै रकम दिएर दुबई बोलाए । मन्दाकिनी कसैलाई थाहा नदिई सुटुक्क पुगिन् । शुरुमा त त्रासले गएकी थिइन् तर त्यहाँ पुगेपछि दाउदमा आफूप्रति समर्पित भाव देखिन् र उनैको प्रेममा डुब्न पुगिन् । त्यसपछि निकै दिन दाउदसितै रमाई बसिन् । जब एउटा अखबारमा दुबै जना रंगशालामा सँगै बसेर क्रिकेट म्याच हेर्दै रमाइरहेको फोटो छापियो तब बल्ल दुबैको सम्बन्धलाई लिएर मुम्बई तात्यो । त्यतिञ्जेलसम्म यो सम्बन्ध निकै अघि बढिसकेको थियो । कतिले त दुबईमै बिहे भइसकेको भनेरसम्म लेखे ।

अब मन्दाकिनीलाई अण्डरवल्र्डसित पनि जोडेर हेर्न थालियो । यसअघि नै उनीलाई चलचित्रमा लिन दाउदले धेरै निर्मातालाई धम्क्याइसकेका थिए तर डरले तिनले मुख खोल्न सकेका रहेनछन् । तर, जब दुबैको फोटो भाइरल बन्यो त्यसपछि भने चलचित्रमा लिनै छाडे । जसकारण उनले ३ दर्जनजति मात्र चलचित्रमा मात्र काम पाइन् । दाउदकै कारण चलचित्र पाउन थालेकी थिइन् र उनैका कारण क्यारियर बर्बाद हुन पुग्यो । उता, मन्दाकिनीसितको अफेयरले दाउद र उनकी पत्नी जुबिना जरिनबीच झगडा हुन थाल्यो । जुबिनाले घर छाडेर जाने धम्कीसमेत दिइन् । पछि मन्दाकिनीले बुद्ध धर्मका रिम्पोचे डा. कग्युरसित बिहे गरेर ‘डनकी गर्लफ्रेण्ड’ को बदनामीबाट पिछा छुडाइन् किनभने त्यो बेलासम्म दाउद इण्डिया छाडेर भागिसकेका थिए ।

अनिता अयुब पाकिस्तानी चर्चित मोडल र अभिनेत्री हुन् । उनले बलिउड चलचित्र ‘प्यारका तराना’ लगायत २–४ वटा फिल्ममा काम गरिन् । धेरैले पछि मात्र थाहा पाए कि उनी र दाउदबीच पनि प्रेम चलेको रहेछ र दाउदले नै उनलाई मुम्बई बोलाएका रहेछन् । अनितालाई उनी नम्बर १ हिरोइन बनाउन चाहन्थे । उनी निर्माताहरूलाई अनितालाई लिन दबाब दिन्थे । अनितालाई फिल्ममा लिन आनाकानी गरेका निर्माता जाबेद सिद्दीकीको त हत्या नै गर्न लगाए । यो घटनापश्चात् अनितासित सम्बन्धको खबर रातारात चर्चाको विषय बन्यो । तर, दाउदसितको सम्बन्धको खबरले अनितालाई घाटा भयो । उनले न भारतमा न पाकिस्तानमा काम पाइन् । गुमनाम भएपछि अमेरिका भासिइन् र एक जना भारतीय ब्यापारीसित बिहे गरी उतै बसिन् ।

दाउदलाई बुढ्यौलीले छुन थाल्यो तैपनि मन भने जवान नै थियो । ६५ वर्षको उमेरमा प्रेमिका बनिन् पाकिस्तानकी हिरोइन् मेहविस हयात । दाउदभन्दा २७ वर्ष कान्छी । आजभोलि पाकिस्तानी अखबारमा उनी ‘डनकी सानी पुतली’ को नाउँले छाइरहेकी छन् । थुप्रै अवार्ड हात पारेकी छन् यहाँसम्म कि राष्ट्रपतिद्वारा दिइने पाकिस्तानकै चौथो ठूलो अवार्ड पनि । यद्यपि, पत्रपत्रिकाले उनले पाउँदै गरेको यी अवार्ड पनि दाउदकै सिफारिसको भन्ने समाचार लेख्ने गरेका छन् । यसबाहेक दाउदलाई दोस्रो मधुबाला नाउँले चिनिने नायिका सोना हाजी, मोनिका बेदी, ममता कुलकर्णीसित पनि जोड्ने गरिन्छ ।

दाउदको जन्म भारत महाराष्ट्रको रत्नागिरीमा भएको हो । इमान्दार प्रहरी हवल्दार शेख इब्राहिम अलि कस्करका छोरा सेख दाउद इब्राहिम कस्कर । सानैमा चोरी, डकैती र तस्करीमा लागेपछि पिता हवल्दारले घरबाट निकालिदिए । पछि दाउद करिम लाला ग्याङ र हाजी मस्तानको ग्याङमा लाग्दालाग्दै हाजीसित शत्रुता मोलेर आफ्नै ग्याङ ‘डि–कम्पनी’   खडा गरी अपराधको दुनियाँमा छाएका हुन् । उनले पछिल्लोपटक एक पाकिस्तानी पठानकी छोरीसँग दोस्रो बिहे गरेका छन् । फोब्र्स् पत्रिकाका अनुसार ६९ वर्षीय दाउदसित ७ अर्ब डलरभन्दा बढीको सम्पत्ति छ ।
 

टिप्पणीहरू