विभेदको बान्की: उड्ने खस्दा झण्डा झुकाउने, गुड्नेको हकमा कुरा लुकाउने !

विभेदको बान्की: उड्ने खस्दा झण्डा झुकाउने, गुड्नेको हकमा कुरा लुकाउने !
सुन्नुहोस्

सरकार नागरिकको संरक्षक हो । संविधानको नजरमा सबै नागरिक बराबर छन् । हरेक नागरिकलाई संविधानले सराबरी अधिकार दिएको छ । विडम्बना, संविधानले सबै नागरिक समान भनेपनि सरकारले विभेदकारी व्यवहार देखाएको छ । 

जिँउदो हुँदा सरकारबाट समानताको महसुश गर्न नपाएका नागरिकले मरेपछि पनि विभेद खेप्नुपरेको छ । जुन वास्तवमै पीडादायी छ । जिन्दगीको अन्तिम सत्य नै मृत्यु हो । धर्तीमा जन्म लिएपछि मर्नुपर्छ नै । मृत्यु स्वाभाविक प्रक्रिया हो । कतिपयको मृत्यु अस्वाभाविक पनि हुन्छ । 

मृत्युपछि शोक मनाउनु मानव संस्कार हो । ठूलो दुर्घटनामा परेर धेरैले ज्यान गुमाउँदा राज्यले पनि शोक मनाउने गर्दछ । मृतकको नाममा सहानूभूति प्रकट गरिन्छ । तर, राज्यले उड्ने दुर्घटना भएर ज्यान गुमाएकालाई काखा र गुड्ने दुर्घटना भएर मरेकालाई पाखा गरेको छ । राज्यको सो कार्यको चर्को आलोचना पनि भइरहेको छ । 

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा पर्यो । चालक दलका सदस्यसहित १९ जना सवार विमान उड्नेबित्तिकै दुर्घटना भएको हो । ‘सी चेक’ का लागि पोखरा जान लागेको जहाज ग्राउण्ड छाडिसकेपछि रन–वेबाहिर बजारिँदा ह्वारह्वारती आगो बलेको थियो ।

जहाजमा सवार १८ जनाको घटनास्थलमै निधन भएको छ भने क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको जानकारी गराइएको छ । दुर्घटना हुनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका थिए । 

उनले त्यहाँ पुगेर उद्धार र विमान दुर्घटनाको अवस्थाबारे बुझे । गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत उच्च अधिकारीहरुको टोलीले पनि घटनास्थलको अवकोलन गर्यो । त्यसपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्यो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सौर्यमा ज्यान गुमाएका आफन्तको हालचाल बुझ्न हिजो बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनले मृतकका आफन्तलाई भेटेर विमान दुर्घटनाको विषयमा प्रभावकारी रुपमा छानबिन गरिने प्रतिबद्धता जनाएका छन् । 

गत असार २८ गते चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशुली नदीमा बगेको थियो । सिमलतालमा गएको पहिरोले वीरगञ्जबाट काठमाडौं गइरहेको र काठमाडौंबाट गौर आइरहेको बस नदीमा पुर्याएको हो । 

एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ यात्रु सवार थिए । बसमा सवार तीन जना हाम्फालेर जोगिए । पहिरोले बगाएकाहरुको शव अझैपनि फेला परिसकेको छैन् । जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार हालसम्म २५ जनाको शव फेला परेको छ । 

तीमध्ये १८ वटा सनाखत गरेर परिवारलाई बुझाइएको छ । सात वटा भरतपुर अस्पतालमा छ । भारतीय टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले शव खोजिरहेको छ । त्रिशुलीमा परेका यात्रुको आफन्तको आँखाबाट आँशु थामिनसकेको छैन् । 

उनीहरु अन्तिमपटक भएपनि आफ्ना आफन्त हेर्न खोजिरहेका छन् । दुःखलाग्दो कुरा त के भने त्यत्रो नागरिकले ज्यान गुमाएको घटनाले सरकारको मन छोएन् । तिनका आफन्तलाई सोधिदिनेसमेत कोही भएन् । प्लेनमा ज्यान गुमाएका मृतकका आफन्तले क्षतिपूर्ति नपाएसम्म शव नलिने अडान लिइरहँदा बसमा ज्यान गुमाएकाको आफन्त शवको पर्खाइमा छन् । 

कतिपयले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । मानवीय हिसाबले सिमलतालको घटना ठूलो छ र उत्तिकै पीडादायी पनि । सर्वसाधारणको मन चसक्क छोएको घटनाले सरकारलाई फरक परेन् । जसका कारण हाल सरकारको सर्वत्र विरोध भइरहेको छ । 

तातियो सामाजिक सञ्जाल 

सरकारले प्लेनबाट यात्रा गर्नेलाई मात्र नागरिक ठानेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कतिपयले नागरिकमाथि सरकारले तहको वर्गीकरण गर्न थालेको भन्दै प्रश्नसमेत उठाएका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘राष्ट्रिय झण्डा झुकाउने निर्णय रे ? जहाज चढ्ने १८ धनी थिए । बस चढ्ने ६५ गरिब थिए । मृत्युमा पनि विभेद ?? वाह राष्ट्रिय नैतिकता हराएको मेरो देश ।’

त्यस्तै, अर्कोले भनेका छन्,‘त्रिशुलीमा बस खस्दा खोज्न चुक्दो रहेछ मेरो देश । जहाज दुर्घटना हुँदा झण्डा आधा झुक्दो रहेछ कठै मेरो देश ।’ सामाजिक सञ्जालमा भेटिएको छ,‘सर्वहाराको नेता अरे । बसमा चढ्नेलाई एक मीनेट मौनधारण गर्न नसक्नेले प्लेनमा चढ्नेलाई आधा झण्डा झुकाएछ ।’ कतिपयले कविता बनाएर सरकारको व्यङ्ग्य गरेका छन् ।  

एक जनाले भावविह्लल शैलीमा लेखेका छन्,‘खसेको त हामी दुवै थियौं, तिमी जहाजबाट म बसबाट । मरेका त हामी दुवै थियौं, तिमी जलेर म डुबेर । तिमी १० मीनेटमा भेटियौं, मलाई सायदै भेटाउलान् । तिम्रो परिवार लास पाएर रोएको छ, मेरो नपाएर । फरक त यति हो कि तिमी मर्दा प्रधानमन्त्री, मन्त्री भेट्न पुगे, म पानीमा छट्पटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो । तिमी मर्दा देशको आधा झण्डा झुक्यो, म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टीका र गलामा माला सजियो ।’

नेतृत्व उही, व्यवहार फरक 

गत वर्ष माघ १ गते यति एअरलाइन्सको विमान दुर्घटनामा पर्यो । यतिको नाइनएन एएनसी जहाज सेती खोंचमा खस्दा ६८ जना यात्रुसहित चार जना चालक दलको निधन भएको थियो । सरकारले जहाज दुर्घटनामा शोक बिदा दियो । 

त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार थियो । त्रिशुलीमा बस दुर्घटना हुँदा पनि उनी नै प्रधानमन्त्री थिए । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनपछि अल्पमतमा परेका उनले असार २८ गते विश्वासको मत लिए । तर, विश्वासको मत पाएनन् । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कामचलाउ प्रधानमन्त्री तोकेका हुन् । 

प्लेन दुर्घटनामा पर्दा शोक बिदा दिएका उनले त्रिशुलीमा बस दुर्घटना परेर ज्यान गुमाउनेको नाममा बिदा दिन कन्ज्स्युाइँ गरेका हुन् । प्लेन चढ्नेको सम्मान गर्ने सरकारलाई बस चढ्नेको अपमान गर्ने अधिकार नभएको भन्दै धेरैले आवाज उठाइरहेका छन् ।

मापदण्डको खाँचो छः अधिवक्ता तिमिल्सिना

सम्पन्न वर्ग र विपन्न वर्गबीच राज्यले विभेद गरेको अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाको बुझाइ छ । प्लेनमा मर्नेले ज्यान गुमाउँदा राष्ट्रिय झण्डा झुकाउँदा गाडीमा मर्नेलाई बेवास्ता गर्नु संविधानविपरीत सँगसँगै नैतिक रुपमा पनि अशोभनीय भएको उनले बताए । 

राष्ट्रिय झण्डा झुकाउनु राष्ट्रियतासँग जोडिएको विषय भएकाले त्यसको मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ । उनले भने,‘बस दुर्घटनामा मर्ने र प्लेन दुर्घटनामा मर्नेबीच सरकारले विभेद गरेको आम सर्वसाधारणले पनि बुझेका छन् । एउटा मर्दा राष्ट्रिय झण्डा झुकाइरहँदा अर्को मर्दा सरकारलाई वास्ता नै छैन् । आखिर सबै मुलुकका नागरिक हुन् । सरकारले क्षतिपूर्ति कति दिने ? कस्तो अवस्थामा झण्डा झुकाउने ? बिदा दिने ? यसको नियम बनाउनुपर्ने हो । सरकारको अस्थिर निर्णयका कारण सरकारमाथि नै प्रश्न उठिरहेको छ ।’

सरासर विभेद होः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले सरकारको उक्त कार्यको विरोध जनाएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्ले सरकारले विभेद गरेको बताउँछन् । ‘सरकारले के आधारमा निर्णय गर्यो ? हामीलाई थाहा छैन् । नागरिक समान हुन्छन् । मर्नेमाथि गरिने व्यवहार पनि समान हुनुपर्छ । सरकारले यहाँ विभेद गरेको छ’,उनले भने ।
 

टिप्पणीहरू