मनसुनका ४७ दिन : १३९ को मृत्यु, ६ जना बेपत्ता

मनसुनका ४७ दिन : १३९ को मृत्यु, ६ जना बेपत्ता
सुन्नुहोस्

नेपालमा मनसुन भित्रिएको ४७ दिनमा विपद्जन्य घटनाबाट झन्डै डेढ सयको ज्यान गएको छ । गत जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपतका घटनामा १३९ जनाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको हो । 

प्रहरीका अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै, बागमती प्रदेशमा २९, लुम्बिनीमा २४ र कोशीमा २२ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा १०, कर्णालीमा आठ, मधेशमा छ र काठमाडौँ उपत्यकामा दुई जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै, यस अवधिमा १५६ जना घाइते भएको र ७१ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी कोशी र बागमतीमा दुई-दुई तथा गण्डकी र कर्णालीमा एक-एक गरी छ जना बेपत्ता भएका छन् । प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ । 

बाढीका कारण १८४ वटा घर डुबानमा परेका छन् भने २३८ वटा घर, ८६ गोठ, ४३ वटा पुलका साथै दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको छ । 

हालम्म विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएको प्रहरीको भनाइ छ । प्रहरीले बाढीपहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरुद्ध बाटो खुलाउनेजस्ता काम समेत गरिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू